२०७७ बैशाख ९ गते

लकडाउनमा लाइफ इन्स्योरेन्स : सेवा सूचारु, व्यबसाय ठप्प (शिवनाथ पाण्डेसँगको अन्तरवार्ता)

बैंकिङ खबर । कोरोना संक्रमणको सन्त्रास तथा लकडाउनका कारण वित्तीय क्षेत्रमा विभिन्न असरहरु पर्ने देखिएको छ । बैंकिङ, बीमा र यससँग जोडीएका वित्तीय क्षेत्रमा यसको असर केहीसमय पछाडि देखिने छन् । नेपालको बीमा क्षेत्र र विशेषगरी जीवन बीमा क्षेत्र पछिल्लो समय विकास र विस्तारको क्रममा रहेको छ । तथापी यही अबस्थाका बीच कोरोना संक्रमणको सन्त्रास र लकडाउनका कारण जीवन बीमाको क्षेत्रलाई पनि पछाडि धकेल्ने देखिन्छ । लकडाउनले गर्दा रेगुलर बीमा शुल्क भुक्तानी  वा नयाँ बीमा गर्नेहरुको संख्या खासै छैन । सामान्य कार्यलयहरु सम्पर्कका माध्यमबाट संचालन गर्ने र अफ्ठ्यारो अबस्थालाई व्यबस्थापन गर्ने कामहरु भने संचालन भइरहेको बताइएको छ । यसै सन्दर्भलाई लिएर जीवन बीमक संघका अध्यक्ष तथा सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेसँग बैंकिङ खबरका लागि अपेक्षा ढुंगानाले हालको स्थितिमा लाइफ इन्स्योरेन्सको अबस्थाको बारे तीन प्रश्न राख्नुभएको छ ।

हाल लकडाउनको अबस्थामा जीवन बीमा कम्पनीहरुले सेवा कसरी अगाडि बढाएका छन् ?
लकडाउनको समय छ । सबैभन्दा महत्वपूर्ण सुरक्षाको नै रहेको अबस्थामा कामहरुको कुरा दोस्रो भएर आएको छ । यो अबस्थामा कर्मचारी र सर्वसाधारण मुभ हुन सकेका छैनन् । मुभ नभइ सेवाग्राही आउन सक्दैनन् । तर पनि हामीले पूर्ण रुपमा काम ठप्प पारेका छैनौं । कोही बीमाको प्रीमीयम तिर्न चाहने अथवा अन्य केही सुबिधाका लागि इच्छुक हुनुभएमा उहाँहरुलाई सम्पर्क नंबर दिएर कर्मचारी परिचालन गरेका छौं । यसमा आवश्यक्ता अनुसार लगानीका लागी तथा अनलाइन मार्फत सिमित र नरोकिनुपर्ने कार्यहरु निकै सावधानी पूर्वक अफिसबाट र डिजिटल मार्फत सुविधा दिइरहेका र्छौ ।

