August 24th, 2020

कृषि सम्बन्धि निति तथा कार्यक्रम कार्यान्वयनमा किन फितलो ?

अशोक बहादुर टंडन
कोरोना प्रभाव (कोभीड-१९) ले यतिबेला बिश्वनै आक्रान्त भएको अवस्था छ। अहिलेसम्म बिश्वभर कोरोना भाइरसको कारणले २ करोड भन्दाबढी कोरोना संक्रमित भएका छन् भने यसबाट मृत्यु हुनेको संख्या ७ लाख भन्दा बढी पुगेको तथ्यांक सार्बजनिक भएको छ। जस्को प्रभाव तथा संक्रमण रोक्न केही महिनादेखि बिश्वनै लकडाउन (वन्दावन्दी ) अबस्थामा जस्तो रहेको छ। यस्को प्रभाबको कारण बिश्वको आर्थिक, सामाजिक, सास्कृतिक लगायत धेरै क्षेत्रमा बिचलन ल्याएको छ जस्को  कारण आममानिसमा मनोबैज्ञानिक असर पुग्न थालेको तथ्यांक सार्बजनिक भएका छन् । अर्कोतिर  बिश्वका शक्तिशाली राष्ट्रको शक्ति सन्तुलनमा फेरबदल आउने आकलन गर्न थालिएको छ भने आर्थिक आधारस्तभ लरबराएको अवस्था देख्न सकिन्छ । बिश्व आर्थिक सम्पन्न मुलुकका आर्थिक सुचक घट्दो क्रममा छन। धेरै जस्तो राष्ट्रले कोरोना नियन्त्रण र ब्यबस्थापनमा ठूलो रकम खर्च गरेको पाइएको छ। बिश्वब्यापी प्रभाव पारेको कोरोनाले नेपाल पनि यस्को  प्रभावले अछुतो हुन सकेन जस्को रोकथाम तथा नियन्त्रण  लागी करिब ३ महिना लकडाउन(वन्दावन्दी) को अबस्थामा रहेको नेपाल पुनः अहिले देशका अधिकाश शहरमा निषेधाज्ञा जारी गरिएको छ। अहिलेसम्म  नेपालमा पनि करिब ३१ हजार भन्दा बढी संक्रमित भएको अवस्था छ भने आजसम्म १४८ जनाको कोरोनाको कारण मृत्यु भएको छ । जस्को नियन्त्रण र रोकथामका लागी सरकारले अहिलेसम्म १२ अर्ब खर्च गरेको तथ्यांक सार्बजनिक गरेको छ। देशनै बन्धक जस्तो अबस्थामा हुँदा आम मानिसको जनजीवन कष्टकर बनाएको छ । आर्थिक गतिविधि शुन्य मात्रामा चलाएमान भएको अबस्थामा नेपाल गुज्रिएको छ। देशको आर्थिक गतिविधि चलाएमान बनाउन सरकारले थप वैदेशिक ऋण ल्याउने प्रक्रियामा छ । हाम्रो जस्तो अल्पविकसित मुलुकको लागि अहिले यो रोगलाई निर्वारण गर्न ठुलो चुनौती सामना गर्नु परेको देखिन्छ। नेपालले  राजनीतिक अस्थिरता बाट स्थिरतामा बाटो तय गर्दागर्दै अर्को  चुनौती सामना गर्नु परेको छ। नेपालको कुल गाहस्थ उत्पादनमा ठुलो योगदान गरेको रेमिटान्समा बिश्वभर कोरोना प्रभावले वैदेशिक रोजगार गुम्ने खतराले ठुलो धक्का लाग्ने वातावरण सिर्जना भएको छ भने अर्कोतिर तत्काल युवा जनशक्ति बेरोजगार हुँदा युवालाई रोजगारमा ब्यबस्थापन गर्ने ठाउँ नहुदा अर्को समस्या देखा पर्ने देखिन्छ। कुल गाहस्थ उत्पादनमा ठुलो योगदान गर्ने कृषिलाई पनि समयसुहाउदो बनाउन नसक्दा पुरातनवादी कृषि प्रणालीअनुसार काम हुँदा उत्पादनमा थप योगदान लिन सकिएको छैन भने आम युवाहरूलाई कृषि पेसामा आकर्षक गर्न सकिएको छैन। यस्तो जटिल परिस्थितिमा आम मानिसको पहिलो आवश्यकता गास भएको हुँदा कृषिनै पहिलो आधारस्तभ हो भन्नेमा दुई मत छैन। नेपाल जस्तो कृषिप्रधान देशले अब यस्लाइ स्पष्ट नीति तथा कार्यक्रम ल्याइ  प्राथमिकता राखी  व्यावसायिककरण गर्नुको विकल्प देखिदैन ।      
 
