बैंकिङ खबर । देशभित्र कोरोना संक्रमण बढ्दै गएपछि लक डाउन थप गरिएको छ । चैत्रको दोस्रो सातादेखि सुरु भएको लक डाउन पटक पटक समय थप गर्दै बैशाख १५ गतेसम्म घोषणा गरिएको छ । लक डाउनबाट देशको आर्थिक क्षेत्रमा ठूलो असर परेको छ । उद्योग व्यवसायहरु संचालन गर्ने अवस्था नभएपछि आम्दानी बन्द भएको छ ।
उद्योगी एवम् व्यवसायहरु बैंकको व्याजदर घटाउन माग गरिरहेका छन् । कर्मचारीलाई तलब खुवाउन समेत पैसा नभएको भन्दै उनीहरुले कम व्याजदरमा कर्जा दिन माग गर्दै आएका छन् । नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीलाई नै भेटेर चेम्बर अफ कमर्श, उद्योग वाणिज्य महासंघ लगायतले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने ऋणको व्याजदरमा सहुलियतको माग गरेका छन् ।
यता, वाणिज्य बैंकहरुले धमाधम निक्षेपको व्याजदर घटाइरहेका छन् । बैंकहरुले एक वर्षे ब्यक्तिगत मुद्दतिको ब्याज दर एक प्रतिशतले झारेर बढीमा ८.७५ प्रतिशत कायम गरेका छन् । यसअघि बैंकहरुले ९.७५ प्रतिशतसम्म ब्याज दिँदै आएका थिए । त्यसैगरी बचत खातामा बढीमा ५.५ प्रतिशत व्याजदर दिने भएका छन् । यसअघि ६.५ प्रतिशत व्याज दिँदै आएका थिए । बैंकर्स संघले एक साताअघि नै व्याजदर घटाउने निर्णय गरेको थियो । बैंकहरुले आधार दरमा लिने अधिकतम प्रिमियम दर पनि एक प्रतिशत विन्दुले घटाएका छन् । यसको कार्यान्वयन भने जेठ १ गतेबाट हुने बताइएको छ ।
विकास बैंकहरुले पनि जेठ १ गतेदेखि लागू हुने गरी व्याजदर घटाउने सहमति गरिसकेका छन् । विकास बैंकहरुले व्यक्तिगत मुद्धतिमा नौ प्रतिशत र संस्थागत मुद्धतिमा आठ प्रतिशत व्याज दिने सहमित गरेको डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष गोविन्द प्रसाद ढकालले बताए । त्यस्तै, बचतमा छ प्रतिशत व्याज दिने विकास बैंकहरुको सहमति रहेको छ ।
फाइनान्स कम्पनीहरुले व्याजदर घटाएर लागू पनि गरिसकेका छन् । वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरका अनुसार फाइनान्स कम्पनीहरुले एक वर्षसम्मको निक्षेपमा ९.५ प्रतिशत, दुई वर्षभन्दा बढीको ९.७५ प्रतिशत र बचतमा ६.५ देखि ७.२५ प्रतिशत व्याज दिने निर्णय गरेका छन् । निर्णयअनुसार अधिकांशले व्याजदर घटाइसकेका छन् भने केही घटाउने क्रममा रहेका छन् । निक्षेपको ब्याजसँगै आधार दर पनि घट्ने भएकाले सोही अनुसार ऋणको ब्याज पनि घट्नेछ ।