July 14th, 2020

लघुवित्तको मर्जरमा तिब्रता : कुृनकुन मर्जर भए ? कुनकुन हुँदैछन् ?

बैंकिङ खबर । नयाँ लघुवित्त खुल्ने क्रमसँगसँगै लघुवित्तहरु मर्जरमा जाने क्रम पनि तीव्र रुपमा अघि बढिरहेको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मर्जरमा जाने लघुवित्तलाई विभिन्न सुविधा दिने घोषणा गरेको थियो । अधिकांश लघुवित्तहरु मर्जरमा जादैछन् । केही प्रक्रियामा छन् भने केही पार्टनरको खोजीमा छन् ।

किसान माइक्रोफाइनान्स, एनआरएन लघुवित्त र दिव्य लघुवित्त मर्जर भई एनआरएन लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको छ । २० करोड ९२ लाख रुपैंया चुक्ता पूँजी भएको एनआरएन लघुवित्त, १० करोड ६६ लाख रुपैंया पूँजी भएको किसान र ७ करोड ७० लाख रुपैंया पूँजी भएको दिव्य लघुवित्त एक आपसमा मर्जरमा गएका हुन् । तीन वटै लघुवित्तले बराबर अनुपातमा मर्जरको स्वीकृति लिएका थिए । नयाँ लघुवित्तको अधिकृत पूँजी १ अर्ब, जारी पूँजी ५२ करोड पुगेको छ । नयाँ संस्थामा प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार शाह रहेका छन् । यसअघि एनआरएनले रामारोशन लघुवित्त र क्रिएटिभ लघुवित्तलाई मर्ज गरेको थियो । धौलागिरी लघुवित्त र आँधीखोला लघुवित्त पनि मर्जर प्रक्रियामा छन् ।

उन्नति माइक्रोफाइनान्स र सहकार्य माइक्रोफाइनान्सको मर्जर पछि उन्नती सहकार्य लघुवित्तको नामबाट संयुक्त कारोबार भइसकेको छ ।

यस्तै आरम्भ लघुवित्त र चौतारी लघुवित्त वित्तिय संस्थाले एकीकृत कारोबार सुरु गरेका छन् । हालै बनेपामा एक औपचारिक कार्यक्रम गर्दै एकीकृत कारोबार सुरु गरिएको हो । उनीहरुले आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् । उक्त दुई लघुवित्त बीच २०७६ जेठ २२ गते नै मर्जर सहमति भएको थियो । नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त बीच पनि मर्जर सम्झौता भएको छ । स्वरोजगार लघुवित्तले जनकपूर लघुवित्तलाई गाभ्ने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा सम्झौता भएको छ । दाङको महिला सामुदायिक लघुवित्त र पोखराको जाल्पा लघुवित्तले पनि मर्जर सम्झौता गरेका छन् । मर्जरपछि बुटवलमा केन्द्रीय कार्यालय राखी राष्ट्रिय स्तरको कारोबार गर्ने लघुवित्तको योजना छ । सूर्यादय लघुवित्त र त्रिलोक लघुवित्त मर्जर प्रकृयामा छन् । 

पार्टनरको खोजीमा दर्जनौँ लघुवित्त

स्वस्तिक लघुवित्त, मिथिला लघुवित्त, मिर्मिरे लघुवित्त, स्पर्श लघुवित्त लगायत मर्जरको प्रकृयामा छन् । त्यसैगरी घरेलु लघुवित्त, आशा लघुवित्त लगायतले पनि मर्जरको बाटो खोजेका छन् । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार ८९ वटा लघुवित्त वित्तीय संस्था संचालनमा छन् । जसमध्ये केही लघुवित्तको मर्जर प्रक्रिया पुरा भइसकेको छ । कालिका लघुवित्त र जनसेवी लघुवित्त मर्जरपछि एकीकृत कारोबार सुरु गरिसकेका छन् । वोमी माइक्रोफाइनान्स र नागरिक लघुवित्तको पनि मर्जरपछि एकीकृत कारोबार सुरु भइसकेको छ । यसबाहेक, दर्जनबढी लघुवित्त मर्जर प्रक्रियामा छन् भने दर्जनौँ लघुवित्त मर्जरमा जानका लागि छलफल गर्दैछन् ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]