रसिया लगायत अन्य देशले  कोरोना रोकथामको लागी भ्याक्सिन पत्ता लगाएका समाचार आएका छन। यो सुरुवाती चरणमा यस्को प्रयोग टेस्ट गर्न लागिएको बताएको छ । बिश्व स्वास्थ संगठनले अझै करिब २ बर्ष कोरोना भाइरसको प्रभावले नछाड्ने बताउदै आएको छ । यस्तो जटिल परिस्थितिमा आर्थिक गतिविधिनै शुन्य प्रायः भएको अबस्थामा आमनागरिकलाई बचाउन र भोकमरी जस्ता समस्याबाट पार पाउन आर्थिक गतिविधि चलाएमान बनाउन कृषि पेसालाई तत्काल सम्बोधन गर्नु पर्ने जरुरत देखिन्छ।
 
 आर्थिक वर्ष २०७७/७८ को कोरोना महामारी प्रभाव संगै आएको नीति तथा कार्यक्रम र बजेटले  कृषि, रोजगार तथा सामाजिक सुरक्षा कोषलाई प्रथामिकतामा राखिएको छ। नेपालमा हालसम्म  नीति तथा  कार्यक्रम र बजेटमा ल्याइएका महत्त्वपूर्ण  कुराहरू कार्यान्वयनमा फितलो हुँदा देशले यस्तो दुर्दशा भोग्नु परेको यथार्थ चित्रण हामिसङ्ग प्रशस्त उदाहरण छन। अहिलेको बजेट देखि लिएर मौद्रिक नितिसम्मले किसानका लागी ल्याइएका कार्यक्रम निकै राम्रा र महत्त्वपूर्ण छन् । अब कार्यान्वयन पक्ष कस्तो हुने हो त्यो चाहिँ हेर्न बाकी नै छ। अहिलेसम्म ल्याइएका कार्यक्रमको कार्यान्वयन अत्यन्तै  कमजोर देखिन्छ। कृषि क्षेत्रले यति धेरै कुल गाहस्थ उत्पादनमा योगदान गरेको छ त्यो कृषि पेसा अपहेलित हुन पुगेको छ। यहि लकडाउनको समयमा पनि किसानले उत्पादन गरेका तरकारी किसानको बारीमा करोडौंको कुहिएर खेर गयो भने भारतबाट आयातित गरेर तरकारी ल्याइएको प्रशस्त उदाहरण छन। अहिने बर्षाको कारण र लकडाउने गर्दा जनशक्ति घरमा बस्दा धान रोपाइँमा अन्य बर्ष भन्दा उल्लेखनीय प्रगति भएको तथ्यांक सार्वजनिक भएको छ तर किसानले समयमा मल नपाउदा उत्पादन घट्ने कुराले किसान चिन्तित हुनुपरेको छ।
 
सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेजस्तै रोजगारी, कृषि र सामाजिक सुरक्षा कोष कार्यक्रममा समेटन सके कोरोनापछि यी क्षेत्रमा देखिएका केही समस्या समाधान हुने श्रम तथा रोजगारविज्ञहरूले बताएका छन् । कोरोना भाइरसको सबैभन्दा धेरै प्रभाव रोजगारी, कृषि र सामाजिक क्षेत्रमा परेको उनीहरूको भनाइ छ । कोरोना भाइरसका कारण करिब ३० लाख नागरिक तत्काल बेरोजार हुने अनुमान भइरहेको बेला सरकारले नीति तथा कार्यक्रम कृषि र रोजगारीलाई प्रथामिकतामा राख्नु राम्रो पक्ष भएको युवा तथा श्रमविज्ञहरु बताउँछन् । नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई समेटेर ल्याइएका कार्यक्रमले रोजगारी सिर्जना गदै तत्काल बेरोजगारी समस्या समाधान गर्ने विज्ञहरु  बताउँछन् । तर सरकारले यस पक्षलाइ कसरी सम्बोधन गरि कार्यान्वयन गर्छ त्यो चाहिँ पर्ख र हेरको अबस्थामा छ ।
 
