२०७७ असार ३१ गते

वित्तीय साक्षरता आजको आवश्यक्ता

-उदिप लुइटेल

नेपालको जनगणना २०६८ अनुसार ६५.९ प्रतिशत मानिसहरु साक्षर छन् तर हालसम्म वित्तीय साक्षर जम्मा १९ प्रतिशतमा सिमित छ, के फरक छ त साक्षर र वित्तीय साक्षरमा ? साक्षर भनेको साधारण लेखपढ गर्न जान्ने भन्ने बुझिन्छ तर वित्तीय साक्षर भनेको पैसा सम्बन्धि शिक्षा हो । सामान्य रुपमा भन्नु पर्दा कमाएको पैसा बाट आवश्यक पर्ने खर्च गरेर बाँकी रहेको पैसालाई कसरी सुरक्षित रुपमा जोगाउने र भविष्यमा सहि सदुपयोग गर्ने भन्ने कुरा वित्तीय साक्षरता अन्तर्गत पर्दछ । कुनै पनि व्यक्तिमा यस्तो चेतना भए–नभएको मापन गर्ने विधि हुँदैन तर व्यवहारबाट भने त्यसको आँकलन सजिलै गर्न सकिन्छ । बैंक तथा वित्तीय संस्थाहरूको कारोबारको आकार र प्रवृत्तिले पनि वित्तीय मुलुकमा साक्षरताको स्थिति अनुमान गर्न सकिन्छ । मुलुकलाई आर्थिक रुपमा सम्पन्न गराउन वित्तीय साक्षरता अभियानलाई व्यापक बनाउनुपर्ने समय आएको छ।

वित्तीय साक्षरता कसका लागी
संघीयतापछि राष्ट्र बैंकले बैंकिङ्ग सेवा नपुगेका स्थानीय तहमा वाणिज्य बैंकहरुले अनिवार्य शाखा विस्तार गर्नुपर्ने निती बनाएपछि गाउँमा बैंकहरु पुगेका छन्। हालसम्म ७५३ स्थानीय तह मध्ये ७४६ स्थानिय तहमा बैंक तथा वितिय संस्थाको पहुच रहेको देखिन्छ। नेपाल सरकारले पनि “समृद्ध नेपाल सुखी नेपाली” नाराको साथ एक नेपाली एक वचत खाता सन्चालनमा ल्याएको छ । हुनत बैंकमा निक्षेप खाता खोलिँदैमा व्यक्तिलाई पूर्णरूपमा वित्तीय साक्षर भएको मान्न सकिँदैन । यो त वित्तीय साक्षरताको प्रारम्भिक चरण मात्र हो । आफूसँग भएको नगद सुरक्षित गर्न वा व्याज आर्जन गर्ने उद्देश्यले बचत खाता खोल्न सकिन्छ । बैंक तथा वित्तीय संस्थामा खोलिएका निक्षेप खाताको संख्या एक करोड ८० लाख पुगेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ, जुन कुल जनसंख्याको ६१ प्रतिशत हो । शिक्षाको नै अभाव भएका सर्वसाधारणहरुलाई पहिले बैंकबारे बुझाउनु आवश्यक छ । फरक–फरक समूहका लागि फरक–फरक प्रकृतिको वित्तीय साक्षरता अभियान चलाउनु पर्ने खाँचो छ । अहिलेको अवस्थामा नेपालको जनसंख्यालाई तिन भागमा बिभाजन गरेर हेरौ ।

पहिलो समुह:
अशिक्षित र अर्धशिक्षित
यो यस्तो समूह हो जसलाई हामीले आम्दानी, खर्च र बचतका आधारभूत पक्ष देखि नै सिकाउनु पर्ने हुन्छ । रेडियो, टेलिभिजनबाट चलाइने जनचेतना मुलक वित्तीय साक्षरताका कार्यक्रमले यिनलाई कुनै प्रभाव पार्दैन। नेपालमा हाल लगभग प्रत्यक स्थानिय तहमा बैंक तथा वितिय संस्थाहरु पुगेका छन । यस बर्गका मनिसलाई गाउँमै गएर समूह बनाएर कुन–कुन माध्यमबाट आम्दानी हुन्छ, आम्दानी बढाउन के के गर्न सकिन्छ, खर्च घटाउने उपाय के के हुन सक्छ ? आम्दानी कसरी बढाउन सकिन्छ ? भन्ने विषयमा सचेतना कार्यक्रम सन्चालन
गर्नुपर्छ । बचतका कुरा मात्र होइन, ऋणका विषयमा पनि सचेतना बढाउनु पर्ने खाँचो छ । ऋण के हो ? किन लिने ? ब्याजदर कसरी निर्धारित हुन्छ ? किस्ता भनेको के हो ? बैंक तथा वितिय संस्थाहरूबाट लिने ऋण र व्यक्तिहरुबाट लिने ऋणको ब्याज संरचना फरक–फरक हुन्छ । ऋणको किस्ता वा ब्याज भुक्तानीको तालिका र संरचना पनि फरक हुन्छ । गाउँघरको चक्रवर्ति ब्याजले उठिबास लागेको त सुनिन्छ। त्यसैले बैंक तथा वित्तीय  संस्थाहरु बाट ऋण लिँदाका फाइदाहरुको विषयमा समेत यो समूहमा सु-सूचित गराउनु पर्छ ।

