दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को दोहोरो कर मुक्ति तथा वित्तीय छल निरोध सम्झौता सम्बन्धी तीन दिने गोष्ठी मंगलबारदेखि काठमाडौँमा सुरु भएको छ ।
गोष्ठीको उद्घाटन समारोहमा बोल्दै आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माले विश्वव्यापीकरणको युगमा वित्तीय कारोवारले ल्याएका अवसर र चुनौतीको सम्बोधन गर्न सरकार र निजी क्षेत्रको साझा प्रयास आवश्यक रहेको बताए । सार्क मुलुकका राम्रा अभ्यासका साथै समस्याको आदानप्रदानले कर छली तथा वित्तीय अपराध नियन्त्रण गर्न मद्दत गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा सार्क सचिवालयका निर्देशक एल सावित्रीले सार्क मुलुकबीचको कूटनीतिक तथा आर्थिक सम्बन्ध समेतलाई थप मजबुद बनाउन गोष्ठीले सहयोग गर्ने उल्लेख गर्दै क्षेत्रीय लगानीसम्बन्धी सम्झौताको टड्कारो आवश्यकता महसुस गरिएको बताए ।
आन्तरिक राजस्व विभागका उपमहानिर्देशक राममणि दुवाडी तथा आन्तरिक राजस्व विभागका निर्देशक चेतनाथ दाहालले नेपालको कर प्रणालीका विविध पक्षबारे कार्यपत्र प्रस्तुत गरेका थिए । पाकिस्तानबाहेक सार्कका सात देश र सार्क सचिवालयका प्रतिनिधि सम्मिलित उक्त गोष्ठी बुधबारसम्म सञ्चालन हुनेछ । रासस




