हाल विश्वमा महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) सम्पुर्ण विश्व मानव जातिको लागि चुनौतिको विषय बनिरहेको छ । विश्वको ७ महादेशमा विविध जातजाति, धर्म, संस्कृति तथा परम्परालाई अंगाल्दै आएको मानव जाति हाल कोरोना कहरले गर्दा एक भएको महशुस भइरहेको छ । जसरी नेपालमा वि.सं २०७२ बैशाख १२ गतेको विनाशकारी महाभुकम्पको समयमा सम्पुर्ण नेपाली समाज संत्रासमा बाँच्न विवश बनेको थियो ।
सन २०१९ को डिसेम्बर महिनामा चीनको वुहान शहरबाट उत्पति भएको यस भाइरसले हालसम्म विश्वका २१० देशलाई परिक्रमा मारिसकेको छ । विश्व स्वास्थ्य संगठन (WHO), तथा संंयुक्त राष्ट्र संघ (UNO) ले दोस्रो विश्वयुद्व पछिको अत्यन्त कठिन तथा मार्मिक अवस्था मानव जातिले भोगिरहेको उल्लेख गरेको छ । पछिल्लो समयमा विश्व अर्थतन्त्रमा अब्बल मानिने मुलुक संयुक्त राज्य अमेरिका (USA) नै बढी प्रभावित भइरहेको दृष्टान्तले अन्य मुलुकहरुलाई अझ चुनौति थोपारेको चित्रित भएको छ । मानिस संग मानिस डराउनु पर्ने कस्तो विवश तथा कारुणिक अवस्था बाट मानव जगत गुज्रिरहेको छ भनि कल्पना समेत गर्न नसकिने अवस्थाको सामना गरिरहनुपरेको वर्तमान अवस्थामा आफुलाई जन्म दिने आमा बा वा कर्म दिने जो कसैबाट पनि शत्रु सरह भागि भागि हिड्नु परिरहेको अवस्था छ । अझ बाह्य विश्वलाई हेर्ने हो भने मानिसको कारोना भाइरसबाट मृत्यु हुँदा समेत मलामि जानेको अभाव भएको छ, जुन नेपाली उखान “मर्दाको मलामि, बाँच्दाको जन्ती” को ठिक विपरित भएको महशुस गर्नु शिवाय अरु केहि गर्न सकिने अवस्था छैन ।
कोरोना भाइरस विश्वभर फैलिरहदा यसलाई नियन्त्रण गर्नको लागि मुलुकैपिच्छे फरक फरक शैलिहरु अपनाइरहेको पाइन्छ । कोरोनाको उद्गमस्थल चीन जसले एक राज्यबाट अन्यत्र फैलन नदिइकन नियन्त्रण गर्न सफल भयो भने दक्षिण कोरिया जसले परिक्षणको दायरा बृद्वि गरी नियन्त्रण उन्मुख रहदै आएको छ । विश्वको शक्तिशालि मुलुक भनेर चिनिने संयुक्त राज्य अमेरिकाले समेत धेरै समयपश्चात निश्चित राज्यहरुमा लकडाउन गरेको पाइन्छ । यसैगरि नेपालको दक्षिण तर्फको छिमेकी मुलुक भारतले मार्च २४ तारिक का दिन २१ दिनको लकडाउनको घोषणा गर्यो भने नेपालले समेत २०७६ चैत्र ११ गतेबाट प्रथम चरणका लागि ७ दिनको लागि लकडाउनको घोषणा गर्यो । हाल नेपालमा लकडाउनको समयावधि थपेर २०७७ बैशाख १५ गते सम्म कायम गरिएको छ ।
लकडाउन भनेको के हो ?
नागरिकहरुलाई अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घरबाट बाहिर हिडडुल गर्नको लागि निषेध गरिएको अवस्था नै लकडाउन (बन्दाबन्दी) हो । लकडाउन कफ्र्यु जस्तो कडा नभई बिहान वा बेलुका निश्चित समय तोकि दैनिक खाद्यान्न सामाग्री खरिद गर्नको लागि सहज बनाइएको हुन्छ । यस समयमा सार्वजनिक यातायातका साधनहरु चल्न निषेध गरिएको हुन्छ भने मानिसको भिडभाड हुने स्थल जस्तै : होटल, रेष्टुरा, सिनेमा हल, डिपार्टमेन्ट स्टोरहरु बन्द गरिएको हुन्छ । शाब्दिक अर्थमा जो जहाँ छ त्यही सुरक्षित रहनु नै लकडाउन हो ।
नेपालमा लकडाउन रहर कि बाध्यता ?
