July 19th, 2016

नेपालका बैंकमा १६.८ महिनाको वस्तु आयात धान्ने विदेशी विनिमय सञ्चिति 

foriegn currencyगत आर्थिक वर्षको ११ महिनामा विदेशी विनिमय सञ्चिति १० खर्ब २१ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । यस्तो सञ्चिति अघिल्लो आर्थिक वर्षको तुृलनामा २४ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको ११ सोही अवधिमा ८ खर्ब २४ अर्ब ६ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ८ खर्ब ६९ अर्ब ३२ करोड रुपैयाँ रहेको छ जुनअघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा २३.६ प्रतिशतले बढी हो । बाँकी १ खर्ब ५२ अर्ब ४२ करोड विदेशी विनिमय सञ्चिति राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको छ, जुन ०७२ असार मसान्तको तुलनामा २६ प्रतिशतले बढी हो । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २१.९ प्रतिशत रहेको छ । 

अघिल्लो आर्थिक वर्षको अन्त्यको तुलनामा गत आर्थिक वर्षको ११ महिनासम्ममा कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात बढेपछि विदेशी विनिमय सञ्चितिमा वृद्धि देखिएको हो । राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४५.४ प्रतिशत, ११९ प्रतिशत र ४७.७ प्रतिशत रहेका छन् । २०७२ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ३८.९ प्रतिशत, ९३.३ प्रतिशत र ४३.९ प्रतिशत रहेका थिए । समीक्षा अवधिको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६.८ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।