July 12th, 2016

आयल निगमका कर्मचारीलाई तलबको ४ गुणा बोनस : यसरी आउँछ बोनस खाने पैसा 

nocनेपाल आयल निगमका कर्मचारीले पारिश्रमिकबाहेक मासिक औसत १ लाख रुपैयाँ बोनस पाउने भएका छन् । यो बोनस रकम आधारभूत पारिश्रमिकभन्दा ४ गुणा बढी हो । निगमका तल्लो तहका कर्मचारीको पारिश्रमिक २० हजार रुपैयाँ छ । ऋणमुक्त भएपछि पनि निगमले पेट्रोलियम पदार्थको नाफा उच्च राखेकाले कर्मचारीले बोनसवापत ठूलो रकम पाउने भएका हुन् । 

निगमका अनुसार मासिक पेट्रोल २९ हजार किलोलिटर तथा डिजेल १ लाख १० हजार, मट्टितेल १५ सय र हवाईइन्धन १० हजार किलोलिटर खपत हुन्छ । यस्तै, खाना पकाउने एलपी ग्यास २७ हजार टन बिक्री हुने गरेको छ । पेट्रोलमा प्रतिलिटर ६.६१ रुपैयाँ नाफा छ भने डिजेलमा ०.६७, मट्टितेलमा १६.७२, हवाईइन्धन (स्वदेशी)मा १३.६४ र हवाईइन्धन (अन्तरराष्ट्रिय)मा २२.७७ रुपैयाँ नाफा छ । यस्तै, ग्यासमा प्रतिसिलिन्डर ४५.०७ रुपैयाँ नाफा छ । 

यस आधारमा निगमलाई मासिक १ अर्ब रुपैयाँ नाफा हुने देखिन्छ । नाफाको ६ प्रतिशत छुट्टयाइए ६ करोड रुपैयाँ बोनस शीर्षकमा जम्मा हुन्छ । निगममा कार्यरत ५ सय कर्मचारीबीच यो रकम जनही बाँडफाँट गर्दा प्रतिकर्मचारी १ लाख २० हजार रुपैयाँ पर्दछ ।