October 23rd, 2020

दशैं र पैसा : दशैंको दक्षिणाबाट सुरु गरौं नानी-वावुको ‘बैंक खाता’

माधव निर्दोष । दशैँमा कति दक्षिणा पाइन्छ ? कति दक्षिणा दिने होला ? यी कुरा सबैको मनमा हुन्छ । तर दक्षिणा के गर्ने ? भन्ने कुराको खासै चासो हुँदैन । त्यसमा पनि ससाना नानीबाबुका लागि दक्षिणा महत्वपूर्ण हुन्छ । दशैं ससाना बच्चाका लागि सबैभन्दा महत्वपूर्ण चार्ड हो । यस कारण पनि बच्चालाई दक्षिणा दिन कन्जुसाई गर्नु हुँदैन । बच्चाले पाएको दक्षिणा उनीहरुले पछिसम्म पनि सम्झीने गर्दछन् । हुन त टीका लगाएर पाएको दक्षिणा मनोरञ्जनमै खर्च गरौँ भन्ने इच्छा हुन्छ । सोही दक्षिणालाई बैंकमा खाता खोलेर जम्मा गर्नुभयो भने एकातिर बचत गर्ने बानी बस्छ भने अर्कोतिर बैंकले व्याज पनि दिइरहेको हुन्छ । सरकारले हरेक नेपालीको बैंक खाता अभियान संचालन गरिरहेको छ । सिंगो नेपाललाई नै डिजिटल कारोबारको युगमा लैजाने लक्ष्य लिइएको छ । नोट छपाईमा लाग्ने खर्च कम हुने, बचत गर्ने बानी बस्नाले जनताको समृद्धि हुने र बैंकमा जम्मा भएको निक्षेपबाट बैंकले लगानी समेत गर्न पाउने भएकाले सबै नेपालीले बैंक खाता खोलेर कारोबार गर्न सिक्नु आवश्यक छ ।

बैंकमा खाता खालेपछि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल वालेट जस्ता सेवा लिएर बील भुक्तानी, मोबाइल टीभी रिचार्ज, पैसा ट्रान्सफर जस्ता सेवा मोबाइलबाट घरमै बसेर लिन सकिन्छ । न त लाइन बस्ने झन्झट हुन्छ, न त खल्तीमा भएको नगद चोरी हुने डर । होटलहरुमा बस्न जाँदा वा सपिङ जाँदा बैंकको कार्डबाटै भुक्तानी गर्न सकिन्छ । अनलाइनबाटै पेमेन्ट गरेर आफूले रोजेको सामान खरिद गर्न पनि सकिन्छ । डिजिटल बैंकिङको अनुभव लिनका लागि बैंकमा गएर खाता खोले पुग्छ । दशैँको दक्षिणाबाटै सुरु गर्न सकिन्छ डिजिटल सेवाहरु । दक्षिणा दिँदा पनि नगद दिनुपर्छ भन्ने मान्यता हटाउन सक्छौं । मोवाइल वालेटबाट दशैंको दक्षिणा दिन सक्छौं । किनकि, यो समय हामी मनोरञ्जनको मुडमा हुन्छौँ र अनावश्यक खर्च गरेर पैसा सकाउँछौँ । डिजिटल रुपमा रहेको रकम अनावश्यक खर्च पनि गरिँदैन पैसाको बचत गर्नु भनेको आफ्नै सुविधा र भविष्यको सुरक्षा पनि हो । त्यसैले, अझैसम्म पनि बैंकमा खाता खोल्नुभएको छैन भने अब नजिकैको बैंक शाखामा गएर खाता खोल्नुहोस् र यसपालीको दक्षिणा बचत गर्नुहोस् । अहिले त बैंक खोज्दै बजार जानुपर्ने अवस्था पनि छैन । हरेक स्थानीय तहमा बैंक पुगीसकेका छन् ।

