बैंकिङ खबर । सरकारले असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण गरिसक्ने जनाएको छ । अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरणको काम सक्ने निर्णय गरेका छन् ।
अर्थ मन्त्रालयमा बुधवार बसेको बैठकमा गरीब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम सम्पन्न गर्न आवश्यक व्यवस्था भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मिलाउने र सो कार्यका लागि आवश्यक पर्ने थप स्रोतको व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने निर्णय समेत भएको छ।
गरिब तथा विपन्न वर्गको तथ्याङ्क नहुँदा राज्यका तर्फबाट राहत तथा सहुलियतका कार्यक्रम सञ्चालन गर्न समस्या भएको र वितरण कार्य पनि उपलब्धिपूर्ण एवं प्रभावकारी हुन नसकेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाई छ ।
उनले गरीब घरपरिवार परिचय पत्रले विपन्न वर्गलाई राहत, सहुलियत तथा सामाजिक सुरक्षा लगायतमा विशेष सहयोग पुर्याउने बताउँदै गरीब तथा विपन्न वर्गलाई लक्षित गरी विभिन्न निकायबाट प्राप्त कृषि कर्जा, सहुलियतपूर्ण व्याज, कृषिका लागि अनुदान, स्वास्थ्य उपचार, शिक्षामा सहुलियत लगायतका कार्यक्रमहरुले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।