May 15th, 2020

नेपालमा बैंकिङ सेवा आयोगको अवधारणा, आवश्यकता र औचित्य


-सरोज कटुवाल

हाल नेपालमा बैंकिङ क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरू  “क” बर्ग २७, “ख” बर्ग २३, “ग” बर्ग २२, “घ” बर्ग ८९ र १ पूर्बाधार बिकास बैंक गरी जम्मा १६२ र त्यसका ९६४० शाखा (७६फाल्गुन मसान्तसम्म : श्रोत नेपाल राष्ट्र बैंक वेभसाईट) मार्फत सेवा प्रदान गरिदै आएको छ । जुनसुकै संगठन सञ्चालनको प्रमुख साधन को रूपमा मानव संसाधन रहेको हुन्छ जसमार्फत अन्य साधनको परिचालन गरि लक्ष्य प्राप्ति गर्ने गरिन्छ । नेपालको बैंकिङ उधोगको सन्दर्भमा बैंक तथा वित्तीय संस्था बिबिधता सँगै सो को मानव संसाधन सम्बन्धमा बिबिधता पाईने गरेको छ ।

आधारभूत रूपमा बैंकिङ क्षेत्रका संस्थाहरूको कार्य प्रणाली, कार्यपद्धति, लक्ष्य र लक्ष्यप्राप्तिका क्रियाकलापहरू एकैनासका हुन्छन् तर यिनीहरू बिचको मानवश्रोत परिचालनमा भने ठूलो भिन्नता पाईन्छ । संठनको स्वरूप, चालचलन एकै प्रकृतिको हुनु तर त्यसमा हुने मानवश्रोत परिचालनमा बिबिधता हुँदा बैंकिङ उधोगमा धेरै किसिमका समस्याहरू देखा पर्ने गरेका छन् जसले यस क्षेत्रमा काम गर्ने कर्मचारी र रोजगारदाताले धेरै हैरानी ब्यहोर्नुपरेको छ । साथै यस किसिमको बिबिधताले निम्त्याएको समस्या समाधानमा नियामक निकाय नेपाल राष्ट्र बैंक मौन देखिन्छ । अत्याधिक मात्रामा कर्मचारी फेरवदल भईराख्ने, कर्माचारीहरूको स्थिरतामा भर पर्न नसकिने, राम्रो कर्माचारीको लिलाम बढाबढको अवस्था समेत देखापर्ने, आफुले दुःख गरेर तैयार गरेको कर्मचारी अन्तै गईदिदा पर्ने मर्का, कर्मचारी खोसाखोसको अवस्था आदि जस्ता समस्याहरू बैंक तथा वित्तीय संस्थाले भोग्दै आएका छन् भने अनिश्चित भविष्य , काम र जिम्मेवारी को असमान वितरण , ढाड भाँचिने गरि भिराईदिएको टार्गेट, वृत्ति विकासको अन्यौलता , काम छोड्न समेत पैसा तिर्नुपरेको पिडाले यस क्षेत्रका अधिकांश कर्मचारी पनि आजित बनेका छन् ।

सामान्यतया हाल नेपालको बैंकिङ क्षेत्रमा निम्न किसिमको मानश्रोत व्यवस्थापनको अवस्था पाईन्छ :

१) सरकारी स्वामित्वका बैंकहरू :

यी बैंकहरूमा लोक सेवा आयोग मार्फत कर्मचारी छनौट गरिन्छ । लोक सेवा आयोगबाट आउने कर्मचारीहरू म्याक्स वेबर को ब्युरोक्रेसी थ्योरी बाट प्रभावित भएको पाईन्छ जहाँ कर्मचारीले निश्चित नीति तथा कार्यविधि बाट मात्रै काम गर्ने, नवप्रवर्तनात्मक गतिविधिमा भन्दा आफ्नो वृत्ति विकासमा जोड दिने , जागिरको स्थायित्वमा रमाउने तथा सिमित तलबमा सन्तुष्ट हुने आदि विशेषताहरू पाईन्छ । यहाँ काममा भन्दा पनि अध्ययनमै बढी जोड दिनुपर्ने स्थिति रहिआएको छ ।

२) विदेशी संयुुक्त लगानीका बैंकहरू :
यी बैंकहरूमा विदेशी व्यवस्थापन द्धारा कर्मचारी छनौट गरिन्छ । यसमा कर्मचारी छनौट गर्दा उत्पादन तथा उत्पादकत्व मा बढी जोड दिइन्छ । त्यसमध्ये कुनै कुनै बैंकहरूमा कर्मचारी कै सिफारिस बाट लामो समय परिक्षणकालमा राखेर हेरिसकेपछि मात्र स्थायी बनाइन्छ । यस्ता बैंकहरू एफ डब्ल्यु टेलर बैज्ञानिक व्यवस्थापन बाट प्रेरित भई उत्पादन र नाफा वृद्धि हुनेगरि मात्र कर्मचारी छनौटमा केन्द्रित भएको पाईन्छ ।

