गरिमा विकास बैंकमा शुभेच्छा विकास बैंक गाभिने भएको छ । पोखरामा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंकको विहीबार सम्पन्न विशेष साधारण सभाले चितवनको नारायणगढमा प्रधान कार्यालय रहेको शुभेच्छा विकास बैंक लिमिटेडलाई गाभ्ने विशेष प्रस्ताव पारित गरेको हो ।
गरिमा विकास बैंक लिमिटेड, राष्टियस्तरको विकास बैंक हो भने शुभेच्छा विकास बैंक लिमिटेड १–३ जिल्लास्तर कार्यक्षेत्र रहेको विकास बैंक हो । हाल गरिमा विकास बैंक लिमिटेडको चुक्ता पूँजी ८५ करोड ३२ लाख रुपैयाँ र शुभेच्छा विकास बैंक लिमिटेडको चुक्ता पूँजी २२ करोड ७३ लाख ११ हजार ५ सय आठ रुपैयाँ रहेको छ । एक आपसमा गाभिएपछि गाभिएर बन्ने विकास बैंकको चुक्ता पूँजी १ अर्व ८ करोड ५ लाख ११ हजार ५ सय ८ रुपैयाँ पुग्नेछ ।
गाभिएर बन्ने विकास बैंकको एउटा एक्स्टेन्सन काउण्टर समेत ३७ वटा शाखा कार्यालय हुनेछन् भने निक्षेप करिव ११ अर्व ५० करोड र लगानीमा रहेको कर्जा करिव १० अर्व ५० करोड भन्दा बढि हुन अपेक्षा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।
दुई विकास बैकहरु एकआपसमा गाभिँदा शेयर आदान प्रदान अनुपात एक बराबर एक कायम गर्ने तथा गाभिएर बन्ने विकास बैंकको नाम गरिमा विकास बैंक रहने विशेष प्रस्तावहरु समेत विशेष साधारण सभाबाट पारित भएको छ । साधारण सभाले विकास बैंकको केन्द्रीय कार्यालय पोखरा–९, महेन्द्रपुलबाट काठमाण्डौ लाजिम्पाटमा स्थानान्तरण गर्ने विशेष प्रस्ताव समेत पारित गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।