आँखुखोला जलविद्युत् कम्पनीले आठ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यका आठ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । साधारण सेयर जारी गर्नका लागि कम्पनीले धितोपत्र बोर्डमा आवेदनसमेत दिइसकेको छ । धितोपत्र बोर्डले भने आगामी साउनमा साधारण सेयर जारी गर्न अनुमति दिने तयारी गरेको छ ।
धादिङको मार्पाकमा आँखुखोलामा निर्माण गरिएको आँखु खोला जलविद्युत् आयोजनाले ८.४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । यस्तै सोही कम्पनीले २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत् आयोजना निर्माण गर्ने जनाएको छ । धादिङको लापा र सेर्तुङ गाविसमा आयोजनास्थल रहेको सो आयोजना निर्माण कार्य आगामी हिउँदबाट सुरु गर्ने कम्पनीको योजना छ । आयोजनाको कुल लागत चार अर्ब ३७ करोड रहेको छ । कम्पनीले विद्युत् खरिद बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणमा निवेदन दिइसकेको छ ।




