Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ क्षेत्रमा कर्जा जोखिम : ‘एकिन तथ्य आउन’ समय लाग्ने

२०७६ चैत्र २८ गते

बैंकिङ खबर । कोरोना संक्रमणको त्रासमा देशवासीहरु लक डाउनमा छन् । प्रायः आर्थिक गतिविधिहरु बन्द रहेका कारण आम्दनीका स्रोतहरु बन्द छन् भने भएको बचत खर्च गरेर मानिसहरु दैनिकी व्यतित गरिरहेकाछन् । बैंकमा भएको बचत निकालेर खर्च गर्नुपर्ने अवस्था आएको छ । बैंकबाट कर्जा लिएर सुरु गरिएका व्यापार व्यवसाय धरापमा छन् । जसकारण व्यवसायीहरुको कर्जा चुक्तागर्ने क्षमता कमजोर भएको छ । यसै विषको विश्लेषण गर्दै बैंकिङ क्षेत्रको उच्चकर्जा जोखिमको आँकलन गर्न थालिएको छ । यद्यपि, अहिले नै बैंकिङ क्षेत्रमा पर्ने प्रभावको विश्लेषण गर्ने बेला नभएको बैंकरहरुको धारणा छ । राष्ट्र बैंकले वित्तीय अर्थतन्त्र जोखिम बारे अध्ययन समिति बनाउने भएको छ ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष समेत रहेका गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल समग्र अर्थतन्त्रमा प्रभाव परिरहेको यस अवस्थामा बैंकिङ क्षेत्र पनि अछुतो रहन नसकेको बताउँछन् । तर, बैंकिङ क्षेत्रमा परेको स्पष्ट प्रभाव अझपछि देखिने उनको भनाई छ । होटल व्यवसाय, टुरिजम, यातायात सबै ठप्प भएको हुनाले उनीहरुलाई कर्जाको सावाँ व्याज तिर्न धेरै गाह्रो परिरहेको उनले बताए ।

बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा हालसम्म बैंकिङ क्षेत्रमा कुनै असर नपरेको बताउँछन् । “आजसम्मको स्थितीमा प्रभाव बैंकिङ क्षेत्रमा परेको छैन,”उनले बैंकिङ खबरसँग भने,“अन्य क्षेत्रमा तत्काल असर देखिन्छ, तर बैंकिङमा २।३ महिनापछि त्रैमासिक भुक्तानी गर्ने समयमा देखिन्छ ।” चालू आर्थिक वर्षको आठमहिना राम्रोसँग काम गरिसकेकाले यो आर्थिक वर्षमा समस्या नदेखिने उनको धारणा छ । “दुई हप्ता नचल्दा बन्द हुँदैमा समस्या हुने गरी व्यवसाय चलाइएको हुँदैन । प्लानिङ त हुन्छ नै,” उनले भने । राष्ट्र बैंकले ल्याएको तीन महिने सहुलियतका कारण पनि बैंकहरुले नर्मल रुपमा काम गर्न सक्ने वातावरण बनेको उनको भनाई छ । त्यसपछिसम्म लक डाउन रोकिएन र संक्रमण बढ्यो भने मात्रै बैंकिङ क्षेत्रमा जोखिमको अवस्था बढ्ने भएकाले अहिले नै मूल्यांकन गर्ने समय नभएको उनले बताए ।

वित्तीय संस्था संघका अध्यक्ष समेत रहेका गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधर पनि कोरोनाबाट यति नै प्रभाव पर्यो भनेर जोखिम मूल्यांकन गर्ने बेला नभएको बताउँछन् । ‘‘महामारी फैलिएन भने लकडाउन अर्को महिना लम्बिए पनि फरक पर्दैन,”उनी भन्छन्,“महामारी फैलिन थाल्यो भने चाहिँ भयावह अवस्था हुन्छ ।” यसका लागि लक डाउनलाइ सफल बनाएर बस्नु एक मात्र उपाय रहेको उनको भनाई छ । जोखिम मूल्यांकन गर्ने भन्दा पनि अहिलेको अवस्थालाई कसरी गुजार्ने र कसरी थप फैलिन नदिने भन्ने तर्फ ध्यानदिनुपर्ने उनको भनाई छ ।

आर्थिक क्रियाकलापको चेन नै अवरुद्ध भएका कारण माइक्रोफाइनान्स क्षेत्र पनि प्रभावित भएको लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा बताउँछन् । लघुवित्तको लक्षित वर्ग अधिकांश विपन्न र अरुसँग पहुँच नभएका छन् । आर्थिक क्रियाकलाप बन्द भएका कारण यीनै गरिखाने वर्गलाई धेरै असर गरेको उनको भनाई छ । उनी भन्छन्, “कर्जा पनि दिन सक्ने अवस्था छैन । कतिपय अवस्थामा चाहिँ अलिअलि जम्मा भएको रकम पनि भुक्तानी लिन पाएका छैनन् ।” तर, अहिले कर्जा असुल गर्नेतर्फ सोच्ने बेला नभएको भन्दै उनले स्वास्थ्य अवस्थामा ध्यान दिई कसरी सामान्य अवस्थामा फर्कने भन्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

Ad