वित्तीय साक्षरतामा : बैंक, बीमा र पुँजीबजार

पैसा कसरी कमाउने ? पैसा कसरी बचत गर्ने ? छिटोछिटो धेरै पैसा कसरी कमाउने ? आज अधिकांस मानिसले सोच्ने बिषय यहि हो । हरेकलाई लाग्छ पैसा कमाएपछि समस्या समाधान हुन्छ । पैसा कमाए पछि हरेक सुविधा उपभोग गर्न सकिन्छ । सामान्य अर्थमा वित्तीय साक्षरता हुनु पनि यहि हो कि कसरी पैसा कमाउने ? कसरी पैसा बचत गर्ने ? तर नदेखीएको प्रश्न हो पैसा सदुपयोग कसरी गर्ने ? ‘यही प्रश्नको उत्तर हो’ वित्तीय साक्षरता । जो कोहीलाई तुरुन्तै धनि हुन मन लाग्छ । जो कोहिलाई तुरुन्तै पैसा कमाउन मन लाग्छ । तर पैसा तुरुन्तै कमाईदैन, यति भन्दा भन्दै फेरी भन्नै पर्छ पैसा कमाउने चिज हो प्रशस्तै कमाइन्छ । पैसा कमाउने आधारहरु छन् । पैसालाई चिन्ने उपायहरु छन् । पैसालाई प्रयोग गर्ने, पैसा बचत गर्ने र एक एक गरेर सय अनि हजार हजार गरेर लाख र लाख लाख गरेर करोड । पैसाको खास रोडम्याप यही हो । यही शिक्षालाई बुझ्ने, मनन गर्ने र कार्यन्वयन गर्ने बाटो सिकाउने शिक्षा नै वित्तीय साक्षरता हो ।
वित्तीय चेतना र वित्तीय शिक्षा अभिवृद्धि गर्ने काम वित्तीय साक्षरताले पैसाको महत्व बुझ्न र पैसाको व्यवस्थापन गर्न सिकाउँदछ । पैसाको सदुपयोगबाट आर्थीक तथा सामाजिक सुरक्षा हासिल गर्न सकिन्छ । पैसाको उचित व्यावस्थापन गर्न सकेमा असिमित आवश्यकतालाई सिमित साधनको प्रयोगबाट पुरा गर्न सकिन्छ भन्ने शिक्षा वित्तीय साक्षरताले सिकाउँदछ । व्यवस्थित बजेट बनाउने, खर्चका लागि मापदण्ड बनाउने, खर्च र बचतको तरिका अपनाउने तथा समिति साधनको व्यवस्थित परिचालन र उच्चतम सदुपयोग गर्ने कला, सीप र ज्ञान वित्तीय साक्षरताले प्रदान गर्दछ । वित्तीय साक्षरता भनेको पैसाको उचित सदुपयोग गरी आम्दानीका लागि उद्यमशीलताको विकास गर्नु पनि हो । जसभित्र बैकिङ, बीमा र पुँजीबजार ठुलो हिस्साका रुपमा रहेको हुन्छ ।

बैकिङ चेतनामा वित्तीय साक्षरता
वित्तीय साक्षरताको एउटा पाटो बैंकिङ्ग शिक्षा हासिल गर्नु हो । बैक खाता खोल्नु, बैकिङ्ग पहुँच बढाउनु, बैकिङ्ग कारोबारमा सक्रियता अपनाउनु तथा पैसाको सम्पूर्ण कारोबार बैंकिङ्ग प्रणालीबाट मात्रै गर्नुले धेरै अभावहरुलाइ सम्बोधन गर्न थाल्दछ । यसबाट आम्दानी , खर्च र बचतको हिस्सा समेत निस्कन्छ । बंैकमा राखिएको रकमबाट ब्याज प्राप्त हुन्छ भने कुनै पनि ठाउँमा रहेको अर्को व्यक्तिले सोही रकम बैंकबाट कर्जाका रुपमा लैजान्छ र उद्यमशीलता हासिल गर्दछ । कुनै पनि समयमा उद्यमशीलता गर्ने सोचाइको विकास गरी आफैले बैंकमा राखेको भन्दा धेरै अनुपातमा आवश्यकता अनुसारको कर्जा निकाली व्यापार व्यवसाय संचालन गर्न सकिन्छ । बैकिङ्ग व्याज ,बैकिङ्ग कर्जा लगानि र उत्पादन सम्बन्धी ज्ञान हासिल गर्नु वित्तीय साक्षर हुनु हो । आम्दानी वा खर्चका सबै हिस्साहरु बैकिङ्ग पद्धतिबाट सुरु गरिसकेपछि बल्ल बैकिङ्ग सेवा सुविधा र बैंकले गर्ने गतिविधि थाहा हुन्छ । कर्जा बचत बचतका किसिमहरु, व्याजदर आदिको बारेमा थाहा हुन्छ । ती कुरा थाहा भएपछि बल्ल व्यक्तिमा बैकमा पैसा जम्मा गर्ने, आवश्यकता अनुसार निकाल्ने र बैकिङ्ग क्षेत्रबाटै कर्जा निकालेर उद्यमशीललताको बाटो अपनाउने कार्यको विकास हुन्छ यसर्थ वित्तीय साक्षरता बैंकसँग जोडिएको हुन्छ ।

