August 30th, 2020

मर्जर हुँदै आकार फैलाउँदै लघुवित्तहरु !

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको नयाँ लाइसेन्स बन्द गरेसँगै लघुवित्तको मर्जरले तिब्रता पाएको छ । घ वर्गका वित्तीय संस्थाका रुपमा रहेका लघुवित्त वित्तीय संस्थाको अनुमति पत्र मौद्रिक नीतिबाटै स्थगन गरिएको थियो । हाल पाइपलाइनमा रहेका लघुवित्तलाई पनि लाइसेन्स बन्द गयिरएको थियो । अहिले करीव ८५ लघुवित्त संचालनमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

एन आई सी एशिया र स्वदेशी लघुवित्तको मर्जर हुँदै 

हालै राष्ट्रिय स्तरका दुइ लघुवित्त एन आई सी एशिया लघुवित्त र स्वदेशी लघुवित्तले मर्जरमा जाने संझौता गरेका छन् । कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी समझदारीपत्रमा  हस्ताक्षर सम्पन्न भएको छ । मर्जर हुने यी दुबै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन् ।  एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या २०५ शाखा हुनेछ । गाभ्नेरगाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट मिति २०७७ साल पौष महिनाको पहिलो हप्ता भित्रमा एकीकृत कारोबारको लक्ष रहेको छ । 

मर्जरमा सफल मिर्मिरे लघुवित्त

लघुवित्तको संख्या घटाउन नेपाल राष्ट्र बैंक लागिपरेका बेला पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरु धमाधम मर्जरको बाटोतिर लागिरहेका छन् । लघुवित्तको संस्था अधिक भएको भन्दै नेपाल राष्ट्र बैंकले बाध्यकारी मर्जर नीति ल्याउनु पूर्व नै लघुवित्त वित्तीय संस्थाहरु आफैं मर्जरमा जान थालेका छन् । स्वस्थ लघुवित्त कार्यक्रम सञ्चालन गर्न संस्थाको संख्या घटाउनु पर्ने विज्ञहरु बताउँछन् । यसैबिच स्वेडा लघुवित्तलाई गाभेर आकार बढाएको मिर्मिरे लघुतित्त वित्तीय संस्थाले लकडाउनकै समयमा पुन नागबेली लघुवित्तलाई गाभेर मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट २०७७ भाद्र ७ गते आइतबारबाट एकिकृत कारोबार सुरु गरेको छ । साबिककै बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले छाेटाेे समयमा नै दुइवटा लघुवित्त मर्जर सफल बनाएको छ । यसबाहेक मिर्मिरेले अन्य लघुवित्तलाई समेत गाभ्ने तयारीमा छ । जसले देशको ठुलो लघुवित्तको पहिचान बनाउँदै गरेको र अरुलाई पनि मर्जरमा जान उत्प्रेरित गरिरहेको छ ।

साना-साना आकारमा रहेका तीनवटा लघुवित्त मर्जर हुँदै

सानासाना आकारमा रहेका तीनवटा लघुवित्त मर्जर भई एक हुन लागेका छन् । जीवन विकास लघुवित्त वित्तीय संस्था, सल्भ लघुवित्त वित्तीय संस्था र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्था मर्जर भएर एक हुन लागेका हुन् । मर्जरपछि भदौ २२ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएको छ । मर्जरपछि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुने छ । सल्भ लघुवित्त लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी ४ करोड २० लाख, गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी १ करोड ४० लाख र जीवन विकास लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी १४ करोड रहेको छ । तीनवटै लघुवित्त गाभिएपछि चुक्ता पुँजी १९ करोड ६० लाख पुग्ने छ।

एनआरएन लघुवित्तले आकार बढायो

केहीदिन अघि किसान माइक्रोफाइनान्स, एनआरएन लघुवित्त र दिव्य लघुवित्त मर्जर भई एनआरएन लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको थियो । २० करोड ९२ लाख रुपैंया चुक्ता पूँजी भएको एनआरएन लघुवित्त, १० करोड ६६ लाख रुपैंया पूँजी भएको किसान र ७ करोड ७० लाख रुपैंया पूँजी भएको दिव्य लघुवित्त एक आपसमा मर्जरमा गएका हुन् । तीन वटै लघुवित्तले बराबर अनुपातमा मर्जरको स्वीकृति लिएका थिए । नयाँ लघुवित्तको अधिकृत पूँजी १ अर्ब, जारी पूँजी ५२ करोड पुगेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]