बैंकिङ खबर । बैंकका संचालक र बैंकरबीचको विवादले कर्जाको व्याजमा प्रभाव पर्ने देखिएको छ । संचालकहरु र बैंकरहरुका अलग अलग संस्थाले अलग अलग निर्णय गर्ने अबस्था सृजना भएको छ । संचालकहरुले गरेको निर्णयलाई बैंकरहरुले अस्वीकार गर्ने भनेपछि यसको प्रभाव बैंकको व्याजसम्म जोडिने भएको छ ।
संचालक र बैंकर्सको विवादको प्रभव
हालसम्म नेपालको वित्तीय क्षेत्रमा छिटफुट सामान्य घटना बाहेक संचालक र बैंकर्सहरुबीच राम्रो सन्तुलन रहँदै आएको छ । संचालक समितिबाट दिईने सुझाव र गर्ने निर्णयकै आधारमा व्यबस्थापन पक्षले गर्ने निर्णय महत्वपूर्ण हुन्छ । व्यबसाय र उद्यमशीलतामा हात हालेका हजारौं व्यक्तिले लगानी नगर्ने हो र लगानीकर्ताहरु ऐस आरामले जीवन विताउनतर्फ लाग्ने हो भने देशको अर्थतन्त्र कदापी चल्न सक्दैन । यस कारण कसैले पनि कमाएको पैसामाथि राज्य, राजनीतिक दलका नेता वा अन्य कुनै वर्गले खुसी व्यक्त गर्नुपर्छ । तर हाम्रो मुलुकमा त्यस्तो देखिँदैन । पैसा कमाउनेहरुलाई चारैतिरबाट धकेलेर भित्तैसम्म पु¥याउने परिपाटी छ । यो परिपाटीलाई राजनीतिक दलले समेत साथ दिएका छन् । सिंहदरवारको वरीपरि हजारौं राजनीतिक कार्यकर्ताले बिचौलीयाको काम गर्दछन् । जसले खोजि खोजि व्यबसायीका नराम्रा कुरा सरकारी संयन्त्रसम्म पु¥याएर चन्दा उठाएरै जीवन धानेका छन् । यो चंगुलबाट अलिक पर रहेको बैंकिङ वित्तीय क्षेत्रमा विस्तारै राजनीतिक धमिलो पस्दैछ । हाल बैंक संचालकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघले मध्यम तथा साना व्यबसायीहरुलाई कर्जामा १ प्रतिशत व्याज कम गर्ने निर्णय ग¥यो । जुन निर्णयलाई बैंकर्स संघले अस्वीकार मात्रै गरेन राजनीतिक दवाव समेत सृजना गरी गभर्नर र अर्थमन्त्रीसमक्ष यो कुरा नराम्रो हो भनेर फैलायो । यसपछि हाल बैंकर्स र संचालकहरुबीच खटपट सूरु भएको छ । बैंक संचालकहरुको निर्णय खासमा खराब थिएन । साना र मझौला उद्योगीलाई राहत थियो । त्यो कुनै व्यक्ति विशेषलाई थिएन सबै बर्ग र तप्काका लागि थियो । यसमा अझ उत्पादन क्षेत्रमा सहभागि भएका उद्यमीलाई केन्द्रीत गर्न सकेको भए अझ राम्रो हुनसक्ने थियो । हो परिसंघले सरकारसँग मागका रुपमा राखेका केही विषय सान्दर्भिक छैनन् । तर साना उद्यमीलाई एक प्रतिशत व्याज कम गर्ने विषय खराब होइन र यही विषयलाई लिएर बैंकर्सहरु विरोधमा उत्रनु पनि जायज होइन । यो घटनाले बैंक वित्तमा कार्यरत कर्मचारी र मालीकलाई अलग गरेको छ । अलग गर्नु मात्रै नराम्रो हुँदैन तर यसले कालान्तरमा बैंकवित्त क्षेत्रलाई नै धक्का लाग्ने नतिजा ल्याउने संकेत देखाएको छ । बैकिङ क्षेत्रलाई राम्रो रोजगारीको क्षेत्र मानिन्छ । यदी कुनै क्षेत्र धेरै तलव खाने क्षेत्र छ भने त्यो बैंकिङ क्षेत्र नै हो । हाल एउटा बैंकर्सले मासिक २० लाखसम्म तलव लिएको अबस्था छ । यसरी हेर्ने हो भने बैंकमा लगानी गर्नेले पनि सोही अनुसारको नाफा खोज्नुलाई नाजायज मान्न मिल्दैन । जब संचालकको आखाँबाट धेरै तलव लिएको देख्ने र बैंकर्सको आँखाबाट संचालकले धेरै नाफा लिएको देख्ने हो भने अबस्था विग्रनतर्फ जान्छ । यहाँनिर व्यबस्थापन पक्ष र संचालक पक्षबीच बीच आएको फाटोले त्यहाँसम्म पु¥याउँछ । जव संचालकको आँखाबाट २० लाख तलव बुझ्ने बैंकर्सलाई त्यही नजरले हेरीन्छ यसको धक्का धेरै टाढासम्म पुग्न सक्छ ।
दुइपक्षका फरक फरक कुरा
बैंकर्स संघले संचालकलाई हस्तक्षेप नगर्न थप दवाव दिने तयारी गरेका छन् । यो विषयले बैंक संचालक र बैंक कर्मचारीबिचको विवाद उत्कर्ष तर्फ अघि बढेको छ । बैंकरहरुले कर्मचारी कटौती तथा प्रशाशनिक खर्च कटौतीमा पनि विरोध जनाएका छन् । उनीहरु कर्मचारीको बोनस रोक्ने कार्यमा पनि सहमत छैनन् । बैंकका प्रमुख अधिकृतका रुपमा कार्यरत सिइओहरुको संस्था बैंकर्स संघले यसको अनौपचारिक रुपमा प्रतिवाद गरेको छ । सिइओहरुको संस्था बैंकर्स संघ भएजस्तै संचालक र अध्यक्षहरुले पनि हालै बैंक तथा वित्तीय संस्था परिसंघको गठन गरेका थिए । बैंकर्स संघको अध्यक्षमा सानिमा बैंकका सिइओ भूवन दाहाल छन् भने संचालकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको अध्यक्षमा एनएमबी बैंकका अध्यक्ष पवन गोल्यान अध्यक्ष रहेका छन् । संचालकहरु व्यबसायी तथा उद्योगीहरु पनि छन् । बैंक तथा वित्तीय संस्था परिसंघ र बैंकर्स संघ बीच विवाद बढेपछि बेंकिङ क्षेत्रमा तरंग उत्पन्न भएको छ । यो विवाद राजनीतिक रुपमै तानिने संकेत देखिएको छ । बैंकर्स संघको नेतृत्व नेकपा विचारधारासँग नजिक रहेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यबसायीका कुरा भन्दा बैंकर्सका कुरालाई महत्व दिने देखिन्छ । स्रोतका अनुसार गभर्नरले बोल्ने कुरा र अर्थमन्त्रीले बोल्ने कुरामा भिन्नता रहँदैन । अर्थमन्त्री खतिवडाले दिने निर्देशनमै गभर्नर संचालीत हुन्छन् । अर्थमन्त्री खतिवडाले हालै नीजि क्षेत्रका उद्योगीहरु, उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श तथा उद्योग परिसंघका कुरालाई खासै महत्व दिएका छैनन् । यस कारण पनि उनले बैंक संचालकहरुका कुरा खासै सुन्ने देखिँदैन ।