बीमा शिक्षा र सुरक्षाका लागी वित्तीय साक्षरता
बीमा शिक्षा र सुरक्षा वित्तीय साक्षरताको अर्को पाटो हो । पैसाको कारोवारको सबै हिस्सा हो । साथै बैंक र बीमा एक अर्काको परीपुरक हुन् । बैंकले पैसाको कारोबार गरेजस्तै उक्त पैसाको सुरक्षाको बाटो अपनाउने माध्यम बीमा हो । जीवनभर आर्जन गरेको सम्पत्ति ३० सेकेण्डको भुकम्प, महामारी, हुरी, आगलागी, बाढी पहिरो जस्ता प्रकृतिक प्रकोपबाट नष्ट हुन सक्छ । आर्जीत सम्पत्ति मात्रै होइन बैंकबाट कर्जा निकाले वा आफैले कमाएको रकमबाट कुनै व्यापार व्यवसाय संचालन गरीएको हुन्छ । आम्दानिको मुख्य स्रोतका रुपमा रहेको उक्त व्यवसायलाई त्यस्ता विपत्तिले क्षणभरमै नष्ट गरिदिन्छ । उपचार गर्न नसक्ने व्यक्तिलाई अस्पतालसँग जोडिदिन्छ । स्वास्थ्यमा सचेत बनाइदिन्छ । यत्ति मात्रै कहाँ हो र ? बैंकमा राखिएको रकम जस्तै जीवन बीमा गरी अवधि समाप्त पश्चात प्राप्त रकमले पनि ठुला ठुला समस्या समधान गर्न सहयोग पु¥याउँदछ । जुन रकमले क्षतिपूर्तिको अनुभूति गराउँछ । कम्तिमा बाँच्ने व्यक्तिलाई राहत प्रदान गर्दछ । वित्तीय शिक्षा हासिल नगरेको वा नबुझेको व्यक्तिले बीमाको महत्व बुझ्न सक्दैन । बीमाको महत्व र आवश्यकता बीमा शिक्षासँंग जोडिन्छ र बीमा शिक्षा वित्तीय साक्षरतासँग जोडिन्छ । पछिल्लो समय बैंकमार्फत पनि बीमा सुविधाहरु उपलव्ध हुन थालेको छन् जसले गर्दा वित्तीय साक्षरताले बैंक र बीमालाई एक आपसमा जोडिदिने पुलको समेत काम गरेको छ ।

वित्तीय साक्षरतामा पुँजीबजार : 

