कञ्चन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७२/७३ मा ९ करोड ७४ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । सो अवधिमा बैंकले १ अर्ब ९१ करोड ४२ हजार निक्षेप संकलन गरी १ अर्ब ६४ करोड ४३ हजार बराबर कर्जा लगानी गरेको छ । नेपाल राष्ट्र बैंकमा पेश गरेको पुजिबृद्धि योजनाअनुसार नै बैंकले २०७४ अषाढ मसान्तसम्ममा चूक्तापूँजी ५० करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ ।
कञ्चनपुर, कैलाली र डडेल्धुरा जिल्लालाई कार्यक्षेत्र बनाई स्थापना भएको क्षेत्रिय स्तरको विकास बैंक कञ्चन डेभलपमेन्ट बैंकले स्थापनाकाल देखि नै सुदुरपश्चिमको आर्थिक बिकासको सहयात्रीको रुपमा काम गर्ने प्रतिबद्धता साथ बैकिङ्ग कारोवार गर्दै आइरहेको छ । हाल बैंकले ५४ हजार भन्दा बढी सेवाग्राहीहरुलाई बैकिङ्ग सेवाप्रदान गरीरहेको छ ।
बैंकले सेवाग्राहीहरुको मागलाई ध्यानमा राखी मोबाईल बैकिङ्ग सेवा, एटीएम सेवा, इसीसी सेवा, विभिन्न कम्पनीहरुका रेमिट्यान्स भुक्तानी सेवाहरुका साथै विपन्न वर्गलाई लक्षित गरी लघुवित्त कर्जा सुविधा संचालनमा ल्याइसकेको छ । बैंकले विभिन्न किसिमका मुद्धती खाताहरु, १७ किसिमका बचत योजनाहरुका साथै १५ किसिमका कर्जा योजनाहरुका सुविधा सेवाग्राहीहरुलाई प्रदान गरेको छ । आगामी दिनमा सेवाग्राहीहरुलाई अझ बढी सुविधा दिने गरी योजना ल्याइने बैंकका सीईओ बिरुराम जैशीले बताए । सञ्जाल कार्यक्षेत्रभित्र विस्तार गरी ग्रामीण क्षेत्रमा बैंकको पहुँच पुर्याउनका लागि शाखा विस्तार योजनालाई व्यापक बनाइने बैंकको योजना रहेको छ ।
हाल बैंकले ७ वटा शाखाहरुका साथै १ वटा एक्टेन्शन काउन्टरबाट सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले बेलडाँडी र बेलौरी शाखाको सम्पुर्ण तयारी पुरा भई सकेकाले यसै महिनाभित्र सञ्चालन हुनेछन् भने आ.ब. २०७३/०७४मा कैलाली र डडेल्धुरामा सम्भाव्यता अध्ययन गरि उपयूक्त ठाँउमा थप ३ देखि ५ शाखा खोल्ने लक्ष्य लिईएको छ ।




