२०७७ बैशाख २८ गते

वित्तीय साक्षरता, नेपालमा यसको अवस्था र आगामी दिनमा चाल्नुपर्ने कदमहरु

कमल अधिकारी-

वित्तीय साक्षरता
साधारण अर्थमा रुपैँया/पैसाको उचित उपयोग गर्न सक्ने शिक्षा नै वित्तिय साक्षरता हो । अर्को शब्दमा मुलुकको समग्र वित्तिय व्यवस्था, वित्तिय प्रणली, वित्तिय उपकरणहरु, तिनीहरुको उचित प्रयोग, बचत, लगानी, कर्जा लगायतका वित्त सम्बन्धी सम्पूर्ण विषयको बारेमा ज्ञान प्राप्त गर्ने कार्य नै वित्तीय साक्षरता हो । वित्तीय साक्षरता मार्फत आधुनिक अर्थव्यवस्थाको महत्वपूर्ण अंगको रुपमा रहेको वित्तीय सेवा र त्यस सम्बन्धी सम्पूर्ण उपकरणहरुको कुशल उपयोग गर्न शिक्षा प्राप्त हुने गर्दछ । वित्तीय साक्षरता एउटा ःयलभथ बधबचभलभकककार्यक्रम पनि हो, जसको मूख्य लक्ष्य मानिसहरुलाई पैसाको सदुपयोग, बचत, जीविकोपार्जन, रोजगार प्राप्त गर्ने र व्यवहारिक शिक्षाको माध्यमबाट उद्यमी बन्नेबारे सिकाउनु हो ।
वित्तीय साक्षरताले पैसाको महत्व बुझ्ने र सो अनुसार त्यसको उचित व्यवस्थापन गर्ने कुरामा जोड दिन्छ । हरेक व्यक्तिसँग भएको सिमित स्रोत र साधनको कुशल उपयोग बारे जानकारी प्रदान गर्दै आयमूलक क्षेत्रमा लगानी र व्यक्तिगत हुदै समग्र मुलुककै आर्थिक उन्नती हाँसिल गर्ने ज्ञान, सिप र कला प्रदान गर्नु नै वित्तिय साक्ष्।रताको मुख्य उदेश्य हो । यसै कारण वित्तीय प्रणाली प्रति पारदर्शिता, उत्तरदायित्व र जवाफदेहिता कायम गरी प्रतिस्पर्धी मूल्यमा गुणस्तरिय वित्तीय सेवा प्राप्त गर्न, आर्थिक सामाजिक सुरक्षा हाँसिल गर्न, असिमित आवश्यकतालाई व्यवस्थित गर्ने बजेट बनाउन, आर्थिक क्रियाकलाप मार्फत मानिसको जीवनस्तर उकास्न साथै समग्रमा मुलुकको आर्थिक समृद्धि हाँसिल गर्ने आधारको रुपमा वित्तीय साक्षरता रहेको हुन्छ ।