नेपाल एक भुपरिबेष्ठित मुलुक हो, जसको सिमानामा विश्वका शक्तिशालि उदयीमान मुलुकहरु भारत र चीन रहेका छन् । सबैलाई सर्बविदितै छ कारोना भाइरसको उद्गमस्थल मानिने मुलुक हाम्रो उत्तरी छिमेकी हो भने दक्षिण तर्फको छिमेकी समेत कोरोनाको दलदलमा फसिरहेको अवस्थामा नेपाल जस्तो सम्पुर्ण अवस्थाले कमजोर मानिने मुलुकको लागि लकडाउन बाहेक अन्य विकल्प नरहेको स्पष्ट छ । अझ नेपालका राजनैतिक दलका नेताको भनाइ सापटी लिने हो भने “रोटी बेटी” को सम्बन्ध रहेको मुलुकमा नै हालसम्म २० हजार भन्दा बढी संक्रमित भइसकेको र ६४० भन्दा बढी ब्यक्तिको मृत्यु भइसकेको अवस्थामा हाम्रो मुलुकले सम्पुर्ण सिमानाकाहरु सिलबन्दी गर्नु बाहेक अन्य बिकल्प छैन । नेपाल सरकारले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल समस्या निराकरण नभए सम्मको लागि बन्द गर्ने र सम्पुर्ण खुला सिमा नाकाहरुमा सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा आवश्यकता अनुसार नेपाली सेना समेत परिचालन गरी कडाइ गर्नाले बाह्य मुलुकबाट पर्न सक्ने असर कम गर्न सकिन्छ ।
कोरोना भाइरस नेपालमा विदेशबाट आएका ब्यक्तिहरुमा मात्र देखिएकोले कोरोनाको बितण्डको समयमा नेपालमा भित्रिएका सम्पुर्ण नेपालिहरुको समयमा नै स्वास्थ्य परीक्षण गरी निजहरु संग सम्पर्कमा रहेको सम्पुर्ण ब्यक्तिहरुको Contact Tracing गर्नाले भाइरसको फैलावट लाई नियन्त्रण गर्न सकिन्थ्यो । तर कछुवाको गतिमा भएको परिक्षण तथा खुला सिमा नाकाको समस्याले गर्दा कैयो नेपालिहरु मध्यरातमा समेत मुलुक भित्रिनाले लकडाउन निरर्थक सावित भएको छ । नेपालि जनताको मुर्खताले समेत लकडाउनलाई असफल तुल्याउन सहयोग गरेको भान हुन्छ । कोरोना भाइरसको महामारी तिब्र गतिमा फैलिरहेको र सो को कुनै उपचार समेत संभब नभएको भनि बारम्बार प्रचार प्रसार गरिएता पनि नेताको भनसुनमा पास बनाएर सो को दुरुपयोग गर्ने, अनावश्यक रुपमा बजारमा हिडडुल गर्नाले समेत रोगको संक्रमण फैलिन सहयोग पुगिरहेको छ । अझ पश्चिम नेपालमा लकडाउनको समयमा नै हजारौको संख्यामा मानिसहरु भेला भई मेला गएको समेत ज्वलन्त उदाहरणहरु सुनिन आएका छन् । विदेशी मुलुक ब्राजिल तथा संयुक्त राज्य अमेरिकामा समेत लकडाउनको विरुद्वमा नागरिकहरु सडकमा उत्रिएको खबर अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा छापिएका छन् । अत : नेपालमा पनि अन्तर्राष्ट्रिय सिमा नाकाहरु कडाई गरी आन्तरिक लकडाउनलाई सिमित क्षेत्रमा खुकुलो पार्नु जरुरत छ, सचेत नागरिकहरु आफै स्वनियत्रित हुन्छन् नै मर्न कसलाई पो रहर हुुन्छ र ।
लकडाउनको असर :
नेपाल सरकारले घोषणा गरेको एक महिना लामो लकडाउनले नागरिकहरु प्रताडित भएका छन् । कुल ३ करोड जनसंख्या मध्ये २१.६ प्रतिशत (करिब ६५ लाख) नागरिकहरु गरिबिको रेखामुनि रहेका छन् । लकडाउनको असरले हुने खाने भन्दा पनि हुुँदा खाने परिवारलाई नराम्ररी प्रभाव पारेको छ । नेपालमा संचालित ठुला ठुला गौरवका आयोजनाहरुमा कार्यरत कामदारहरु, विभिन्न उद्योगधन्दामा कार्यरत मजदुरहरु लामो समयदेखि काम विहिन भई बस्नुपर्दा बिहान बेलुका छाक टार्न धौ धौ परिरहेको छ । जसको परिणामस्वरुप सयौ किलोमिटरको दुरी पैदल यात्रा गरी आफ्नो घर तर्फको यात्रा तय गर्न कामदारहरु विवश भएका छन् । नेपाल सरकारले लकडाउनको समयमा अलपत्र परेका तथा दैनिक मजदुरी गर्ने वर्गलाई लक्षित गरि राहत वितरणको काम सुरु गरेतापनि उक्त राहत हुँदा खाने भन्दा हुने खानेको पोल्टोमा परेको तथ्य सार्वजनिक भएका छन् । सामाजिक संजालमा समेत ठट्यौलि शैलिमा १० के.