
बैंकिङ खबर । कोरोना महामारीबीच बैंकहरुले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन्। हेरौ लाभांश प्रस्ताव गरेका बैंकहरुको विवरण :
एनआइसी एशिया बैंक
यो वर्ष सबैभन्दा बढी लाभांश एनआइसी एशिया बैंकको रहेको छ । यस बैंकले असोज ४ गते १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सार्वजनिक गरेको हो । सबैभन्दा बढी लाभांश प्रस्ताव गरेको एनआइसी एशिया बैंकको लाभांश पनि गत वर्षभन्दा कम छ । गत वर्ष १० प्रतिशत बोनस शेयर र ११ दशमलव ५३ प्रतिशत नगद दिएको यो बैंकको यस वर्ष न्यून प्रतिशतले लाभांशमा कमी आएको हो । एनआइसी एशिया बैंकले यो वर्ष बोनस शेयरमा जोड दिँदै लाभांश प्रस्ताव गरेको छ । कुल २० प्रतिशत लाभांशमा १९ प्रतिशत बोनस शेयर बैंकले प्रस्ताव गरेको हो ।
कुमारी बैंक
कुमारी बैंकले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल १४ प्रतिशत लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी ४ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो । यो बैंकको चुक्तापुँजी १२ अर्ब ५२ करोड रुपैयाँ रहेको छ।
बैंक अफ काठमाण्डू
गत वर्ष ६ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत लाभांश दिएको बैंक अफ काठमाण्डूले वर्ष १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको असोज १४ गतेको सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने करसहित ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । गत वर्षभन्दा १ प्रतिशत लाभांश कम दिएको बैंक अफ काठमाण्डूले पनि बोनस शेयरमै जोड दिएको छ ।
सानिमा बैंक
सानिमा बैंकको लाभांशमा पनि यो वर्ष कमी आएको छ । गत वर्ष १० प्रतिशत बोनस शेयर र ११ दशमलव ५३ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश दिएको सानिमा बैंकले यो वर्ष भने कुल १३ दशमलव ६० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यस वर्ष १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६० प्रतिशत नगद लाभांश दिने प्रस्ताव सानिमाले गरेको हो । यसर्थ, बैंकले ८८ करोड १ लाख ३८ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ३१ करोड ६८ लाख ४९ करोड ६८० रुपैयाँ नगद लाभांश बाँड्नेछ । यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।
सिटिजन्स बैंक इन्टरनेशनल
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको असोज ३ गतेको सञ्चालक समितिको बैठकले ७ दशमलव ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । सिटिजन्स इन्टरनेशनलको पनि यो वर्ष लाभांश घटेको छ । गत वर्ष सिटिजन्सले १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश दिएको थियो ।
माछापुच्छ्रे बैंक
यो वर्ष माछापुच्छ्रे बैंककोे कात्तिक ६ गते वार्षिक साधारण सभाको मिति तय भए पनि कोरोना संक्रमण बढेका कारण स्थगित गरेको छ । दशै खर्च दिने गरी साधारणसभा गर्न लागेको माछापुच्छ्रे बैंकले सभा स्थगित गरेपश्चात् आगामी साधारणसभाबाट अनुमोदन गराउने गरी २ दशमलव ८५ प्रतिशत अन्तरिम लाभांश दिने भएको छ । बैंकले प्रस्ताव गरेको ७ दशमलव ३० प्रतिशत बोनस शेयर र ३ दशमलव ३७ प्रतिशत नगद लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने बैंकले जानकारी दिएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकले ११.८४ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांस घोषणा गरेको हो । बैंककोे ४०३ औँ सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव अघि सारेको हो । उक्त लाभांशको प्रस्ताव नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिने जनाइएको छ । बैंकले कुल ११.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा ७ प्रतिशत बोनस सेयर र कर सहित ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको ३६४औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात आर्थिक वर्ष २०७६/०७७ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश गरी जम्मा १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्ने छ ।