नेपालमा वित्तीय साक्षरताको अवस्था
वित्तीय साक्षरताको मात्रै कुरा गरिराख्दा अर्को छुटाउनै नहुने विषयवस्तु हो वित्तीय पँहुच । यि दुवै एकअर्कामा अन्तरसम्बन्धीत विषयवस्तुहरु हुन । मूलुकमा वित्तीय साक्षरतामा बृद्धि हुँदै जाँदा वित्तिय पँहुच पनि बढ्दै जान्छ । जब वित्तीय पँहुच बढ्दै जान्छ तब आर्थिक क्रियाकलापमा पनि बृद्धि हुने र पुँजी निर्माण पनि बढ्न गई आर्थिक विकास सम्भव हुन्छ । वित्तीय साक्षरता र वित्तिय पँहुचको बिचमा सकारात्मक सम्बन्ध त छ नै यिनीहरु एक अर्कामा प्रभावित हुने र एक अर्कालाई प्रभावित पार्ने विषयवस्तु पनि हुन ।
नेपालको वित्तीय साक्षरतादरलाई जान्नु अघि एकपटक विश्व परिवेशलाई नियालौ । विश्वमा विभिन्न मुलुकहरुमा भएको वित्तीय साक्षरताको दर हेर्ने हो भने न्युनतम १३ प्रतिशत देखि अधिकतम ७१ प्रतिशत सम्म रहेको विश्व बैंकको तथ्यांकले देखाएको छ । यमनको सबैभन्दा कम १३ प्रतिशत र स्वीडेन, डेनमार्क तथा नर्वेको सबै भन्दा बढी ७१ प्रतिशत रहेको छ । त्यसो त विश्वमै ठुला अर्थतन्त्र भएका हाम्रा दुई छिमेकी मुलुकहरु भारत र चिनको वित्तीय साक्षरता क्रमशः २४ / २८ प्रतिशत रहेको तथ्यांकले देखाउदछ । त्यस्तै विश्वको शक्तिशाली मुलुक सयुक्त राज्य अमेरिकामा ५७ प्रतिशत रहेको छ । दक्षिण एसियाली मूलकहरुको क्षेत्रिय संगठन सार्कमा भने १४ प्रतिशत सहित अफ्गानस्थान सबै भन्दा कम र भुटान ५४ प्रतिशत सहित वित्तीय साक्षरतामा अग्र स्थानमा रहेको छ ।
नेपालमा भने वित्तीय साक्षरताको अवस्था नाजुक रहेको छ जसले गर्दा यहाँ वित्तीय पहुँच पनि न्युन रहेको छ । तथ्यांकगत हिसाबले हेर्ने हो भने नेपालमा करिब १८ प्रतिशत मानिसमा मात्रै वित्तीय साक्षरता रहेको देखिन्छ । त्यस्तै वित्तीय पहुँचको अवस्था भने करिब ६१ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । वित्तीय साक्षरताको अभिवृद्धिका लागि विभिन्न प्रयासहरु पनि गरिराखेको छ । नेपाल राष्ट बैंकले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईराखेको छ । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरुले निरन्तर यस सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेका छन् । पन्ध्रौ योजनाको आधार पत्रमा पनि “ वित्तीय साक्षरता अभिबृद्धि र वित्तिय प्रविधीको प्रयोग मार्फत दुर्गम तथा पिछडिएका क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गर्ने” रणनीती लिएर अघि बढेता पनि नेपालमा न्युन वित्तीय साक्षरतादर हुनुको मूख्य कारण वित्तीय साक्षरता सम्बन्धी प्रभावकारी प्रचारको अभाव नै रहेको देखिन्छ । अन्य कारणहरुमा वित्तीय साक्षरता सम्बन्धी योजनाबद्ध कार्यक्रमको अभाव, छरिएर रहेका कार्यक्रमहरु, बृहत क्षेत्रलाई समेट्न नसक्नु, कार्यक्रमको प्रभावकारी ढंगले मूल्यांकन गर्ने प्रवृतिको अभाव, वित्तिय साक्षरता सम्बन्धी प्रभावकारी नीतीको अभाव, औपचारिक बैंकिङ क्षेत्रको झण्झटिलो प्रक्रिया, लागत बृद्धिका कारण ग्रमिण क्षेत्रमा बैंकिङ पहुँच न्युन रहनु विद्यमान रहेका छन् ।

अबको बाटो के त ?
आर्थिक विकासको लागि वित्तीय साक्षरता अनिवार्य रहेको हुन्छ, त्यसकारण यसलाई आर्थिक विकासको आधारको रुपमा लिन सकिन्छ । आर्थिक विकासमा भर्खरै लठ्ठी टेक्दै गरेको हाम्रो देशमा वित्तीय साक्षरताको अवस्था पनि नाजुक रहेको तथ्यले देखाइसकेको अवस्थामा अबका दिनहरुमा यसलाई प्रभावकारी ढंगले अगाडी बढाउन देखेका केहि मुख्य उपायहरु निम्न रहेका छन् ।
• यस सम्बन्धी दिर्घकालिन योजना निर्माण गरि अगाडी बढ्ने ।

• वित्तीय साक्षरता सम्बन्धी प्रभावकारी नीती बनाएर अगाडी बढ्ने ।

• हरेक बर्ष वित्तीय साक्षरताका लागि केहि न केहि बजेट छुट्याउने ।

• सुचकसँग जोडेर यस कार्यक्रमको प्रभावकारी मुल्यांकन गर्ने बानीको विकास गर्ने ।

• बैंक तथा वित्तीय संस्थाले यस कार्यक्रमका लागि अनिवार्य खर्च गर्नुपर्ने व्यवस्था मिलाउने ।

• सामाजिक सञ्जाल, टेलिभिजन, रेडियो, पत्रपत्रिका, अनलाईन न्युज च्यानल लगायतका माध्यमबाट व्यापक प्रचार प्रसार गर्ने ।

• विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा यस सम्बन्धी बिषयवस्तु अनिवार्य समावेश गर्ने ।

• ग्रामिण क्षेत्रसम्म पुगेर वित्तिय सेवा प्रवाह गर्नुपर्ने ।

निष्कर्ष :

माथि उल्लेखित वित्तीय साक्षरता बढाउन दिएका उपायहरु कम महत्वका छैनन् । नेपालमा वित्तीय साक्षरता अभिबृद्धि गर्न यि उपायहरु कार्यान्वयन गर्ने घोषणाहरु नभएका पनि होइनन् । तर नेपालमा राम्रा राम्रा कार्यक्रमहरु घोषणा मात्रै गर्ने कार्यान्वयन ज्यादै न्युन मात्रामा गर्ने परिपाटी वित्तीय क्षेत्रमा मात्रै हैन अन्य सम्पूर्ण क्षेत्रमा पनि साझा समस्याको रुपमा रहेको देखिन्छ । तसर्थ आउने दिनहरुमा यी उपायहरुलाई सम्पूर्ण पक्षहरु समन्वय गरि प्रतिबद्धताका साथ कार्यन्वयन गर्न सके नेपालको वित्तीय साक्षरता दर पक्कै पनि माथि उठाउन सकिनेछ ।