३) अन्य निजी क्षेत्रका बैंकहरू :
यी बैंकहरूमा सकेसम्म उत्कृष्ट अंक हाँसील गरेका, गतिसिल र पूर्ण लोचदार भई काम गर्न सक्ने किसिमका कर्मचारीहरू छनौट गरिन्छ । यहाँ धेरै कर्मचारीले आफ्नो कार्य मापदण्ड जागिर पहिल‌ै घोषणा गर्नुपर्ने हुनसक्छ । कतिपय कर्मचारी करारमै राख्ने गरिन्छ । यीनीहरूको काममा अत्यधिक भार हुने हुँदा यहाँ पनि काम छोड्ने र नयाँ कर्मचारी भित्रिने दर तिब्र गतिमा देखिन्छ ।

त्यसमा पनि विदेशी संयुक्त लगानीका बैंकहरू र अन्य निजी क्षेत्रका बैंकहरूका कर्मचारीहरू बार्गेनिङ क्षमता बाट माथिल्लो तहमा अर्को बैंक जाने प्रचलन अत्यधिक मात्रामा देखिन्छ । यसलाई अझ यसरी स्पष्ट पार्न सकिन्छ :
हालका समान क्षेत्रहरू :
• कार्य प्रणाली
• जोखिम
• कार्य क्षेत्र
• लक्ष्य (मुनाफा)
• लक्षित बर्ग
• कार्य मापदण्ड
• संगठन संरचना
• पद (लगभग) आदि

हालका असमान क्षेत्रहरू : 
• कर्मचारी भर्ना, छनौट
• वृत्ति विकास
• कर्मचारी युनियन
• पे स्किम आदि

यसरी हेर्दा एकै किसिमको काम गर्न विविध किसिमबाट कर्मचारी परिचालन हुनुले नेपालको बैंकिङ उधोगमा मानवश्रोतको बैज्ञानिक विश्लेषण भन्दा पनि मनोमानी छनौट हावी भएको देख्न सकिन्छ । माथि उल्लेख भए अनुसार आधार एउटै भएको यस क्षेत्रमा मानवश्रोत व्यवस्थापनको आधार पनि एउटै बनाउन सके समग्र बैंकिङ उधोगको ठुलो समस्या समाधान गर्न सकिन्छ । जसका लागि नेपालमा एउटा “बैंकिङ सेवा आयोग” को टड्कारो आवश्यकता देखिन्छ ।

बैंकिङ सेवा आयोग के हो ? 
जसरी लोक सेवा आयोगले सरकारी क्षेत्रमा कर्मचारी व्यवस्थापन गर्छ ठिक त्यसरी नै नेपालका सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा कर्मचारी व्यवस्थापन गर्न स्थापित आयोगलाई नै बैंकिङ सेवा आयोगको रूपमा बुझ्न सकिन्छ । नेपाल राष्ट्र बैंकको अगुवाइमा नेपाल सरकार अर्थ मन्त्रालय सहित मानवश्रोत विशेषज्ञको समेत संलग्नतामा एक बैंकिङ सेवा आयोग गठन गर्न सकिन्छ र यसको काम नेपालको बैंकिङ उधोगमा आवश्यक मानवश्रोत आपूर्ति, व्यवस्थापन र सञ्चालन गर्नु हुनेछ ।

बैंकिङ सेवा आयोग नै किन ?
• समग्र बैंकिङ उधोगको मानवश्रोत व्यवस्थापनमा एकरूपता ल्याउन ।
• कर्मचारीको बैंक परिवर्तन दर कम गरि लागत न्यूनीकरण गर्न र कर्मचारी स्थिरता ल्याउन ।
• विशिष्टिकरण तथा ज्ञान व्यवस्थापन गर्न ।
• तालिम तथा वृत्ति विकास व्यवस्थित बनाउन ।
• व्यवस्थापन विकास गर्न ।
• मानव संसाधन स्थिरीकरणबाट उत्पादकत्व अभिवृद्धि गर्न ।
• संगठनप्रति कर्मचारीमा अपनत्वको भावना जगाउन ।
• बैंकिङ व्यवसायको दिर्घकालिन स्थिरता कायम गर्न ।
• कर्मचारी युनियनको भूमिकालाई बैंक विकासमा लगाउन आदि ।

यसर्थ संगठनको अमुल्य सम्पतिको रूपमा रहेको मानवश्रोतको सन्दर्भमा सधैं अनिश्चितताको जोखिमबाट पिरोलिदै कार्य सम्पादन गर्नुरगराउनु पर्ने अवस्थामा समग्र उधोगकै समान आधार तयार गरि एउटा नितान्त फरक अवधारणा “बैंकिङ सेवा आयोग” को कार्यन्वयन गर्न सके नेपालको यो मोडल विश्वकै लागि अनुकरणीय बन्न सक्छ ।

(लेखक नेपाल बैंक लिमिटेड, प्रधान कार्यालयमा कार्रत हुनुहुन्छ, उक्त विचार लेखकका निजी विचार हुन, यसले लेखकले काम गर्ने संस्थासंग कुनै सरोकार राख्दैन ।)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]