
बैंकिङ खबर । शेयर बजारमा बुक विल्डिङ विधिबाट आइपिओ निष्काशनमा सहभागि हुन करिब ५ दर्जन कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डमा ५७ वटा संस्थागत लगानीकर्ताले बुक विल्डिङ विधिबाट आइपिओ निष्काशन सहभागि हुन आवेदन दिएका हुन् । बोर्डले गत भदौ ३ गते सूचना प्रकाशित गरी बुक विल्डिङ निर्देशिका २०७७ अनुसार योग्यता पुगेका संस्थागत लगानीकर्तालाई ३५ दिनभित्र आवेदन पेश गर्न भनेको थियो । आवेदन परेका मध्ये बोर्डको मापदण्डअनुसार कागजात पुगेका कम्पनीलाई एक साताभित्रै अनुमति पाउने बोर्डले जनाएको छ । हालसम्म सूचिकृत मर्चेण्ट बैंकर, सामूहिक लगानी कोषका योजनाहरु, सूचिकृत कम्पनीहरुले आवेदन दिएका छन् । बोर्डले स्वीकृती दिएपछि योग्य संस्थागत लगानीकर्ताले बुक विल्डिङ प्रणालीबाट निर्धारित मूल्यमा आइपिओ निकाल्न पाउनेछन् ।
के हो बुक बिल्डिङ ?
बुक बिल्डिङ सार्वजनिक निष्कासन गर्ने एउटा यस्तो वैकल्पिक विधि हो । सेयर वा अन्य धितोपत्रको सार्वजनिक निष्कासन गर्दा धितोपत्रको सही मूल्य निर्धारण गर्न बिक्री प्रबन्धक वा प्रत्याभूतिकर्ता (बुक रनर) ले लगानीकर्ताबाट धितोपत्रको माग सिर्जना गर्ने, संकलन गर्ने र अभिलेख गर्ने व्यवस्थित प्रक्रिया हो । यो विधिमा बिक्री प्रबन्धक वा प्रत्याभूतिकर्ताले विभिन्न सम्भाव्य लगानीकर्ताको मागका आधारमा सार्वजनिक निष्कासनको मूल्य निर्धारण गर्छन् ।सम्भाव्य लगानीकर्ता, जस्तै वित्तीय संस्था, संस्थागत लगानीकर्ता, उच्च नेटवर्थ भएका व्यक्ति आदिबाट कुनै कम्पनीले निष्कासन गर्न लागेको धितोपत्र खरिद गर्न चाहेको संख्या र तिर्न चाहेको मूल्य माग गरी त्यसको अभिलेख किताब निर्माण गर्छ । बुक बिल्डिङ पद्धतिमा बुक भन्नाले सम्भाव्य लगानीकर्ताबाट प्राप्त माग तथा मूल्यको संग्रह हो । जुन बिक्री प्रबन्धक वा प्रत्याभूतिकर्ताबीच गोप्य रहन्छ । विश्वका विकसित पुँजी बजारमा धेरै समयदेखि यो प्रयोगमा छ । छिमेकी मुलुक भारत, बंगलादेशलगायतका पुँजी बजारमा समेत यस पद्धतिको सुरुवात भइसकेको छ । यस पद्धतिमा बिक्री प्रबन्धक वा प्रत्याभूतिकर्ताले सार्वजनिक निष्कासनका बेला विभिन्न सम्भाव्य लगानीकर्ताबाट बोलपत्र आह्वान गर्छन् । लगानीकर्ताले निष्कासनकर्ता कम्पनीले निर्धारण गरेको मूल्य सीमाभित्र रही आफ्नो बोलपत्र पेस गर्छन् । लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको वित्तीय विवरण, साख, कार्यसम्पादन मूल्यांकन आदिका आधारमा धितोपत्रको मूल्य तय गरी बोलपत्र पेस गर्दछन् ।कम्पनीको आधार (सूचक) राम्रो भए माग उच्च हुन्छ भने खराब भएमा माग कम हुन्छ । निश्चित अवधिपछि बिक्री प्रबन्धक वा प्रत्याभूतिकर्ताले बुक बन्द गर्छन् । अभिलेख भएको मागका आधारमा सार्वजनिक निष्कासनको अन्तिम मूल्य निर्धारण गर्दछन् । यो प्रक्रियामा आईपीओ निष्कासनको मूल्य निर्धारण हुनुका साथै निष्कासित धितोपत्रको मागको अवस्थासमेत थाहा हुन्छ ।
कस्ता कम्पनीले बुक बिल्डिङ बिधिमा आइपिओ निष्कासन गर्न पाउँछन् ?
बुक बिल्डिङ प्रणालीमा सभागि हुन धितोपत्र बोर्डबाट स्वीकृति पाएका संस्थागत लगानीकर्ता, सूचिकृत संस्था सामूहिक लगानी कोष, मर्चेण्ट बैंकर र माइताप्राप्त अवकाश कोषमात्र योग्य हुनेछन् ।आइपिओ निष्काशन गर्नको लागि साधारणसभाबाट स्वीकृती पाएको र प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्ता पुँजीको कम्पनीतमा ५० प्रतिशत रहेको हुनुपर्दछ । रेटिङ पनि औसत वा औसत भन्दा माथि हुनुपर्दे व्यवस्था छ । बुक बिल्डिङ विधिबाट आइपिओको बिक्री मूल्य निर्धारण गरी संस्थागत सर्वसाधारण लगानीकर्ता लागि ६० प्रतिशत विक्री गर्नुपर्ने बोर्डको व्यवस्था रहेको बछ । बोर्डले प्रकाशित गरेको निर्देशिका अनुसार बुक बिल्डिङ प्रणालीबाट आइपिओ निष्काशन गर्न कम्पनी लगातार ३ वर्षदेखि मुनाफमा सञ्चालन हुनुपर्दछ ।