विजनेस युनिभर्सल डेभलपमेन्ट बैँक सिद्धार्थ बैँकमा गाभिने भएको छ । फेवा विकास बैँकसँग डेढ महिना अघि गरेको मर्जरको सम्झौतालाई तोडेर बुधबारदेखि नेप्से कारोबार सुरु गरेको विजनेस युनिभर्सल पुनः सिद्धार्थ बैँकसँगको मर्जर प्रक्रियामा जाने भएको हो । राष्ट्र बैंकले पुँजी बृद्धि योजना ल्याएपछि दवावमा रहेका दुबै संस्थाले मर्जरमा जान सम्झौता गरेका छन् ।
बिहीबारबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुबै बैंकको सेयर कारोबार स्थगित गरिएको छ । सेयर रोक्कापछि दुबै संस्था सैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंक जाँदैछन् । मर्जरपछि बिजिनेस युनिभर्सलका लगानीकर्ताले दुई सेयर बराबर सिद्धार्थको एक सेयर पाउने बताइएको छ ।
अहिले सिद्धार्थ बैंकको चुक्ता पुँजी दुई अर्ब ४३ करोड रुपैयाँ छ । बैंकले २० प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको छ । वोनस सेयरपछि बैंकको पुँजी दुई अर्ब ९२ करोडको हाराहारीमा पुग्नेछ । त्यस्तै, बिजिनेस युनिभर्सले १३ प्रतिशत वोनस सेयर दिएको थियो । वोनस सेयरपछि बैंकको पुँजी एक अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । दुबै संस्था मर्जर भएपछि चुक्ता पुँजी तीन अर्ब ४४ करोड रुपैयाँ पुग्ने छ । बिजिनेस युनिभर्सलको चुक्ता पुँजीबाट जोगिने ५२ करोड ५० लाख रुपैयाँ नयाँ बैंकको जगेडा कोषमा जाने छ ।