बैंकिङ खबर । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको अध्यक्ष बन्नका लागि दौडधुप शुरु भएको छ । समितिका अध्यक्ष रहेका चिरञ्जीवि चापगााईंको कार्यकाल सकिन एक महिनामात्रै बाँकी रहदा अबको अध्यक्ष बन्नका लागि दौडधुप शुरु भएको हो ।
तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराको सिफारिसमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ४ वर्ष अघि अध्यक्ष नियुक्त गरेका चापागाईंको कार्यकाल आगामी २७ पुसमा सकिदैछ । कार्यकाल सकिने समय नजिकिदै गर्दा यसको अध्यक्ष बन्नका लागि दौडधुप शुरु भएको हो ।
अहिले नेकपा नेतृत्वको सरकार रहेका कारण आकांक्षीहरु धेरै भए पनि नेकपा निकटकै व्यक्तिहरु हावी हुने स्पष्ट छ । यसमा पनि अर्थमन्त्री रहेका नेकपा महासचिव विष्णुप्रसाद पौडेललाई रिजाउन सक्ने व्यक्ति समितिको आगामी अध्यक्ष बन्ने पक्का छ ।
अहिले समितिको आकांक्षी बन्न आधा दर्जन व्यक्तिहरुले शक्ति केन्द्रसम्म धाइरहेका छन् । समितको अध्यक्ष बन्नका लागि अहिले मूख्य आकांक्षी दुई जना देखिएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र समितिकै बहालवाला अध्यक्ष चापागाईं मूख्य आकांक्षी हुन् ।
राष्ट्र बैंकको पोखरा कार्यालयको निर्देशक रहेका बेला सरकारले चापागाईंलाई अध्यक्ष नियुक्ति गरेको थियो । उनको कार्यकालमा बीमा क्षेत्रमा राम्रै सुधारका प्रयासहरु पनि भएका छन् । बीमाको पहुँचकै मात्रै कुरा गर्दा पनि चापागाईंको कार्यकालमा राम्रो भएको छ ।
चापागाईं अध्यक्ष नियुक्त हुनु अघि बीमामा ७ प्रतिशत नागरिकको मात्रै पहुँच थियो । नेपालमा बीमा क्षेत्रको इतिहास ७ दशक लामो छ । ७ दशकल लामो यात्रामा जम्मा ७ प्रतिशत रहेको बीमाको पहुँच चापागाईंले अहिले २० प्रतिशत भन्दा बढी पुर्याएका छन् । अध्यक्षको कुर्सीमा बस्नु अघि बीमाको पहुँच वृद्धिमा ध्यान दिने बताएका चापागाईं यसका लागि गाउँगाउँसम्म अभियान पुर्याए । उनले गाउँगाउँका स्थानीय तहहरुमा पुगेर बीमाबारे चेतना फैलाउने कोशिस गरे । जसको नतिजा पनि राम्रै देखिएको छ ।
उनी नेकपा निकटकै व्यक्ति हुन् । उनले दोस्रो कार्यकालका लागि पुनः दोहोरिन चाहेका हुन् । नेकपा पनि प्रचण्ड समूहका तर्फका भएका कारण उनले पुनः दोहोरिनका लागि निकै कसरत गर्नु पर्ने हुन्छ । अर्का मूख्य आकांक्षी भनेका डेपुटी गभर्नर सिवाकोटी हुन् ।
उनी पनि नेकपा निकटकै हुन् र अध्यक्ष बन्नका लागि निबै वलिया दावेदार हुन् । केपी शर्मा ओली पहिलो पटक प्रधानन्त्री हुँदा डेपुटी गभर्नर बनेका सिवाकोटी यस अघि गभर्नर बन्ने दौडमा थिए । गभर्नर नियुक्तिका लागि अधिकारीसँगै सिफारिसमा समेत परे पनि उनी नियुक्त भएनन् ।
नेकपा निकटका भएर पनि अवसर नपाएका सिवाकोटीलाई नेकपा सरकारले बीमा समितिको अध्यक्ष दिएर मन थमाउने कोशिस गर्ने सम्भावना छ । वित्तीय क्षेत्रमा लोकप्रीय रहेका सिवाकोटी नेकपाको पनि विस्वासपात्र मानिन्छन् । यसकारण सिवाकोटीको सम्भावना निकै वलियो छ । यसका अलवा महेश गुरागाईं लगायतका पनि आकांक्षी रहेका छन् ।