Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक/वित्त क्षेत्रमा करिव पाँचहजारलाई कोरोना संक्रमण, कार्यालय संचालनमा सन्त्रास

२०७७ आश्विन २२ गते

बैंकिङ खबर । हाल बैंक, बीमा तथा वित्तीय संस्थाहरुमा गरी करिव पाँचहजार कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो समय यो संख्या बढ्दो छ । वाणिज्य बैंकमा मात्रै करिव ३ हजार कर्मचारीमा कोरोना देखिएको छ । बैंकर्स संघका अनुसार वाणिज्य बैंकतर्फ मात्रै २८ सय कर्मचारीमा कोरोना प्रमाणित भइसकेको छ । त्यसो त कतिपय कोरोना मुक्त पनि भइसकेका छन् । संक्रमणका कारण कतिपय बैंकवित्तले शाखा नै बन्द गर्नुपरेको छ । बैंकसँगै बीमा कम्पनी, लघुवित्त वित्तीय संस्था एवं ब्रोकर कम्पनी तथा अन्य वित्तीय क्षेत्रमा पनि कोरोनाका कारण कार्यालयहरु बन्द गर्नुपरेको छ । सेयरबजारमा यसको संक्रमण बढेपछि मर्चेन्ट बैंकहरुले सूचना नै प्रकाशन गरेर कार्यालय भौतिक कारोबार तथा भौतिक उपस्थित बन्द गरेका छन् । लकडाउन तथा निषेधाज्ञाका समयमा पनि बैंक तथा वित्तीयसंस्थाहरुले सेवा प्रवाह गरेका थिए । यसरी बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमा संक्रमण देखिँदा वित्तीय सेवाहरुमा समस्या पर्न सक्ने देखिएको छ । संक्रमणको संख्या दिनप्रतिदिन बढेको छ ।

बैंक तथा वित्तीय संस्थामा कोभिड -१९ संक्रमणको जोखिम बढिरहेका बेला नियमनकारी निकाय नेपाल राष्ट्र बैंककै कर्मचारीमा पनि संक्रमण देखिएको छ । केन्द्रीय बैंकमा सर्वप्रथम बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत सहायक तहको कर्मचारीमा संक्रमण पुष्टि भएको थियो । उक्त संक्रमणपछि सो शाखा नै केही समय सिल गरिएको थियो । पछिल्लोसमय राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र डेपुटी गभर्नर चिन्तामणि शिवाकोटि पनि ‘सेल्फ आइसोलेसन’ मा छन् । आफ्नो सम्पर्कमा रहेका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गभर्नर अधिकारी आइसोलेसनमा बसेका हुन् । राष्ट्र बैंकका अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठसहित अन्य करिव एकदर्जन कर्मचारीका एकैपटक कोरोना संक्रमण देखिएको थियो । राष्ट्र बैंकमा अन्य केही संक्रमितको संख्या थपिएको छ भने डेपुटी गभर्नर सहितका केही व्यक्ति संक्रमणमुक्त भइसकेका छन् ।

पछिल्ला दिनहरुमा बैंकका कर्मचारीमा कोरोनाको जोखिम बढेकाले उच्च सतर्कता अपनाउनुपरेको बैंकर्स संघका अध्यक्ष भुवन दाहाल बताउँछन् । हाल कोभिड–१९ बाट संक्रमित बैंकका कर्मचारीलाई आइसोलेसनमा बस्दा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित बैंक तथा वित्तीय संस्थाले बेहोर्नुपर्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा संक्रमण देखिन थालेपछि राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।

शिवराज श्रेष्ठ :

राष्ट्र बैंकका  डेपुटी गभर्नर शिवराज श्रेष्ठसहित अन्य करिव एकदर्जन कर्मचारीका एकैपटक कोरोना संक्रमण देखिएको थियो । राष्ट्र बैंकमा अन्य केही संक्रमितको संख्या थपिएको छ भने डेपुटी गभर्नर सहितका केही व्यक्ति संक्रमणमुक्त भइसकेका छन् ।

 

बिनोद चौधरी
भदौ १२ गते नेपाली उद्योगपति विनोद चौधरी कोरोनाभाइरसबाट संक्रमित भएका थिए । उनले ट्वीट गर्दै आफुलाई कोरोनाभाइरस परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका थिए । चौधरी दश दिनमै संक्रमणमुक्त भए । कोरोनामुक्त भएपछि उनले आफूलाई सबैको माया र प्रेरणाले ठूलो ऊर्जा दिएको र कोरोनाको संक्रमणबाट मुक्त भएको बताए ।

चन्द्र ढकाल
व्यवसायीसमेत रहेका ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालमा पनि कोरोना संक्रमण पुष्टि भयो । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी गराए । उनले फेसबुमा लेखेका छन्, ‘विश्वमै महामारीका रुपमा रहेको कोभिड १९ को प्रकोप हाम्रो देशमा पनि बढ्दो रुपमा रहेको सबैलाई जानकारी नै छ । यस समयमा म आफू पनि जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भएपनि स्वास्थ्य जाँचका क्रममा मेरो स्वास्थ्य रिपोर्टमा ‘पोजेटिभ’ देखिएको छ । तर मलाई स्वास्थ्यमा कुनै समस्या छैन, सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको छु ।’

 

बीमा समिति नै बन्द अबस्थामा
यसैगरी बीमा समितिका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि समितिको कार्यालय नै बन्द गरिएको छ । संक्रमण देखिएपछि समिति  बन्द गर्ने निर्णय गरीएको हो । संक्रमण देखिएपछि सम्पूर्ण काम समेत बन्द गरिएको छ । कर्मचारीमा संक्रमण देखिएपछि समितिका अध्यक्ष चिरञ्जिवी चापागाई समेत होम आइसोलेसनमा बसेका छन् । बीमा क्षेत्रमा अन्य बीमा कम्पनीहरुमा पनि कोरोना संक्रमण देखिएको छ । जसका कारण कतिपय कम्पनीमा सेवानै प्रभावित बनेको छ ।

संक्रमण ह्वात्तै बढ्दा कार्यालय खोल्न समस्या
बैंकवित्त क्षेत्रमा कोरोना संक्रमण ह्वात्तै बढ्दा कतिपय कार्यालय खोल्नमा समेत समस्या आउने अबस्था देखएको छ । बैंकवित्तका केही शाखाहरु बन्द पनि गरिएका छन् । तथापी कहाँ कति शाखा बन्द भए भन्नेबारे भने राष्ट्र बैंकले पनि डाटा राखेको छैन । केही बैंकवित्तका कार्यालयहरु एवं शाखाहरु सिमित अवधिका लागि बन्द गरीएपनि पुन सुचारु भएका छन् । केही शाखा भने बन्द छन् । अधिकांस शाखाहरु खुल्ला भएको र वित्तीय सेवामा कुनै समस्या नरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । तथापी संक्रमितको संख्या बढ्दै गएका कारण सर्वसाधारणलाई सकेसम्म भौतिक उपस्थितिमा कारोबार नगर्न बैंकवित्तले अनुरोध गर्दै आउका छन् । उता सेयर कारोबार गर्ने मर्चेन्ट बैंकहरुले भने सबैले भौतिक रुपबाट हुने कारोबार बन्द गरेका छन् । आफ्ना कर्मचारीहरुमा संक्रमण बढेका कारण भौतिक रुपमा हुने कारोबारहरु बन्द गरि अनलाईन तथा डिजिटल माध्यमबाटै सेवा सुचारु गरिरहेका छन् ।

Ad