अपेक्षा ढुंगाना, बैंकिङ खबर ।
प्रीय सरकार,
तिमिलाई कोटी कोटी प्रणाम छ । यति कुरा सुनिदेउ, मैले आजको डायरी तिम्रो नाममा लेखेकी छु ल ।
आज विहानै घरबेटीले फोन गर्नुभयो । ‘नानी भेट्न हुँदैन, मोवाइलमै खाता नम्मर पठाइदिएको छु घरभाडा जम्मा गरिदिनु बैंक खुलै छ, पैसाको कारोबार गरिहाल्नुपर्छ ।’ अनि मैले घरबेटी बा लाई भने ‘घरबेटी बा यसपाली त चैत महिनाको घरभाडा छुट गर्ने कुरा छ त ।’ मेरो कुरा सुनेपछि
– घरबेटी बा ‘होइन नानी, कसले भन्यो र ? मैले छुट दिन्छु भनेर भनेको छैन, मेरो त जागीर भनेपनि नोकरी भनेपनि यही त हो ।’
– म ‘होइन घरबेटी बा सरकारले भनेको छ त ।’
– घरबेटी बा ‘सरकारले राहत दिन्छु भनेको होला, नत्र यसो गर । म उपाय दिन्छु, सरकारसँग मागेर तिमिले राख, मलाई आजै जसरी पनि जम्मा गरिदेउ है ।’
घरबेटी बाले यति भनेर फोन राखिदिनुभयो । म अक्क न बक्क भएँ ।
बैंकले किस्ता काटेको एकहप्ता भइसकेको छ । मेरो बैंकले बल्ल बल्ल ऋण दिएको । कति धेरै प्रोसेस गरेर त्यति दुखले बल्ल बल्ल दिएको कर्जा । उसले किस्ता काटीसकेपछि बल्ल थाहा भयो । राष्ट्र बैंकले ३ महिनाको किस्ता पछि बुझाउनु भनेको रहेछ । बैंकलाई कसरी भन्नु ? कहाँ भन्नु मैले खासै मेसो पनि पाइनँ । एउटा स्कुटी निकालेको । किस्ता त्यही स्कुटीको थियो । बैंकसम्म जान पनि प्रहरीले दिँदैन । कोरोना लाग्ला भन्ने अर्कोतिर आसंका लागेर कहीँ कतै निस्किएकी छैन ।
एक मनले भन्छ ‘विदेशबाट आएकाहरु कोरोना बोकेर कताकता भौताँरीदै होलान् । मलाई सरकारले थुनीराको छ । म हिँड्दा त सुरक्षित हिड्ने थिएँ नि । तर सरकारले हिड्नै दिँदैन । बैंकमा जान पनि सकिएको छैन । बैंकले किस्ता काटेपछि खातामा पैसा पनि छैन । घरबेटीलाई पैसा बुझाउनुपर्ने । म जागीरे मान्छे । दैनिकी काम गरेर खाने व्यक्ति पनि होइन राहत माग्न जाउँ भने । मलाई अफिसले नो वर्क नो पे भनेर सूचना गरेको छ । काम पनि छैन । पैसा पनि छैन । कसलाई भन्नु ? गाउँमा आमा बुबाको कमाई पनि छैन । घरबेटी बा भन्नुहुन्छ ‘स्कुटी चढेर सररर हिड्ने मान्छे १० हजार भाडा पनि छैन त ? उहाँले भनेजस्तै म स्कुटी चढेर हिड्ने मान्छे हुँ । तर बैंकमा महंगो व्याज तीरेर ऋण निकालेको कुरा घरबेटीलाई के थाहा ?
मनमा के के कुरा खेलाउँदै थिएँ, मोवाइलमा म्यासेज आयो । इन्टरनेट काटीएछ । ल्यापटप अन गरेँ, काम नै गरेन । आखिर इन्टरनेटले पैसा नदिएका कारण काटेको रहेछ । बल्ल बल्ल रिक्वेस्ट गर्दा २ दिनसम्म्मको इन्टरनेट जोड्न मिल्ने कुरा भयो । म धेरैतिरबाट घेरिएँ ।
लौन सरकार घरमा चामल छैन, राहत मागुम त मसँग स्कुटी छ, ल्यापटप छ । तर खाने खर्च छैन ।
सरकार तिमी दुई तिहाईको छौं । तिमी बलीयो छौ । तर तिमीले भनेको कसैले मानेनन्, घरबेटीले पनि मानेनन् । न त बैंकले नै मान्यो । न त इन्टरनेटले मान्यो । के तिमीले राहत प्याकेज भन्दै फुकेको कुरा नाटक नै थियो त ?
