२०७३ श्रावण ८ गते

विदेशबाट भित्रिने रेमिट्यान्स कुन क्षेत्रमा कति खर्च हुन्छ (हेर्नुस् रिपोर्टमा)

remittanceविभिन्न अनौपचारिक तथ्याङकलाई आधार मान्ने हो भने, नेपालबाट रोजगारीका लागि विदेशिएका नेपालीको संख्या झण्डै ४० लाख छ । यद्यपी सरकारी तथ्याङकले झण्डै ३५ लाख नेपाली रोजगारी तथा अध्ययनका लागि श्रम स्वीकृति लिएर विदेशिएको जनाएको छ । ती नेपालीहरुले बार्षिक खरबौँ रकम कमाएर नेपाल पठाउने गरेका छन्  । हुन पनि कुल जिडिपीको झण्डै ३० प्रतिशत योगदान रेमिट्यान्सले गरेको छ । यद्यपी पछिल्ला वर्षमा धेरै अर्थशास्त्री र नीतिनिर्माताले पनि रेमिट्यान्स नेपाली अर्थतन्त्रको क्षमता अभिवृद्धिका लागि उपयोग हुन नसकेको बताउँदै आएका छन् । रेमिट्यान्सले नेपालीको औसत क्रयशक्ति बढे पनि उपभोगमात्रै बढाएको तर्क उनीहरुले अघि सार्दै आएका छन् । यस्तै बहसकाबीच नेपाल राष्ट्र बैकले गरेको एक अध्ययनले विदेशमा रहेका नेपालीहरुको कमाएर पठाएको रेमिट्यान्स केका लागि कति खर्च हुन्छ भन्ने तथ्य देखाएको छ । हेरौँ विदेशबाट आएको रकम कहाँ कति खर्च हुन्छ ?

बचतमा कति खर्च हुन्छ ?
सो अध्ययनले विदेशमा काम गरिरहेका नेपालीले घर पठाउने रेमिट्यान्समध्ये २८ प्रतिशत रकम तिनका परिवारले बचत गर्ने गरेको देखाएको छ । यसअघिका अध्ययनहरूले रेमिट्यान्सको ठूलो हिस्सा दैनिक उपभोगमै खर्च हुने गरेको देखाएका थिए  । गत वर्ष सार्वजनिक भएको तेस्रो घरपरिवार सर्वेक्षण (नेपाल लिभिङ स्ट्यान्डर्ड सर्भे) ले पनि विप्रेषणको ७९ प्रतिशत रकम दैनिक उपभोगमा खर्च हुने गरेको देखाएको थियो ।

ऋण तिर्न कति खर्च ?
राष्ट्र बैंकको अध्ययनले विदेशमा कमाएको मध्ये २५ दशमलव ३ प्रतिशत रकम ऋण तिर्न प्रयोग हुने गरेको छ । अध्ययनअनुसार छिमेकी भारत, खाडी मुलुकसहित पश्चिमा मुलुक, अस्ट्रेलिया र जपानजस्ता सम्पन्न राष्ट्रमा अध्ययन र रोजगारीका लागि जाने नेपालीले कमाएको एक चौथाइ रकम ऋण तिर्नमै बढी प्रयोग हुने गरेको अध्ययनले देखाएको छ ।

दैनिकउ उपभोग्य बस्तुमा कति ?
राष्ट्र बैंकको अध्ययनले विदेशबाट कमाएर घर पठाएको पैसामध्ये २४ प्रतिशत रकममात्रै दैनिक उपभोगमा खर्च हुने गरेको देखाएको छ ।

घरायसी खर्च कति ?
राष्ट्र बैंकको अध्ययन अनुसार प्राप्त रुपैयाँमध्ये २३ प्रतिशत रकममात्रै स्वास्थ्य, शिक्षा र घरायसी गर्जो टार्नमा खर्च हुने गरेको छ । अध्ययनका क्रममा गरिएको सोधमा  उत्तरदाताहरुले शिक्षा, स्वास्थ्यसहित अन्य घरायसी खर्चमा रेमिट्यान्स रकमको २३ प्रतिशतमात्रै खर्च गर्ने गरेको बताएका थिए ।

रेमिट्यान्सबारे नयाँ ढंगको बहस आवश्यक
नयाँ अध्ययनले रेमिट्यान्स आयको सबैभन्दा ठूलो हिस्सा बचत भइरहेको देखाएपछि अर्थतन्त्रमा रेमिट्यान्सको योगदानलाई लिएर नयाँ ढङ्गले बहस गर्नुपर्ने राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए ।  

राष्ट्रिय बचतको अनुपात उच्च
सरकारले गत महिना जारी गरेको आर्थिक सर्वेक्षणले कुल गार्हस्थ उत्पादन (जिडिपी)मा कुल गार्हस्थ बचतको अंश ५.३ प्रतिशत रहेको बताएको छ, तर जिडिपीमा कुल राष्ट्रिय बचतको अंश ४२.९ प्रतिशत छ । रेमिट्यान्सबाट प्राप्त रकम उपभोगमा खर्च भएर बचेकाले राष्ट्रिय बचतको अनुपात उच्च देखिएको राष्ट्र बैंकका अधिकारीहरुको भनाई छ ।