ग्रीन डेभलपमेण्ट बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर बुधबार बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलमा बाँडफाँड भएको छ । ९ सय कित्तासम्मको शेयरका लागि आवेदन दिनेलाई गोलाप्रथाबाट शेयर दिइएको छ भने त्यस भन्दा माथिका आवेदकले १० दशमलव ५ प्रतिशत शेयर पाएका छन् । ९० हजार रुपैंयासम्मका आवेदकको संख्या धेरै भएका कारण उक्त मात्राका आवेदकलाई गोलाप्रथाबाट १० कित्ता शेयर बितरण गरेको बैंकले उक्त रकम भन्दा माथि १० लाख रुपैंयासम्मका आवेदकलाई १० दशमलव ५ प्रतिशत शेयर बितरण गरेको हो ।
बैंकले चुक्ता पूँजी १० करोड रुपैंया पुर्याउनका लागि ४ करोड ५० लाख रुपैंयाको शेयर निष्काशन गरेको थियो । जसमा माग गरिएको शेयर भन्दा ९२ गुणा भन्दा बढी अर्थात ४ अर्ब १७ करोड रुपैंयाको आवेदन परेको थियो ।
बागलुङमा मुख्य कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले बागलुङ, म्याग्दी र कास्की जिल्लामा कार्यक्षेत्र बिस्तार गरी वित्तीय सेवा दिंदै आएको छ । बैंकको अधिकृत पूँजी ५० करोड, जारी पूँजी १० करोड र चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ ।