दोस्रो समुहः

विद्यालय स्तरका र शिक्षित समुह
हाम्रो विद्यालय एवम् विश्वविद्यालय शिक्षाको पाठ्यक्रम समयानुकूल परिमार्जन हुँदै गएको छ, तर अझै प्रभावकारी बन्न सकेको छैन । यदि विद्यालय स्तरमै वित्तीय साक्षरताको पाठ्यक्रम समावेश गर्ने हो भने त्यसले विद्यार्थीको भविष्यको बचत वा लगानीलाई सुरक्षित तुल्याउँछ । हाम्रो वित्तीय क्षेत्र अझै बलियो हुन नसक्नुको मूल कारण युवा वर्गमा वित्तीय साक्षरताको कमी हुनु हो । अशिक्षित वा अर्धशिक्षित मात्र होइन, शिक्षित युवामा समेत बचत, लगानी र ऋणबारे उपयुक्त ज्ञानको अभाव देखिन्छ । विद्यालयमाथि विश्वविद्यालय
तहसम्म अध्ययनरत युवाहरूका लागि वित्तीय योजनाबारे सचेतना अभिवृद्धि गराउनु पर्ने खाँचो छ ।

तेश्रो समुह :
वैदेशिक रोजगारका आप्रवासी र तिनका परिवार :
विदेशबाट पठाएको रकम आफ्नो तथा आफ्नो परिवारजनको खातामा सिधै जम्मा गर्न सकिने भएको छ, जसबाट आवश्यक रकम झिक्ने र अन्य रकम वचत भइ बस्ने र त्यस्ता रकमहरु बैंक तथा वित्तीय संस्थाहरुले उधम गर्नेहरुलाई कर्जाको रुपमा प्रादन गर्ने गर्दछ, जस्ले गर्दा युवा स्वरोजगार कार्यक्रमलाई थप टेवा पुराउदछ ।

वित्तीय साक्षरताको महत्व
नेपालको कुल जनसंख्यामध्ये वित्तीय हिसाबले साक्षर जनसंख्या कम छ। नेपालको वित्तीय साक्षरताको दर करिब १९ प्रतिशत मात्र देखिन्छ। जबकि नर्वे, डेनमार्क, स्विडेन जस्ता देशमा ७१ प्रतिशत रहेको छ। दक्षिण एसियाको सन्दर्भमा सोही तथ्यांकले भुटानको वित्तीय साक्षरता दर ५४, श्रीलंकाको ३५, चीनको २८,भारतको २४ देखाइएको छ। यी सबैको तुलनामा नेपालको वित्तीय हिसाबले साक्षर जनसंख्या न्यून देखिन्छ। यो अवस्थाले पनि वित्तीय साक्षरताको क्षेत्रमा राज्यका नीतिगत तह तथा कार्यान्वयनको तहमा काम गर्ने सबै निकाय तथा संघ संस्थाले वित्तीय सचेतनाको क्षेत्रमा ठूलै अभियान सञ्चालन गर्नुपर्ने विषयलाई उजागर गर्छ।
वित्तीय साक्षरताको महत्वहरु :
१) रोजगारी सिर्जना गर्न।
२) जनताको आर्थिक अवस्थामा सुधार ल्याउन।
३) देशको शोधान्तर वचतमा वृद्धि गर्न।
४) विभिन्न नयाँ प्रविधिहरुको प्रयोग गरी मुद्रा प्रयोग गर्दा हुने जोखिम कम गर्न।
५) सरकारले प्रदान गर्ने विभिन्न किसिमको भत्ताहरु बैंकहरुबाट सजिलै पाउन।
६) बचत गर्ने बानीको विकास गर्न।
७) बैंक तथा वितिय संस्थाहरु बाट हुनसक्ने आनियमितालाई न्युनिकरण गर्न ।

कसरी बढाउने वित्तिय साक्षरता :

१) वचतको महत्वको बारेमा सर्वसाधारणलाई चेतनमुलक कार्यक्रम सन्चालन गर्ने ।
२) वचत गर्दा बैंक तथा बितिय संस्थाहरुमा मात्र वचत गरी चोरी, आगलागी बाट हुनसक्ने क्षतीलाई न्युनिकरण गर्ने।
३) आजसम्मको अध्ययनबाट बैंक कर्जा सरल, सस्तो रहेको पाइएकाले बैंकबाट कर्जा लिन सर्वसाधारणलाई प्रोत्साहन गर्ने ।
४) हामीले गर्ने अधिकान्स खर्चको एक तिहाइ अनावश्यक खर्च भइेरहेको हुन्छ तेस्को पहिचान गर्न सिकाउने र आय र आम्दनीको निस्चित प्रतिशत वचतको लागि छुटाउने ।
५) कर्जाको महत्व बुझाउने बजारमा के-कस्ता कर्जा सुविधा छन्, त्यो सुविधा प्राप्त गर्न के-कस्ता प्रक्रिया पुरा गर्नुपर्छ, के-कति सेवा शुल्क, ब्याज तिर्नुपर्छ, कहाँबाट कर्जा लिँदा कति लागत पर्छ, चुक्ता गर्ने प्रक्रिया कस्तो छ, आदि ।
६) बैंकका सेवा–सुविधा र त्यसमा लाग्ने शुल्क आदिबारे बैंकहरूले ग्राहकलाई सेवा आरम्भ गर्दादेखी नै बुझाउने। यस्को निम्ति नागरिक बडापत्र तयार गर्ने र आमग्राहकले बुझ्ने भाषामा ठूलो अक्षरमा लेखिदिनुपर्छ ।
७) बैंकहरूले सामाजिक उत्तरदायित्वको रुपमा आफ्ना ग्राहकलाई सामान्य लेखपढ गर्न सक्ने (साक्षर) बनाउन प्रौढ कक्षा सञ्चालन गर्न सके यसले वित्तीय साक्षरतामा ठूलो योगदान पुर्याउन मद्धत गर्दछ ।

लेखक हाल नेपाल बैंक लिमिटेडमा कार्यरत हुनुहुन्छ ।