October 30th, 2020

तरल सम्पत्तिको पहिचान कसरी गर्ने ?

रमेश कुमार पोखरेल । एक प्रकारको सम्पतिलाई कुनै अवरोध वा नोक्सानी विना अर्को प्रकारको सम्पतिमा परिवर्तन गर्न सक्ने क्षमतालाई वित्तीय क्षेत्रमा तरलता भनिन्छ । सजिलैसँग खरीद बिक्री गर्न सकिने विशेषता भएको कुनै सम्पतिलाई तरल सम्पति भनिन्छ भने त्यस्तो क्षमतालाई तरलता भनिन्छ । अझ स्पष्टसँग भन्दा कुनै हानी नोक्सानी तथा अवरोध विना कुनै पनि सम्पतिलाई नगदमा रुपान्तर गर्न सक्ने क्षमता विशेषलाई तरलता भनिन्छ । 

नगद त्यस्तो सम्पति हो जसमा जुनसुकै प्रकारको सम्पति, वस्तु, सेवा खरीद गर्ने क्षमता हुन्छ । त्यसैले नगद तरलताको उत्कृष्ट नमुना हो । त्यसैगरी बजारयोग्य सुरक्षण पत्रहरु, बैंकमा भएको चल्ती तथा बचत निक्षेप तथा अन्य चल सम्पतिहरु तरल सम्पति हुन् । यी सम्पतिहरुलाई कुनै नोक्सानी विना चाहेको समयमा विक्री गर्न सकिन्छ ।

तरल सम्पत्तिको पहिचान
उद्योग व्यवसायको उद्देश्य, प्रकृति तथा कारोवारको आधारमा तरल सम्पतिको पहिचान गरिन्छ । कुनै पनि व्यवसायको कारोवार संचालन गर्न, त्यसवाट श्रृजित अल्पकालिन दायित्वहरुलाई सम्वोधन गर्न, भविष्यमा आइपर्न सक्ने झट्काबाट व्यवसायलाई बचाइ राख्न तथा बजारमा कुनैपनि समयमा आउन सक्ने अवसरबाट फाइदा लिन उपयुक्त मात्रामा तरल सम्पति राख्ने गरिन्छ ।  तरलता र नाफादायकता बीच विपरित सम्वन्ध हुने भएकोले अधिक मात्रामा तरल सम्पतिको भण्डारण गर्नु पनि बुद्धिमानी हँुदैन । पूँजिगत लाभ र उच्च प्रतिफलको लागि स्थिर प्रकृतिको सम्पतिको पनि आवश्यकता हुन्छ । 

तरलता र व्याजदरबीचको सम्बन्ध
तरलता र व्याजदरबीच नजिकको तर विपरित सम्वन्ध हुन्छ । अधिक तरलताले व्याजदरमा कमी ल्याउँदछ । व्याजदर धेरै सस्तो भए बचत निरुत्साहित भई उपभोगमा वृद्धि हुन्छ, सेयर तथा घरजग्गा जस्ता कम प्रतिफलका आयोजनामा लगानी बढ्न थाल्छ । बैंक तथा वित्तीय संस्थाको मुनाफा कम हुने अवस्था रहन्छ । तरलता कम भए व्याजदर वृद्दिको लागि दबाब पर्दछ । व्याजदर वृद्दिले बचतलाई प्रोत्साहित गर्दछ, बचतले पूँजि निर्माण हुन्छ, लगानीयोग्य रकम वृद्दि हुन्छ । वस्तु तथा सेवाको लागतमा वृद्धि हुन्छ, यसले मुल्य वृद्दिमा दवाब पर्दछ, लगानी निरुत्साहित भई अर्थतन्त्र नै संकुचित बन्न पुग्दछ । धेरै सस्तो र धेरै महंगो दुवै व्याजदर अर्थतन्त्रको लागि हितकर हुँदैन, त्यस्तो व्याजदर दीगो रहन पनि सक्दैन । व्याजदरमा छिटो छिटो परिवर्तन भइरहने स्थिति पनि लगानी र आर्थिक क्रियाकलापका लागि प्रतिकुल हुन्छ । यसरी तरलताको उतार चढावले समस्त वित्तीय प्रणाली प्रति आशंका पैदा गर्नु का साथै वित्तीय क्षेत्रको स्थायित्व माथि प्रश्न चिन्ह खडा गर्दछ । त्यसैले तरलताको उचित समयमा उचित ढंगले व्यवस्थापन गर्नुपर्दछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]