सामान्यतया कुनै एक स्थानबाट कुनैपनि प्रयोजनकोलागि अर्को स्थानसम्म पैसा पठाउनेकार्यलाई रेमिटेन्स भनिन्छ । रेमिटेन्सको अर्थ आप्रबासिहरुले आफ्नो देशमा आफ्नो परिवारजनहरुलाई पठाएको पैसा हो । रेमिटेन्स नेपाली अर्थतन्त्रको मेरुदण्ड हो भन्ने समाचार कहिलेसम्म सुन्ने र? सन १८१५ को दशक देखी भारतीय र बेलायती सेनामा भर्ती भएका नेपालीहरुले देशभित्र रकम पठाउन थालेपछि नेपालमा रेमिटेन्स भित्रिने परम्पराको सुरुवात भएको अनुमान गर्न सकिन्छ तर हाल आएर वैदेशिक रोजगारीका निम्ति हजारौ देशका युवाहरु विदेश पलायन भईरहेका छन् ।
हाल विश्वमा करिब ४० लाख भन्दा बढि नेपाली वैदेशिक रोजगारिमा छन् । वैदेशिक रोजगारिको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०५०/५१मा ३,६०५ नेपालीलाई वैदेशिक रोजगारिको लागि श्रम स्विकृत प्रदान गरिएको देखिन्छ । यो सख्या क्रमश वृद्धि हुँदै आर्थिक बर्ष २०७० र ७१ मा अधिकतम ५,२७,८१४ पुगेको थियो । नेपालमा रेमिटेन्स आप्रवाहको तथ्याङ हेर्दा आर्थिक बर्ष २०६५/६६ मा रु २०९ अर्ब रेमिटेन्स आप्रवाह रहेकोमा यस्तो आप्रवह क्रमश वृद्धि हुँदै आर्थिक बर्ष २०७५/७६ मा रु ८७९ अर्ब पुगेको छ । वैदेशिक रोजगारीको लागी प्रमुख गन्तब्यको रुपमा खाडी मुलुकहरु कतार, मलेशिया, साउदीअरब, इजराएल, बहराइन, यु.ए.इ हुन्, जसबाट कुल बैदिशिक रोजगारिको ७५.३ प्रतिशत हिस्सा ओगटेको छ ।
गाँउमा हेर्ने हो भने लाग्छ युवा निषेधित क्षेत्र हो आखिर कहिले सम्म त ?
रेमिटेन्स आप्रवाह हुने क्रम बढ्दो अवस्थामा रहेतापनी विकासका कामहरु सोचेअनुरुप अगाडी बढ्न सकेको छैन । रेमिटेन्स प्राप्त गर्ने परिवारले त्यसको प्रयोग कसरी गरिरहेको छ, के त्यस रकम उत्पादनशील क्षेत्रमा लगानीभइरहेको छ भन्ने कुराको राम्रो अध्ययन हुनुपर्ने हो तर बिडम्बना नेपाल सरकारबाट यो हुन सकेको छैन । निर्यात ब्यापार नबढनाले रेमिटेन्सको उपयोग राम्ररी रोजगार मुलक क्षेत्रमा भइरहेको छैन भन्ने बुझिन्छ । विलासिन सामानहरुको आयत दिनप्रतिदिन बढदो अवस्थामा छ यसक्रमलाई नितीको अभाव भनौ वा मानिसमा चेतनाको कमि भनौ। रेमिटेन्स अल्पकालिन रुपमा फाईदा भएतापनि दिर्घकालिन रुपमा यसका बेफाईदाहरु धेरै छन् ।
रेमिटेन्सका फाईदाहरु