लकडाउनले जीवन बीमालाई कस्तो असर गर्दै छ ?
वास्तवमा अहिलेको परीस्थितीमा जीवन बीमालाई नराम्रै असर गरेको छ । हाल सामाजिक दुरी कायम राख्नुपर्ने भएकाले त्यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने, नयाँ पोलीसीहरु विक्री गर्ने तथा भइरहेको कामलाई निरन्तरता दिने जस्ता कार्यहरु करिव करिव ठप्प रहेको अबस्था छ । हाल लकडाउन अवधिभर यी कार्यहरु सम्भव छैनन् । पहिला इन्स्योरेन्स गरेका व्यक्तिहरुले आफ्नो नविकरण गर्ने कार्यहरुमा पनि समस्या आइरहेको अवस्था छ । रेगुलेटरहरुले पनि चैतको तिर्नुपर्ने रकमहरु पोस्टपन्ड गर्न निर्देशन दिएका कारण अहिले बुझाउनु पर्ने रकम बुझाउन आउने काम भएको छैन । राज्यले दिएको सुविधा छँदैछ भन्ने भएर प्रिमियम तिर्न आउँदैनन् नै । त्यस्तै लकडाउनले गर्दा एक ठाउँबाट अर्को ठाउँमा जान मुस्कील अबस्था छ । कर्मचारीहरु पनि ग्राहक समक्ष जान सक्ने अवस्था छैन, ग्राहक पनि आफै आएर पैसा तिर्न सक्ने अवस्था छैन । यस्तै बैंकहरु पनि नियमित समयमा सबै ठाउँमा खुलेका छैनन् । सिमित ठाउँ, सिमित समय र सिमित कारोबार मात्रै भएका छन् । बैंकहर रकम झिक्न र राख्नका लागि मात्र प्रयोग भएका छन् । सबैलाई जान सक्ने अबस्था पनि छैन । अत्यावश्यक वस्तुका लागि त मानिसहरु डराएर हिड्ने अवस्था छ । यस्तो बेला प्रिमियम तिर्न अथवा बीमा पोलीसी किन्न जाने र आउने अबस्था छैन । समग्रमा भन्नुपर्दा जीवन बीमा हाल कोभिड १९ को मारमा छ । यस्तै बैंकहरुले पछिल्लो क्रममा देशको अर्थतन्त्रलाई मध्यनजर गर्दै बैंकर एशोसीएशन मार्फत साढे ९ प्रतिशतमा गरेको लगानी घटाएर ८ प्रतिशत सम्ममा ल्याएका छन् । त्यसमा पनि साढे १ प्रतिशत मेजर इनकम लगानीयोग्य रकमहरु पनि बैंक तथा वित्तीय संस्थामै छ । त्यसकारण त्यो पाटोमा पनि केही रकम घट्ने र अब आउने बिजनेसहरुमा पनि लकडाउन खोलिसकेपछि पुन बिजनेसमा ग्रोथ आउने अथवा तुरुन्त हुँदैन । नयाँ व्यबसाय वा नयाँ कामतर्फ पनि तत्कालै मानिस जाँदैनन् जसले गर्दा व्यबसाय विस्तार हुन र भएका व्यबसाय सूचारु हुन समय लाग्ने देखिन्छ । यस्तो अबस्थामा निश्चय नै जीवन बीमाको क्षेत्रमा केही समस्याहरु आउन सक्ने देखिन्छ । यसर्थ पहिलेकै अवस्थामा जसरी आउनुपर्ने बिजनेस हो त्यही अवस्थामा सुचारु हुन समय लाग्नेछ । यस अवस्थामा फिक्स एसेस्टहरु यथावत नै रहने, भइरहेका खर्चहरु पनि भइरहने तर विजनेसमा गीरावट आउने लगानी गरेको रकमबाट आउनुपर्ने रकम पनि बैंकहरुको रेट कटौतीको कारणले इनकम घट्ने जस्ता कुराहरु छन् । फलस्वरुप जीवन बीमा कम्पनीहरुको व्यबसायमा ह्रास आएको छ ।

यस अबस्थालाई हेर्दा जीवन बीमा कम्पनीलाई दिर्घकालीन असरहरु के के पर्न सक्छन् ?
यसमा बिजनेस, लगानी र खर्चले असर गर्ने देखिन्छ । हाम्रो सबैभन्दा ठुलो आम्दानीको पाटो लगानीको हो । कतिपय कुराहरु बैंकिङ सेक्टरमै भर पर्ने गर्दछ । अब बैंकले रेट घटाउने भन्ने बितिकै हाम्रा इनकमहरु पनि बैंकमै जान्छन् । खर्चको पाटोमा कटौती गर्ने आधारहरु छैनन् । कर्मचारीका तलब, घरभाडा, प्रशासनिक खर्च कायमै छ । अहिलेको समय काम गर्ने समय थियो, सिजनको समय थियो तर कोरोना सन्त्रास र लकडाउनले गर्दा अब जीवन बीमा कम्पनीहरुलाई पुरानै अबस्थामा फर्कन र अगाडि बढ्न केही समय लाग्छ नै । यो असरले पछि सम्म नै प्रभाव पार्ने देखिन्छ ।