July 26th, 2016

आँखुखोला जलविद्युत् कम्पनीको २० लाख कित्ता आईपीओ आउँदै

ipoआँखुखोला जलविद्युत् कम्पनीले २० करोड रुपैयाँ बराबरका २० लाख कित्ता साधारण शेयर जारी गर्ने भएको छ । प्रतिशेयर १०० रुपैयाँ रहने कूल शेयरहरुमध्ये ८ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि छुट्याइने भएको छ । बाँकी रहेको शेयरमा कम्पनीका कर्मचारी, सामुहिक लागनी कोष र सर्वसाधरणले आवेदन दिन पाउनेछन् । 

इक्रा नेपालले कम्पनीलाई ग्रेड ५ रेटिङ प्रदान गरेको छ । २०१५ मा कम्पनी ७ करोड ७० लाख नोक्सानमा रहेको ईक्रा नेपालले उल्लेख गरेको छ । कर्जाको व्याजदर भुक्तानीले नाफामा प्रभाव पारेको हो । कम्पनीबाट उत्पादन हुने विद्युत हाल सुख्खा यामको लागि प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्खा यामको लागि प्रतियुनिट ४ रुपैयाँ ८० पैसा हुने गरि पछिल्लो विद्युत खरिद सम्झौता भएको छ । यो दर केही वर्षसम्म वार्षिक रुपमा ३ प्रतिशतको दरले वृद्धि हुने छ ।

कम्पनीले बैंक कर्जा घटाउन आईपिओ जारी गर्न लागेको जनाएको छ । आईपिओबाट उठेको रकममध्ये ८० प्रतिशत कर्जा तिर्नको लागि प्रयोग गरिने भएको छ । कम्पनीले धादिङको सल्यानकोट र मार्पाक गाविसमा ८.४ मेघावाटको आँखुखोला आयोजना सञ्चालन गरिरहेको छ ।