नेपाल बैंकले आफ्नो स्वामित्वमा रहको नागरिक लगानी कोषको झन्डै ४ लाख कित्ता संस्थापक शेयर बोलकबोलबाट विक्रि गर्ने भएको छ । नागरिक लगानी कोषको ३ लाख ९९ हजार ९ सय ४० कित्ता संस्थापक शेयर २१ दिने सूचना दिएर लिलाममा निकालिएको हो । धितोपत्र निष्काशन तथा विक्रि प्रबन्धकमा बैंकले सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । यस शेयर बैंक तथा बित्तीय संस्था र बीमा कम्पनीले मात्र किन्न सक्ने गरी प्रति कित्ता तीन हजार पाँच सय रुपैयाँ न्युनतम मूल्य तोकिएको छ । गोप्य सिलबन्दी पत्र मार्फत शेयर किन्न चाहनेले कम्तिमा २५ हजार कित्ता वा त्यसको १० ले भाग जाने संख्यामा वा सबै शेयरका लागि आबेदन गर्नसक्ने जनाईएको छ । खरिदकर्ताले आफुले माग गरेको सम्पूर्ण शेयर बराबरको रकम बुझाएको भौचर बोलपत्रसाथ पेश गर्नुपर्ने छ । नागरिक लगानी कोषको साधारण शेयरको मूल्य हाल प्रति कित्ता पाँच हजार दुई सय रहेको छ । नेपाल बैंकले नागरिक लगानी कोषको यो शेयर बिक्रीबाट कम्तिमा एक अर्ब ४० करोड प्राप्त गर्ने छ ।