मानिसले आफुसँग भएको रकम वा आफ्नो नाममा भएको सम्पत्तिलाई लगानीका रुपमा प्रयोग गर्न चाहन्छ । पैसा भएर मात्रै हुदैन त्यसलाई आम्दानि मूलक वा उत्पादन मूलक क्षेत्रमा लगानी गरीएन भने त्यहाँ वित्तीय साक्षरता अधुरो हुन्छ । आफैले नीजि तरिकाले गरीने लगानी होस् वा सरकारी निकाय अथवा कुनै पनि संघसंस्था मार्फत गरिएका लगानीहरुमा केहि हिस्सा आफुले पनि लगानी गर्ने अवस्था नै किन नहोस् । भविष्यको आम्दानीका लागि गरिने लगानी सामुहिक लगानी अथवा सम्पत्तिलाई चलायमान अर्थतन्त्रसँग जोडिने क्रियाकलाप भित्र पँुजीबजार पर्दछ । यसर्थ कुनैपनि बैक, वित्त, बीमा कम्पनी हाइड्रो, होटल वा अरु कुनै ठुला प्रोजेक्टहरु एक्लै सम्पन्न गर्न सम्भव हुदैन । सबै व्यक्तिसँंग थोरै थोरैे रकम हुने गर्दछ । ती धेरै व्यक्ति बाट थोरै थोरै रकम संकलन गरेर मात्रै ठुला ठुला लगानिका क्षेत्रमा सफलता प्राप्त गर्न सकिन्छ । लगानी गर्ने त्यसको बजार मूल्य मापन गर्ने आवश्यकता अनुसार शेयरको किनबेच गर्ने आदि कार्य पुँजीबजार भित्र पर्दछ । यसर्थ वित्तीय साक्षरताले पुँजीबजारका बारेमा शिक्षा प्रदान गर्दछ । अर्को अर्थमा वित्तीय शिक्षा भन्नु नै पुँजी बजारबारे ज्ञान हुनु हो । पुँजीबजारमा पहुँच हुनु हो र पुँजी बजारसंग सम्बन्धीत क्षेत्रका बारेमा राम्रो जानकारी हुनु हो वित्तीय रुपमा साक्षर व्यक्तिसँग मात्रै पुँजी बजारबारे राम्रो ज्ञान रहेको हुन्छ ।
पछिल्लो समय विश्वभर नै वित्तीय समावेशीकरण र वित्तीय साक्षरताको बिषयले चर्चा र महत्व पाएको छ । नेपालमा पनि बित्तीय पहुँच, समावेशीकरण र साक्षरताको बिषयमा चर्चा हुँदै आएको छ । वित्तीय समावेशीकरणको सामान्य अर्थ सबैका लागि वित्तीय सेवा भन्ने हुन्छ । यसैलाई सार्थक बनाउन पछिल्लो समय नेपाल राष्ट्र बैक, बीमा समिति , नेपाल धितोपत्र वोर्ड र निजी क्षेत्रबाट पनि वित्तीय साक्षरता सम्बन्धी धेरै कामहरु भएका छन् । वित्तीय साक्षरता बैंकिङबाट सुरुवात भएर बीमा पुँजीबजार हुँदै फेरी बैकसँगै जोडिन पुग्दछ । पैसाको परिचालन र प्रक्रियालाई सक्रिय बनाउने शिप शिक्षा र कला वित्तीय साक्षरताबाटै प्रदान हुने हो ।

