‘विद्युतमा लगानी गरौँ, गाउँमा उत्पादित विद्युतको मालिक आफै बनाऔँ’ भन्ने नाराका साथ खोटाङको रावा खोला हाइड्रोपावरको शेयर खुला गरिएको छ । ६ दशमलव ५ मेगावाट क्षमताको रावाखोला जलविद्युत योजनाका लागि लगानीकर्ता जुटाउन दूधकोकोशी हाइड्रो पावर कम्पनीले शेयर खुला गरेको हो ।
दूधकोकोशी हाइड्रोपावर कम्पनीका अनुसार स्थानीय बासिन्दालाई बढीभन्दा बढी स्वामित्व प्रदान गर्ने गरी विभिन्न पाँच इन्भेष्टमेन्ट कम्पनीमार्फत शेयर संकलन सुरु गरिएको छ । जसअनुसार, सर्वसाधारणले गोल्डेन ड्रिम्स इन्भेस्टमेन्ट कम्पनी, पारुहाङ पावर प्लस प्रालि, माल्टा दूधकोसी इन्भेस्मेन्ट कम्पनी, कोटगढी हाइड्रो इन्भेस्मेन्ट कम्पनी र स्वरोजगार इन्भेस्मेन्ट कम्पनीमार्फत आवेदन दिन सक्नेछन् ।
खोटाङको उत्तरी क्षेत्रबाट बग्ने रावा खोलाबाट उत्पादन गरिने जलविद्युत योजनाको लगानीमा स्थानीयको अधिक सहभागिता गराइने कम्पनीले जनाएको छ । २०७० साल माघमा काम थाल्ने अनुमति लिएको कम्पनीले हौंचुरको मंगलबारेमा बाँध बनाएर दुई हजार तीन सय ३१ मिटर लामो कुलोबाट पानी खसाएर बिजुली निकाल्ने तयारी गरिएको छ ।
दूधकोशी हाइड्रोपावर कम्पनीका अनुसार झण्डै एक अर्ब २५ करोडको लागतमा पूरा हुने जलविद्युत आयोजनाका लागि ७० प्रतिशत रकम नेपाल बैंक लिमिटेडको अगुवाईमा पाँच बैंकको लगानी रहनेछ भने ३० प्रतिशत रकम शेयर लगानीकर्ताबाट जुटाइनेछ ।