२०७७ बैशाख १० गते

अन्तत : बैंकिङ ऋणमा १ प्रतिशत भन्दा बढी व्याज नघट्ने

बैंकिङ खबर । अन्तत बैंकहरुले कर्जातर्फको व्याजदर १ प्रतिशले घटाउने संकेत प्रष्ट देखिएको छ । बैंकरहरुको योजना अनुसार व्याजदर १ प्रतिशतले घट्ने देखिएको हो । हालको अबस्थासम्म नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालय मौन रहेका छन् । बैंकबाट कर्जा लिएर उद्यमशीलता गरेका ऋणीहरुलाई सहुलीयत दिनेबारे राष्ट्र बैंकले केही बोलेको छैन भने अर्थमन्त्री मौन छन् । अर्थमन्त्रीकै निर्देशनमा नेपाल राष्ट्र बैंक चल्ने अनुमान छ । ऋणको व्याज बैंकहरु आफैले निर्धारण गर्दा १ प्रतिशतसम्म घट्ने र राष्ट्र बैंकले सहुलियत दिएमा सोही अनुसार घटाउन सकिने बैंकिङ खबरलाई एक बैकरले बताए । उनका अनुसार उक्त व्याजदर जेष्ठ १ गतेबाटै लागु गर्नेगरी बैंकहरु अघि बढेका छन् । उनले भने ‘ऋणमा पनि १ प्रतिशतकै हाराहारीमा व्याज घट्छ, राष्ट्र बैंकले सहुलीयत दिएमा सोँच्न सकिन्छ ।’

बैंक तथा वित्तीय संस्था परिसंघको निर्णय 

यता बैंक संचालकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले साना तथम मझैला उद्यमीहरुलाई कर्जातर्फ १ प्रतिशत व्याज घटाउने भएको छ । संघले गरेको निर्णय अनुसार बाणिज्य बैंकहरुले साना तथा मझौला उद्यम व्यवसाय (एसएमई) लाई दिइएको १ करोड रुपैयाँसम्मको ऋणमा १ प्रतिशत र विकास बैंकहरुले ४० लाख रुपैयाँसम्मको तथा फाइनान्स कम्पनीहरुले २० लाख रुपैयाँसम्मको एसएमई कर्जामा १ प्रतिशत व्याज घटाउने सहमति भएको छ । त्यसैगरी संघले भुक्तान हुन बाँकी बैशाख मसान्त सम्मको कर्जा व्याजमा १० प्रतिशत छुट दिने निर्णय पनि गरेको छ । तर यस्तो रकम बैशाख मसान्त सम्म भुक्तानी गरीसक्नुपर्नेहुन्छ । संघका अनुसार बैंक तथा वित्तीय संस्थाका नियमित ग्राहकहरुले वैशाख मसान्तसम्ममा चुक्ता गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, साँवा र ब्याज बैशाख मसान्तसम्म भुक्तानी गरेमा तिर्न बाँकी रहेको वक्यौताको साधारण व्याजको १० प्रतिशतव्याज छुट गर्ने निर्णय गरेको छ । साथै व्याजको जरिवानामा शतप्रतिशत रकम छुट प्रदान गर्ने निर्णय पनि गरेको छ । संघले उक्त सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालू पुँजी कर्जा तथा बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका उपाध्याक्ष्य तथा प्रबक्ता भोजबहादुर शाहद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । संघले बैंकिङ क्षेत्रको प्रशाशनिक तथा कर्मचारी खर्चमा सकेसम्म कम गर्ने निर्णय पनि गरेको छ ।

निक्षेप तर्फको व्याज

सबैजसो बैंकहरुले निक्षेपमा व्याज घटाइसकेका छन् । अधिकाँस बैंक वित्तीय संस्थाले बैशाख १ गतेबाट व्याजदर घटाएका हुन् । सबैजसो बैंकहरुले यस अघिको ज्याजदरमा १ प्रतिशतका दरले व्याजदर घटाएका छन् । बचतखातामा र मुद्धति खातामा यसअघि पाउँदै आएको व्याजमा बैंकहरुले कटौती गरेका हुन् । 

