August 1st, 2016

कञ्चन डेभलपमेन्ट बैंकको मुनाफा ६ करोड २० लाख

kanchanकञ्चन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६ करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ४३ दशमलव २१ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ४ करोड ३२ लाख रुपैंया कमाएको थियो । 

१९ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी भएको कञ्चन डेभलपमेन्ट बैंकले ८ करोड ५२ लाख रुपैंया जगेडा कोषमा राखेको छ । निक्षेपमा ३३ दशमलब ३७ प्रतिशतले वृद्धि गरि १ अर्ब ९१ करोड ४२ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा अघिल्लो वर्षको तुलनामा ३५ दशमलव ९० प्रतिशतले बढी अर्थात १ अर्ब ६४ करोड ४३ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानीमा ३६ दशमलव ६६ प्रतिशतले वृद्धि भई १० करोड ८६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५ दशमलव ६८ प्रतिशतले वृद्धि भई ६ करोड ९७ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ८७ लाख रुपैयाँ राखेको छ । यस त्रैमासमा बैंकले ५० लाख रुपैयाँ राईट ब्याक गरेपछि मुनाफामा वृद्धि भएको हो ।

बैंकको निष्कृय कर्जा १ दशमलव ७५ प्रतिशत पुगेको छ भने जोखिमयुक्त सम्पत्ति १५ दशमलव ८१ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी वार्षिक ३१ दशमलव ३२ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय ४३ दशमलव ०६ रुपैयाँ र तरलता अनुपात २६ दशमलव १० प्रतिशत रहेको छ ।