नेपाल बैंकको खुद नाफा दुई अर्ब ५५ करोड माथि

बैंकिङ खबर । नेपाल बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले दुई अर्ब ५५ करोड ६४ लाख रुपियाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले दुई अर्ब ५९ करोड ६७ लाख खुद मुनाफा कमाएको थियो ।
यस्तै, अघिल्लो वर्ष चार अर्ब ५१ करोड रुपियाँ रहेको बैंकको सञ्चालन नाफा तीन अर्ब ५६ करोड ६४ लाख रुपियाँ रहेको छ । बैंकको चुक्ता पुँजी ११ अर्ब २८ करोड २८ लाख रहेको छ भने जगेडा कोषमा १२ अर्ब ९८ करोड ५४ लाख रुपियाँ, सेयरधनी कोषमा चार अर्ब १२ करोड ५० लाख रुपियाँ र सेयर प्रिमियममा एक अर्ब ७८ करोड ८७ लाख रुपियाँ सञ्चित छ ।
बैंकको ब्याज आम्दानी पाँच अर्ब ६१ करोड ८९ लाख रुपियाँ छ । गत असार मसान्तसम्ममा बैंकले एक खर्ब ४२ अर्ब ११ करोड ४२ लाख रुपियाँ निक्षेप सङ्कलन गरी एक खर्ब सात अर्ब ८१ करोड रुपियाँ कर्जा लगानी तथा ३२ अर्ब अन्य लगानी गरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २२ रुपियाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ २६७ रुपियाँ ५० पैसा रहेको जनाइएको छ । बैंकको खराव कर्जा अनुपात २.५९ प्रतिशत छ । निक्षेप कर्जा अनुपात ६५ प्रतिशत छ । बेसरेट ६.९९ प्रतिशत छ भने स्प्रेडदर ३.७० प्रतिशत रहेको छ ।


सोसिअल मेडिया