मेगा बैंक नेपाल लिमिटेडले २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । त्यसका लागि औपचारिक प्रक्रिया अगाडि बढिसकेको बैंकका सीईओ अनिल केशरी शाहले बताए । साथै, उनले राष्ट्र बैंकको नियमानुसार संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण गरिएको समेत जानकारी गराए ।
बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले मेगा बैंकलाई अब संघीय संरचना अनुसार लैजाने घोषणा गरे । बैंकको सातौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले उपत्यकाबाहिरका ग्राहकहरुलाई लक्षित गर्दै बैंकले वुटवलमा क्षेत्रीय कार्यालय स्थापना गरिसकेको जानकारी दिए । साथै, संघीयताको कार्यान्वयनसँगै मेगा बैंकलाई संघीय संरचनामा लैजाने गरि गृहकार्य भइरहेको समेत उनले बताए ।
हलोदेखि हाइड्रोसम्म भन्ने नारा बमोजिम मेगा बैंकले साना मझौला व्यवसाय (एसएमई) र लघुबित्तलाई प्राथमिकतामा राख्दै आएको छ । गत आर्थिक बर्षमा निक्षेप संकलन १० अर्ब बढेर ३१ अर्ब पुगेको छ । यसैगरी, कर्जा प्रवाह २८ अर्ब पुगेको छ । ग्राहक संख्या पनि झण्डै एक लाख बढेको जानकारी दिइएको छ । कर्जाको औसत आकार २५ लाख ५० हजार र निक्षेपको १ लाख ४४ हजार रहेको छ ।
मेगा बैंकले गत आर्थिक बर्षमा अछाम र डडेल्धुरामा शाखा विस्तार गरेको छ । चालु आर्थिक बर्षमा पनि राजधानीसहित बैंकिङ सेवा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक सेवासहितको शाखा विस्तार गर्ने योजना सहित सम्भाव्यता अध्ययन भइरहेको बैंकले जनाएको छ ।