सरकारले श्रम सूचना बैकमार्फत रोजगारी र कस्ता क्षेत्रमा श्रमिकको माग भइरहेको छ भन्ने थाहा हुन्छ । वैदेशिक रोजगारीबाट फर्किएका प्राय सबै सिप भएका जनशक्ति छन् । कोरोनापछि सरकारले कृषि, श्रम र रोजगारीलाई अवसरका रुपमा लिनुपर्छ । यी क्षेत्रले अर्थतन्त्रमा ठुलो सहयोग पुग्छ । कुषिले रोजगारीसँग उत्पादन समेत बढाउँछ । कृषिमा निर्भर भए रोजगारीमा समस्या हुँर्दैन ।’ १० वर्षमा  कृषि उत्पादनलाई दोब्बर बनाए ३ गुणा रोजगारी बृद्धि हुने बिज्ञहरु बताउछन् । यसैगरी, शैक्षिक बेरोजगार युवालाई शिक्षाअनुसार देशभित्र सञ्चालन भएका विभिन्न प्रोजेटमा रोजगारी दिने विषयलाई सरकारले नीति तथा कार्यक्रममा समेटनु राम्रो पक्ष भएको श्रम तथा रोजगारविज्ञहरु बताउँछन् । सरकारले नीति तथा कार्यक्रममा भने जस्तो कार्यान्वयनबाट  संम्बोधन गर्‍यो  भने तत्काल रोजगारी क्षेत्रमा आउन संकट टार्ने रोजगारविज्ञ बताउँछन् ।
 
‘सरकारले  नीति तथा कार्यक्रममा  र बजेटले भने जस्तो कृषि र श्रम क्षेत्रका विषय कार्यन्वयन भए भन्ने १० लाख रोजगारी सिर्जना समस्या हुदैन । नीति कार्यक्रममा आएका रोजगारी, श्रम र कृषि विषय राम्रा छन् । यस्ता विषयले कृषिमा उन्नति, आयस्रोत र रोजगारी जस्ता समस्या आफै हल हुन्छन् । कोरोनापछि नेपालमा सबैभन्दा ठुलो समस्या बेरोजगारीदर नै हो । कृषिमा लगानी गर्दा रोजगारी सिर्जना हुन्छ । रोजगारीले उद्यमी उत्पादन गर्दै  जान्छ । यस्तो भयो भने अर्थतन्त्रलाई समेत महत्वपुर्ण सहयोग हुन्छ ।’ नेपालमा कति श्रमिक छन् भने सरकारसँग तंथ्याक छैन । विदेशबाट फर्कन धेरै श्रमिक कृषिमा काम गरेर आएको हुन्छन् । उनीहरुको सिपका आधारमा उद्यमी र व्यवसाय गर्ने वातावरण सरकारले बनाइदिनु पर्छ ।  सरकारले उद्यम सुरु गर्न चाहनेहरुलाई क्षमता विकास, बजार पहुँच लगायतका कामका लागि सहयोगी हुने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । रोजगारसँग सम्वन्धित कार्यक्रमहरु सवै प्रदेशहरुमा विस्तार गरिने पनि समेत बताइएको छ । 
 
सरकारले व्यापक रुपमा रोजगारीका अवसरहरु सिर्जना गर्ने भन्दै युवालाई रोजगारीका लागि कृषि, साना तथा मझौला उद्योग, निर्माण तथा सेवा क्षेत्रमा परिचालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । सरकारले देशभित्र रोजगारीका लागि अध्ययन गरिरहेको र विदेशबाट फर्किएका कामदारलाई सरकारले प्रदेश, स्थानिय र केन्द्रीयस्तरबाट रोजगारी दिने बताइएको छ । 
 
