२०७७ बैशाख १८ गते

राष्ट्र बैंकको निर्देशनले बैंकहरु अफ्ठ्यारोमा, निक्षेपको व्याज अझै घटाउने तयारी

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रलाई ऋणमा २ प्रतिशतका दरले ब्याज छुट दिन बैंकहरुलाई भनेको छ । राष्ट्र बैंकको निर्देशनपछि बैंकरबीच निक्षेपको ब्याज दर थप घटाउन छलफल जारी छ । बैंकहरुलाई ऋणको व्याज घटाउन दवाव परिसकेको छ । बैशाख १ गतेबाटै बैंकहरुले निक्षेपमा ब्याज घटाइसकेका छन् ।

राष्ट्र बैंकले संस्थागत निक्षेपकर्ताको ब्याज थप एक प्रतिशतले घट्ने नीति कार्यान्वयन गरीसकेको छ । ऋणतर्फ एकपटक प्रकाशित ब्याजदर कम्तिमा तीन महिनासम्म कायम हुनुपर्ने व्यवस्था छ । राष्ट्र बैंकको निर्देशनसँगै बैंकहरुले कोषको लागत कम गर्नका लागि मुद्दती, बचत र कल डिपोजिटको ब्याज घटाउने गृहकार्य गरेका छन् । यस अघि बैकहरु १ प्रतिशतका दरले कर्जामा व्याज घटाउने तयारीमा थिए । तर राष्ट्र बैंकको निर्देशनले अफ्ठा्यारेमा पारेको छ । बैंकहरुले ऋणको व्याज घटाउन निक्षेप तर्फ गरिएको निर्णयमा पुनविचार गर्नेसम्मको रणनीति तय गरेका छन् । उनीहरुले यसअघि संस्थागत मुद्दतीमा सात प्रतिशत ब्याजदर कायम गरेका छन् । यसमा फेरि केही घटबढ हुने सम्भावना देखिएको छ । बैंकहरुले संस्थागत निक्षेप र व्यक्तिगत निक्षेपतर्फ .५ प्रतिशत कम गर्न सक्ने आधार देखिन्छ । हाल बैंकहरुमा निक्षेपको ५० प्रतिशत मुद्दती निक्षेप, ३० प्रतिशत बचत निक्षेप तथा २० प्रतिशत चल्ती र कल डिपोजिट तर्फको रकम छ । यसअघि कल डिपोजिट खाता बन्द गर्ने निर्णयमा पुगीसकेका बैंकहरुले फेरि कल डिपोजीटलाई कम व्याज दिनेगरी कायम गरेका छन् । राष्ट्र बैंकले २ प्रतिशत व्याज घटाउने निर्णय गरेपछि बैंकहरु अन्यौलमा छन् । राष्ट्र बैंकले असारसम्म दुई प्रतिशत ब्याज घट्ने भनेर सूचना प्रकाशित गरिसकेको छ । बैंकहरुले निक्षेपतर्फकै व्याजदर कम गर्ने सम्भावना देखिएको छ । यसबारे बैंकहरु निर्णयमा पुगीसकेका छैनन् ।

बैशाख १ गतेबाट बैंकहरुले कायम गरेको निक्षेपको व्याजदर यस्तो छ

वाणिज्य बैंकहरुले धमाधम निक्षेपको व्याजदर घटाइरहेका छन् । बैंकहरुले एक वर्षे ब्यक्तिगत मुद्दतिको ब्याज दर एक प्रतिशतले झारेर बढीमा ८.७५ प्रतिशत कायम गरेका छन् । यसअघि बैंकहरुले ९.७५ प्रतिशतसम्म ब्याज दिँदै आएका थिए । त्यसैगरी बचत खातामा बढीमा ५.५ प्रतिशत व्याजदर दिने भएका छन् । यसअघि ६.५ प्रतिशत व्याज दिँदै आएका थिए ।

विकास बैंकहरुले पनि निक्षेपमा व्याजदर घटाएका छन् । विकास बैंकहरुले व्यक्तिगत मुद्धतिमा नौ प्रतिशत र संस्थागत मुद्धतिमा आठ प्रतिशत व्याज दिने सहमित गरेर अगाडि बढेका छन् । त्यस्तै, बचतमा छ प्रतिशत व्याज दिने विकास बैंकहरुको सहमति रहेको छ ।

फाइनान्स कम्पनीहरुले पनि व्याजदर घटाका छन् । फाइनान्स कम्पनीहरुले एक वर्षसम्मको निक्षेपमा ९.५ प्रतिशत, दुई वर्षभन्दा बढीको ९.७५ प्रतिशत र बचतमा ६.५ देखि ७.२५ प्रतिशत व्याज दिने निर्णय गरेका छन् । निक्षेपको ब्याजसँगै आधार दर पनि घट्ने भएकाले सोही अनुसार ऋणको ब्याज पनि घट्ने अपेक्षा छ ।