बैंकहरुले एक वर्षे ब्यक्तिगत मुद्दतिको ब्याज दर एक प्रतिशतले झारेर बढीमा ८.७५ प्रतिशत कायम गरेका छन् । यसअघि बैंकहरुले ९.७५ प्रतिशतसम्म ब्याज दिँदै आएका थिए । त्यसैगरी बचत खातामा बढीमा ५.५ प्रतिशत व्याजदर दिने भएका छन् । यसअघि ६.५ प्रतिशत व्याज दिँदै आएका थिए । बैंकर्स संघले एक साताअघि नै व्याजदर घटाउने निर्णय गरेको थियो । बैंकहरुले आधार दरमा लिने अधिकतम प्रिमियम दर पनि एक प्रतिशत विन्दुले घटाएका छन् । यसको कार्यान्वयन भने जेठ १ गतेबाट हुने बताइएको छ ।

विकास बैंकहरुले पनि निक्षेपमा व्याजदर घटाएका छन् । विकास बैंकहरुले व्यक्तिगत मुद्धतिमा नौ प्रतिशत र संस्थागत मुद्धतिमा आठ प्रतिशत व्याज दिने सहमित गरेका हुन् । त्यस्तै, बचतमा छ प्रतिशत व्याज दिने विकास बैंकहरुको सहमति रहेको छ ।

फाइनान्स कम्पनीहरुले पनि निक्षेपतर्फ व्याजदर घटाएर लागू गरिसकेका छन् । फाइनान्स कम्पनीहरुले एक वर्षसम्मको निक्षेपमा ९।५ प्रतिशत, दुई वर्षभन्दा बढीको ९.७५ प्रतिशत र बचतमा ६.५ देखि ७.२५ प्रतिशत व्याज दिने निर्णय गरेका छन् । निर्णयअनुसार अधिकांशले व्याजदर घटाइसकेका छन् भने केही घटाउने क्रममा रहेका छन् । निक्षेपको ब्याजसँगै आधार दर पनि घट्ने भएकाले सोही अनुसार ऋणको ब्याज पनि घट्नेछ ।

ऋणको ब्याज जेष्ठ १ गतेबाट घट्ने

आगामी जेठ १ गतेबाट लागु हुनेगरी ऋणको ब्याज घट्ने बताइएको छ । ऋणको व्याजदर कसरी घटाउने भन्नेबारे टुंगो लागेको छैन । यसबारेमा अर्थमन्त्रीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेर निर्णय लिने बताएका थिए । नीजि क्षेत्रका तर्फबाट ऋणीहरुले केहीमहिनाको व्याजदर मिनाहा गर्न अर्थमन्त्रीलाई आग्रह गरेपनि अर्थमन्त्रीले यसमा वास्ता गरेका छैनन् । उता भर्खरै मात्र नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएका गभर्नर महाप्रसाद अधिकारीले व्याजदरमा छुट दिन नसकिने बताइसकेका छन् । अर्थमन्त्रीकै निर्देशन अनुसार राष्ट्र बैंक अघि बढ्ने राष्ट्र बैंक स्रोतले जनाएको छ । व्याजदरका बारे हतारमा केही निर्णय नगर्न अर्थमन्त्री खतिवडाले गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएको बताइएको छ । सोही अनुसार हाल निक्षेप तर्फको व्याजदर घटाइएको हो । तथापी हालको असहज अबस्थामा बैंकमा निक्षेप संकलन बढ्ने देखिदैन । निक्षेपतर्फको व्याजदर घटाएअनुसार कर्जातर्फ केही प्रतिशत व्याजदर घट्ने अपेक्षा गरिएपनि अन्तत १ प्रतिशतकै रेसीयोमा व्याजदर घट्ने अनुमान गरिएको छ । बैंक संचालकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले गरेको नयाँ निर्णयसँगै व्याजदर सो भन्दा बढी नघट्ने प्रक्षेपण गर्न कठिन छैन । तर यसका लागि जेष्ठ १ गतेसम्म पर्खनुपर्ने छ । यस अघि राष्ट्र बैंकले ३ महिने सहुलीयत घोषणा गर्दै वेस रेटमा १ प्रतिशत घटाएको थियो । तर कतिपय ऋणीले ३ महिने सहुलीयत नपाएको र बैंकले खाताबाट रकम काटीसकेको आरोप लगाएका छन् ।