रेमिटेन्सले नै गर्दा गरिबी निवारणमा सहयोग पुर्याएको छ। बिश्व बैंकको तथ्याङ्क अनुसार सन् २००३/०४ मा ३०.४ प्रतिशत गरिबीको रेखामुनी थिए तर सन् २०११/१२ मा आइपुग्दा २५.२ प्रतिशतमा आउनुको प्रमुख कारण वैदेशिक रोजगारी नै हो। यदि वैदेशिक रोजगारिमा जाने क्रम नबढेको भए देशको अर्थतन्त्रले अहिलेको अवस्थालाई निश्चय पनि धान्ने थिएन । रेमिटेन्सको उपयोग बालबच्चाको शिक्षाका लागि भइरहेकोछ । घरजग्गाको बिक्री उल्लेख्य मात्रामा बढेको छ । बचत तथा लगानिको अवसरमा वृद्धि भएको छ । प्रतीव्यक्ति आयमा वृद्धि, बिदेशी मुद्राको भन्डारण बढेको छ। नागरिकको जिवनस्तरमा सुधार देखिएको छ। राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्बन्धमा वृद्धि भएको छ।
रेमिटेन्सका प्रभावहरु
रेमिटेन्स बढेसँगै विदेशबाट बस्तु तथा सेवाको आयात पनि तिब्रदरले बढेको छ। रेमिटेन्सको रकम विलासिन सामानहरुको उपभोगमा बढी खर्च भएको देखिन्छ। उच्च शिक्षा आर्जन गर्न विदेश पलायन हुनेको संख्या दिनानुदिन बढदो अवस्थामा छ जसबाट ठुलो रकम बाहिरिने र जनशक्ती पनि नफर्कने हुँदा विदेशी मुद्रा सन्चितमा ह्रास आइरहेको छ । उत्पादनको सबैभन्दा सक्रिय युवा वर्ग (१६-४० बर्ष) आफ्नो देशमा उपयोग गर्न नसक्नु हाम्रो अर्थतन्त्रको ठुलो बाधक बनेको छ । बैदेशिक रोजगारीको कारणले समाजमा बिकृति बढ्दै गएको पाइन्छ। नेपाल कृषि प्रधान देश हो भनिन्छ तर देशको उत्पादनले ५ महिना पनि धान्न गाह्रो हुन्छ ।
रेमिटेन्सलाई कसरी सदुपयोग गर्ने र लगानीमैत्री बनाउने ?
नेपालको जनगणना२०६८ अनुसार ६५.९ प्रतिशत मानिसहरु साक्षर छन् तर वितिय साक्षर जम्मा १९ प्रतिशत , के फरक छ र साक्षर र वितिय साक्षरमा ? साक्षर भनेको साधारण लेखपढ गर्न जान्ने भन्ने बुझिन्छ तर वितिय साक्षर भनेको पैसा सम्बन्धि शिक्षा हो। सामान्य रुपमा भन्नुपर्दा कमाएको पैसाबाट आवश्यक पर्ने खर्च गरेर बाँकी रहेको पैसालाई कसरी सुरक्षित रुपमा जोगाउने र भविष्यमा सहि सदुपयोग गर्ने भन्ने कुरा वितिय साक्षरता अन्तर्गत पर्दछ। आर्थिक बर्ष २०७६/७७ को पुष मसान्तसम्म ७५३ स्थानीयतह मध्ये ७४३ स्थानिय तहमा बैंक तथा वितिय संस्थाको पहुँच रहेको देखिन्छ। नेपाल सरकारले पनि एक नेपाली एक वचत खाता सन्चालनमा ल्याएको छ। विदेशबाट पठाएको रकम आफ्नो तथा आफ्नो परिवारजनको खातामा सिधै जम्मा गर्न सकिने भएको छ, जसबाट आवश्यक रकम झिक्ने र अन्य रकम वचत भइ बस्ने र त्यस्ता रकमहरु बैंक तथा वितिय संस्थाहरुले उधम गर्नेहरुलाई कर्जाको रुपमा प्रदान गर्ने गर्दछ, जस्ले गर्दा युवास्वरोजगार कार्यक्रमलाई थप टेवा पुराउदछ। विधुतीय कारोवारलाई प्रोत्साहन दिने । राष्ट्रिय तथा प्रादेशिक महत्वको योजनामा लगानी बढाउन साना बचतकर्ताहरुलाई शेयर स्वमित्व प्रदान गर्ने जस्ले गर्दा लाभांश केन्द्रित भई स्वोदेशी लगानीमा वृद्धि हुन आउँछ।
अन्त्यमा