विकासमा वित्तीय साक्षरताको भूमिका : 
वित्तीय साक्षरताबाट मात्रै विकास सम्भव छ । नेपालमा वित्तीय साक्षरताको दर अत्यन्तै कमजोर रहेको छ । विश्वमा देशहरु जती धेरै विकशित छन् त्यति धेरै वित्तीय रुपमा ती साक्षर छन् । अर्थात धेरै वित्तीय साक्षरता भएका देशहरु मात्रै धेरै विकशित छन । विकास भनेकै वित्तीय साक्षरताबाट सुरु हुन्छ । अनुसन्धान, योजना, प्रोजेक्टको तयारी अनि लगानी । लगानी पश्चात त्यसको प्रतिफल प्राप्ति जस्ता कुराहरु वित्तीय साक्षरताले मात्रै सिकाउँछ । वित्तीय ज्ञानले नै वित्तीय अनुशासन कायम गर्दछ । वित्तीय शिक्षा विकासका अनगिन्ति क्षेत्रसँग जोडिन्छ । कुनैपनि योजना पुरा गर्न कति समय लाग्छ ? कति लगानी लाग्छ ? कति समयपछि उत्पादन सुरु हुन्छ ? त्यसको लागि सुरक्षित मापदण्ड के के हुन सक्छन् ? लगानि पश्चात आम्दानी कति प्राप्त हुन्छ ? आदि कुरा मापन गर्ने यन्त्र नै वित्तीय शिक्षा हो । योजनाबद्ध निर्धारित समय र तोकिएकै मापदण्डमा रहेको काम गर्नका लागि वित्तीय शिक्षा , वित्तीय अनुशासन वित्तीय कानुनको आवश्यकता पर्दछ । कुनै पनि विकसीत देशको विकासका सुचकहरु मापन गर्ने आधार समेत वित्तीय साक्षरता रहने गर्दछ ।
वित्तीय व्यवस्थापन मजबुद बनाउनका लागि वित्तीय कानुनका दायराहरु मजबुत हुनुपर्दछ । खासगरी वित्तीय क्षेत्रको मापन अथवा यसको दायरा नेपालमा वित्तीय संस्था भित्र मात्रै सिमित राखिएको छ । वित्तीय भन्ने वित्तीकै बैकिङ, बीमा र पुँजीबजार मात्रै पर्दैन । पैसाको परिचालन हुने हरेक क्षेत्र वित्तीय साक्षरसँग जोडिन्छ । वित्तीय अनुशासन बैंक, बीमा कम्पनीमा वा पुँजीबजारका क्षेत्रमा मात्रै सिमित हुदैन । राज्यका निकायहरु, सडक निर्माण, पुल निर्माण पूर्वधारहरु हरेक क्षेत्रमा वित्तीय कानुनका दायराहरु तय गरीयो भने मात्रै निर्धारीत समयमा काम सम्पन्न गर्न र तोकिए बमोजिमका सामानहरु प्रयोग गर्न उत्साहीत गर्दछ । विकसित समाज निर्माण गर्न, आर्थीक रुपले सवल हुन, विकास योजनाहरु तय गर्न र आर्थीक रुपबाट समृद्ध हासिल गर्न वित्तीय साक्षरताको भूमिका महत्वपूर्ण हुन्छ । स्वीडेन, क्यानडा, नर्वे जस्ता देशहरु करिव ७५ प्रतिशत वित्तीय साक्षरता हुँदा नेपालमा करिव २० प्रतिशत मात्रै वित्तीय साक्षरता हुनुले सिंगो देशको अर्थतन्त्र र विकासको अवस्थालाई कमजोर सुचनाको रुपमा देखाएको छ ।