सरकारले बेरोजगारी कोही भोकै नपर्ने र भोकले कोही नमर्ने गरी रोजगारीको सुनिश्चितताका लागि कार्यक्रम समेत ल्याउने भनिएको छ। यस्तो अबस्थामा झन यस्को महत्त्व बढेर गएको छ। कृषिप्रधान देश भएर पनि अर्बौंको कृषिजन्य बस्तु आयातित गर्नु  परेको छ। भोलिका दिनमा कृषिजन्य बस्तु आयातमा सहजीकरण भएन भने भोकमरी आउने सम्भावना हुन्छ जस्को लागी आन्तरिक उत्पादनमा तत्काल राम्रो गर्न उपायको खोजी गर्नु हितकर होला। जस्ले आम बेरोजगार युवापनी रोजगारमा आवद्ध हुने अर्कोतिर भोलि खाधान्न अभाव बाट  हुने भोकमरी समस्याबाट छुटकारा पाउन सकिन्छ ।
 
कोरोनाबाट प्रभावित समुदायलाई सरकारले विशेष खाद्यान्न, शिक्षा, स्वास्थ्य र जनजीविकोपार्जनका क्षेत्रमा विशेष कार्यक्रम ल्याउन बताइएको छ । कोरोना भाइरसबाट प्रभावित वेरोजगार श्रमिक, गरिब किसान तथा विपन्न वर्गलाई लक्षित गर्दै  सरकारले यस  वर्षको बजेटमा विशेष नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै कृषि क्षेत्रमा रोजगारीलाई मध्येनजर गरे धेरै कार्यक्रम ल्याइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषिमा युवा सहभागिता, सरकारले कृषिका सामाग्री किन्ने दिने, कृषि प्रशोधन केन्द्र स्थापना, फलफुल उत्पादन गर्ने, र्चौपया पालन, मासु उत्पादनमा सरकारले सहुयलित सुविधा दिने र कृषिमा निर्भर हुन लगानी गर्ने विषय  कार्यक्रममा उल्लेख छ। आगामी दिनमा बेरोजगार युवालाई ब्यबस्थापन गर्न उल्लेख गरिएका कार्यक्रम तत्काल लागू गर्नु पर्ने देखिन्छ। नेपालमा झन कृषिपर्यटन जोड्न सक्यो भने झन उल्लेखनीय प्रगति हासिल हुन सक्ने बिज्ञहरु बताउँछ। यो क्षेत्रमा झन प्रचुर सम्भावनाको खानी नेपालमा भेट्टाउन सकिन्छ। तत्काल यो क्षेत्रलाई सम्बोधन गर्ने कार्यक्रम ल्याउदा राम्रो हुने देखिन्छ ।
 
सरकारले बेरोजगारी कोही भोकै नपर्ने र भोकले कोही नमर्ने गरी रोजगारीको सुनिश्चितताका लागि कार्यक्रम समेत ल्याउन भनेको छ । तर अहिलेको अवस्था चित्रण हेर्दा सरकार आफै कोरोना प्रभाव रोकथाम गर्न मात्र तल्लीन भएको जस्तो देखिन्छ। कोरोना प्रभावबाट हुने कठिन सिर्जित अवस्थालाई कसरी सम्बोधन गरि यसबाट अर्थतन्त्रलाइ माथी उकास्ने हो। अब बेरोजगार युवालाई कुन क्षेत्रमा ब्यबस्थापन गर्ने हो। ब्यबस्थापन गर्ने क्षेत्र कुन हो यथार्थ एजेन्डा मार्ग प्रस्तुत गर्न सकेको छैन। खाली नीति नीति तथा कार्यक्रम केही सम्बोधन कुरा ल्याएर कर्मकाण्ड पूरा गर्न सरकारलाई छुट छैन ।
 
सरकारले निति तथा कार्यक्रम र बजेट मार्फत जुन सम्बोधन गर्ने कार्यक्रम ल्याएको छ आजसम्मको परिस्थिति हेर्दा कार्यान्वयन चरण एकदमै फितलो छ। यस्तो परिस्थितिमा जुन जोड्बलका साथ कार्यान्वयन गरि आमनागरिकलाई राहत भएको महसुस गराउनु  पर्ने हो त्यो बाट  चुकेको स्पष्ट देख्न सकिन्छ। खाली भाषण र कागजी कार्यक्रमले अहिलेको परिस्थिति सामना गर्न सकिदैन ,तेसैले अहिलेको परिस्थितिमा ल्याइएका कार्यक्रम कार्यान्वयन तिव्रता लैजाओस। आगामी दिनमा सरकार आमनागरिक मिलेर जटिल परिस्थितिको सामना गर्नुको विकल्प छैन ।

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]