जि. चामल राहत लिन लाइनमा बस्दा ५ तोलाको सिक्रि हराएको ब्यङ्ग समेत चर्चामा रहन पुग्यो । कोरोना कोषको नाममा संघिय, प्रदेश तथा स्थानीय सरकार गरी तिनै तहका सरकारहरुले बैंकमा खाता खोली रकम जम्मा गर्ने क्रम जारी छ । सो कोषको रकम क्वारेन्टाइनमा बसेका संकास्पद तथा संक्रमितहरुको खानपान तथा उपचार खर्च र मजदुर वर्गलाई राहत वितरण गर्नको निमित खर्च भइरहेको छ । यसर्थ, लकडाउनलाई केही मात्रामा खुकुलो गरी मजदुर वर्गलाई निश्चित नियम पालना गरि पुर्वाधार विकास तथा निर्माण कार्यमा निर्वाध रुपमा कार्य गर्ने वातावरण सिर्जना गर्न सकेको खण्डमा राहतको नाममा राज्यको करोडौ रकम दोहन हुनबाट बच्दछ जुन रकम मुलुकको पुर्वाधार निर्माणमा प्रयोग गर्न सकिने कुरामा दुई मत नहोला । वि.सं २०७२ सालको विनासकारी महाभुकम्प तथा त्यसपछिको नाकाबन्दीको मारबाट भर्खर बामे सर्दै गरेको मुलुकमा वर्तमान कोरोना आतंकको कारणले सिर्जित लकडाउनको कारणले अझ पाँच वर्ष पछि धकेल्नेछ भन्दा अत्युक्ति नहोला ।
लकडाउका विकल्पहरु :
“मर्नुभन्दा बौलाउनु निको” भने जस्तै मुलुकमा जारी लामो समयको लक डाउनको कारण खान नपाई मर्नुभन्दा मजदुर तथा नागरिकहरुले बिद्रोह गरेमा भयावहको स्थिति सिर्जना नहोला भन्न सकिन्न । तसर्थ, मुलुकलाई सामाजिक, आर्थिक तथा राजनैतिक रुपमा सबल तुल्याउनको लागि लकडाउनको निम्न बिकल्पहरु बारे एकपटक सोच्ने पो हो कि ?
• हालसम्म करिब २८ हजार नागरिकको मात्र स्वास्थ्य परीक्षण गरिएकोले सो को दायरालाई तिब्र रुपमा विस्तार गर्ने ।
• हाल संक्रमणको जोखिममा रहेको उदयपुर, बाग्लुङ तथा पश्चिम नेपालका अन्य जिल्लाहरुलाई सिल गरेर तिब्र रुपमा परिक्षण गर्नको लागि पर्याप्त मात्रामा स्वास्थ्यकर्मी तथा उपकरणहरुको ब्यवस्था गर्ने तथा मुलुकका अन्य स्थानमा आन्तरिक आवागमनको स्थितिलाई सहज बनाउने ।
• अत्यावश्यक सामाग्रीहरु उत्पादन गर्ने उद्योगधन्दा, कलकारखाना तथा बिकास निर्माणका कार्यहरुमा काम गर्ने मजदुरहरुको स्वास्थ्य परीक्षण गरि कार्य गर्ने वातावरणको सिर्जना गर्ने जसले गर्दा लकडाउनको समयमा सबैभन्दा बढी पिडित मजदुर वर्गको चुल्होमा आगो बल्छ ।
• हालसम्म पनि लकडाउनलाई अवज्ञा गरि भारतको बाटो हुँदै आधारातमा नेपाल भित्रिने नागरिकलाई नियन्त्रण गर्नको निमित नेपालि सेना समेत परिचालन गरि सिमा नाकालाई थप कडाई गर्ने ।
• विश्वमा महामारिको रुपमा देखापरेको कोरोना भाइरस बाह्य जगतमा नियन्त्रण नभए सम्मको लागि नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने ।
• मुलुकका विभिन्न स्थानमा अलपत्र परेका नागरिकहरुलाई उपर्युक्त माध्यम अपनाई आवश्यक स्वास्थ्य जाँच गरि गन्तव्यस्थल सम्म पुर्याउने ब्यवस्था गर्ने ।
अत : मुलुकका नागरिकको दैनिकीलाई सहज तुल्याउनको लागि तथा राज्यको ढुकुटीलाई नियन्त्रण गर्नको लागि लकडाउनलाई केही हदसम्म खुकुलो बनाई विकास निर्माणका कार्यहरुलाई निरन्तरता दिई सामाजिक, आर्थिक तथा राजनैतिक रुपमा मुलुकलाई अग्रदिशा दिनु नै आजको आवश्यकता हो ।
(खत्री कृषि बिकास बैंक रवि, पाँचथरमा कार्यरत हुनुहुन्छ । )