वित्तीय साक्षरता बढाउन के गर्ने ?
पछिल्लो समय अधिकांश स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुग्दा केही हदसम्म वित्तीय पहुँच पुगेको छ । वित्तीय पहुँच पुगेको ठाउँमा वित्तीय साक्षरताका कामहरु पनि भएका छन् । तर केही ठाउँहरुमा अझै पनि वित्तीय जागरणका कामहरु हुन सकेका छैनन् । देशका हरेक स्थानीय तहमा वित्तीय साक्षरताका कार्यक्रमहरु स्थानीय तहबाटै सम्पन्न गर्न सकिन्छ, सरकारका स्थानीय तहहरुले र ती तहहरुमा रहेका जन प्रतिनिधिले वित्तीय साक्षरताको विषयलाई मध्यनजर गर्न सके भने हरेक ठाउँमा वित्तीय शिक्षा पु¥याउन सकिन्छ । साथसाथै सरकारले विद्यालय स्तरका पाठ्क्रममा नै वित्तीय अर्थात पैसाको व्यवस्थापन सम्बन्धि शिक्षा समावेश गरी पढाउने गर्नुपर्छ । यसले विद्यालय स्तरबाटै वित्तीय कारोबार गर्नुपर्छ भन्ने कुराको बोध गराउँदछ ।
अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाले नागरिकमुखि कार्यक्रमहरु ल्याउन आवश्यक छ । हरेक बैंकले बैंकमै र बीमा कम्पनीहरुले बीमा कार्यलयमै हेल्प डेक्स मार्फत वित्तीय साक्षरताबारे बुझाउन सक्दछन । कतिपय ठाउँमा बैकिङ पहुँच पुगे पनि वित्तीय साक्षरता र जागरणका अभियानहरु पुग्न सकेका छैनन् । जसले गर्दा अझै पनि नागरिक बैंक भित्र पुग्न हिच्किचाउँछन् ।
पछिल्लो समय सरकारले पनि बीमाका लागि विभिन्न सुविधाहरु दिएको छ । कृषि बीमामा दिएको सहुलियत, स्वास्थ्य बीमा लगायतका बीमामा सरकारले विशेष चासो दिएको छ र विभिन्न कार्यक्रमहरु अगाडी बढाएको छ । त्यस्तै बीमा समितिले पनि बिभिन्न वित्तीय साक्षरताका लागि विभिन्न कामहरु गरेको देखिन्छ । बीमा शिक्षाका लागि बीमा तालिम केन्द्र स्थापना गर्ने देखि लिएर बीमाको पहुँच सबै ठाउँमा पु¥याउन प्रदेश स्तरीय कार्यलयको स्थापना गर्ने जस्ता कार्य अघि बढेका छन् । जीवन र निर्जीवन बीमा कम्पनीहरुको संख्या बढेसंगै बीमा कम्पनीहरुलाई व्यवसाय विस्तारमा थप प्रतिस्पर्धी बनाएको छ । त्यसैले बीमाको पहुँच बढ्दै गएको छ । ती बीमा कम्पनीहरुले कार्यलयमा हेल्प डेक्स मार्फत बीमा सचेतना अभियान पनि संचालन गर्न सक्दछ । अर्कोतर्फ सबैभन्दा पहिला बीमा अभिकर्ताहरु नै वित्तीय रुपमा साक्षर हुनुपर्छ । अभिकर्ताहरुले नागरिकहरुलाई बीमाको महत्व बुझउन सक्नुपर्ने हुन्छ । बीमाको बजार विस्तार गर्नका लागि अभिकर्ताको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले बीमा कम्पनीहरुले अभिकर्ता नियुक्त गर्दा नै विशेष ध्यान पु¥याउने र अभिकर्तालाई बीमाको महत्व र आवश्वयकता बुझउन सक्ने बनाउनु वित्तीय साक्षरता बढाउने अर्को उपाय हुन सक्छ ।

प्रविधिको भूमिका महत्वपूर्ण
पछिल्लो समय बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी सबैले प्रविधिको प्रयोगबाट वित्तीय पहुँच पु¥याउने प्रयासहरु गरेको देखिन्छ नेपालमा आधुनिक बैकिङ, आधुनिक बीमा सेवामा कम्पनिहरुको ध्यान बढेको छ । बीमा कम्पनीहरुले पनि बैंकसँग जोडिएर आफ्ना सेवाहरु उपलब्ध गराएको देखिन्छ । जसले गर्दा बैंक पुगेको ठाउँमा बीमा सम्बन्धी सेवा पाउन सकिने अवस्था छ । अधिकांश नागरीक इन्टरनेटको पहुँचमा पनि पुगेका छन् । तर प्रयोगकर्ताहरुमा प्रविधि सम्बन्धी राम्रो ज्ञान नहुन सक्छ । त्यस्तो अवस्थामा प्रविधिको प्रयोग गर्न सिकाउने प्रशिक्षणहरु संचालन गर्न सकियो भने बढ्दो प्रविधिको उपयोग हुन सक्छ । जसबाट घरमै बसेर बैकिङ , बीमा र पुँजीबजारका कामहरु प्रविधिमार्फत गर्न सकिन्छ । इन्टरनेटको पहुँच पुगेको ठाउँमा टेक्नोलोजिको माध्यमबाट मानिसहरुले वित्तीय पहुँच पाउन सक्छन् ।

निर्दोष  बैकिङ एक्स्पो कार्यक्रम तथा वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक हुन् । लेखकको ‘वित्तीय साक्षरतामा : बैंक, बीमा र पुँजीबजार’ शिर्षकको लेख ४ बर्ष अघि प्रकाशित लेख हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]