July 31st, 2016

आयो सिनर्जी पावरको ७ लाख कित्ता आईपीओ !

ipoसिनर्जी पावर डेभलपमेन्ट कम्पनीको साधारण शेयर निष्काशन भएको छ । कम्पनीले बिद्युत आयोजना प्रभावित दोलखाका ६ गाउँ बिकास समितिका जनताका लागि ७ लाख कित्ता आईपीओ साउन १६ गते आईतबारदेखि निष्काशन गरेको हो । ७० करोड चुक्ता पूँजी मध्ये कम्पनीले ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याएकोमा त्यसको १० प्रतिशत आयोजना प्रभावित दोलखाजिल्लाका सम्बन्धित गाउँ बिकास समितिका जनतामा बिक्री थालेको हो । 

कम्पनीले साउन १६ गतेदेखि साउन ३० गतेसम्मको अवधिमा सो शेयर सम्बन्धित गाउँ बिकास समितिका बासिन्दाहरुलाई बिक्री गर्नेछ । आयोजना प्रभावित गौरीशंकर, खारे, लामाबगर, वराड., बुलुड. र लादुक गाउँ बिकास समितिका जनताले प्रति ब्यक्ति ५० कित्ता देखि ५ हजार कित्तासम्म प्रति कित्ता एक सय रुपैयाँ बुझाएर शेयर माग गर्नसक्ने भएका छन् । शेयरको आबेदन पत्र प्राप्ति तथा आबेदन बुझाउन सिप्रिङ खोला आयोजनाको कार्यालय, जगत र अरनिको डेभलपमेन्ट बैंकको कार्यालय सिंगटी तोकिएको छ । धितोपत्र निश्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । 

आयोजनाले देशभरिका सर्बसाधारण लगानीकर्ताका लागि भने २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता शेयर छुट्याएको छ । दोलखाबासीका लागि छुट्याईएको शेयर बिक्री गरेपछि सर्बसाधारणका लागि छुट्याईएको शेयर निष्काशन हुने बताइएको छ ।