मर्जर सम्झौता गरेर अन्तिम समयमा मर्जरमा नजाने निर्णय गरेका जनता बैंक र माछापुछ्रे बैंकले नेपाल राष्ट्र बैंकबाट मर्जर तोड्ने स्वीकृति पाएपछि दुवै बैंकको शेयर कारोबार सोमबारबाट सुचारु हुने भएको छ ।शुक्रबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले यी २ बैंकलाई मर्जर तोड्न स्वीकृति दिएको हो । मर्जर प्रकृयामा गएको १० महिना पछि यी दुई बैंकले मर्जर तोड्ने स्विकृति पाएका हुन् ।
राष्ट्र बैंकले मर्जर तोड्न दिएको स्वीकृतिको निर्णयको पत्र दुवै बैंकले लिएका छन् । दुबै बैंकले नेपाल स्टक एक्सचेञ्जमा राष्ट्र बैंकले मर्जर तोड्न दिएको स्वीकृतिसंगै शेयर कारोबार सुचारु गराउने सम्बन्धी कागजात नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडमा आइतबार बुझाएको बताइएको छ । नेपाल स्टक एक्सचेजले आवश्यक प्रकृया पुरा गरेपछि सोमबारदेखि दुवै बैंकको शेयर कारोबार सुचारु हुनेछ ।