रेमिटेन्स खराब भन्न खोजेको होईन तर वैदेशिक रोजगरीबाट आएको सम्पूर्ण रकम दैनिक जीवनयापन गर्न र विलासिन सामानहरुमा मात्र खर्च गर्ने हो भने देशको विकास कहिले गर्ने रु वैदेशिक रोजगारिको प्रमुख गन्तब्य मलेशियामा कामदार जाने क्रम बन्द भएको कारणले आर्थिक बर्ष २०७५/७६ मा मलेशियाबाट प्राप्त हुने रेमिटेन्समा भारी गिरावट आएको थियो। कोभिड-१९ को कारण हाल विश्वको अर्थतन्त्र खस्किदो अवस्थामा छ । यसले विश्वको आर्थिक बृद्धिदरमा आउने कमिको कारण वैदेशिक रोजगारका देशहरुबाट प्राप्त हुने रेमिटेन्स प्रभावित हुने देखिन्छ। विश्व बैंकको तथ्याङ्क अनुसार कोभिड-१९को कारण करिब रु १४५ अर्ब बराबर रकम गिरावट आउने देखिन्छ जुन कुल रेमिटेन्सको १४ प्रतिशत हुन आउछ , जसबाट नेपालको अर्थतन्त्रमा प्रत्यक्ष ठुलो असर पार्दछ।
देश विकास गर्न नेपाली हात नै अगाडी बढाउनुपर्छ, बिना स्वार्थ कुनै पनि देशले कुनै पनि देशलाई सहयोग प्रदान गर्दैन बिदेशिले गर्देला अनि खाँउला भनेर बस्नु त्यो भन्दा मुर्खता अरु केहि हुँदैन। देशलाई विकसित राष्ट्रहरुको सुचीमा पार्न वैदेशिक रोजगारीबाट आएको रकमलाई बिकासमुलक काममा लगानी गर्नुपर्छ । अहिलेका बालकहरु भविष्यका कर्णधार हुन् । उनिहरुलाई स्वदेशमै काम गर्नकोलागि रेमिटेन्सको सही सदुपायोग गर्न सक्नुपर्छ। यो एक जनाको मात्र कर्तब्य होईन। हामी सबै नेपाली काधमा काध मिलाएर अघि बढ्नुपर्छ। नेपाललाई विकसित राष्ट्रको सुचीमा पुराउनको लागि सबैको योगदन अपरीहार्य छ । कतार, मलेशिया ,साउदी अरब , इजराएल, बहराइन, यु.ए.इ, जापान, कोरिया, अष्ट्रेलिया, वायूरोपबाट जति रकम पठाएपनि सहि सदुपयोग गर्न नसके देशले काचुली फेर्न सक्दैन । घर खर्च बाहेक अन्य रकमलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । पैसा कमाउनु ठुलो कुरा होईन पैसालाई बचत गरी सही ठाउँमा उपयोग गर्नु ठुलो कुरा हो।
कुनै पनि देश गरीब हुँदैन गरीब त केबल त्यस देशको ब्यवस्थापन पक्ष हुन्छ। कतार, मलेशिया ,साउदी अरब, यु.ए.इ जस्ता देशहरु जमिन भित्र रहेकोबस्तु (तेल उत्पादन) सही ढङले प्रयोग गरी विकासको गतीमा लम्कन सक्छन् भने हामी जमिन माथी (आधुनिक कृषी) रहेको बस्तुको पनि सही ढङले प्रयोग गरी विकासतर्फकिन लम्कन सक्दैनौ ? हाल देशमा स्थिर सरकार बनेको छ सरकारको मुख्य नारा समृद्द नेपाल सुखी नेपाली, नारामा मात्र सिमित नबनाइ निति तथा कार्यक्रम कार्यन्वयन गरी अगाडी बढे देशको विकासले सजिलै गति लिने थियो।
(लेखक हाल नेपाल बैंक लिमिटेडमा कार्यरत हुनुहनुन्छ)




