सिर्जनात्मक अभियानहरुमा सहयोग पुर्याउँदै आएको बैँक अफ काठमाण्डूले भूकम्पपीडितहरुको आवास निर्माणमा सक्रिय रहेको धुुर्मुस–सुन्तली फाउण्डेसनलाई ५ लाख रुपैयाँ प्रदान गरेको छ । उक्त रकम मंगलबार बैंकको केन्द्रिय कार्यालयमा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्षसीताराम कट्टेललाई हस्तान्तरण गरे ।
हास्यकलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची गिरान्चौरमा भूकम्पपीडितहरुका लागि एकीकृत नमूना बस्ती पुननिर्माणअन्तर्गत ६५ वटा घर बनाउने उद्देश्यले धुर्मुस–सुन्तली फाउण्डेसनको नाममा सहयोग संकलन गर्दै आएको छ । फाउण्डेसनले यसअघि काभ्रेमा २० वटा घर निर्माण गरी भूकम्पपीडितहरुलाई उपलब्ध गराएको थियो ।
सहायता उपलब्ध गराउँदै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैकिङ्ग सेवाका अतिरिक्त बैंक अफ काठमाण्डुले अन्य उपयोगी सामाजिक काममा पनि सहयोग पुर्याउँदै आएको र यसलाई भविष्यमा पनि निरन्तरता दिइने बताए । फाउण्डेसनका अध्यक्ष कट्टेलले उदार सहयोगका लागि बैंकप्रति आभार व्यक्त गरे ।