२०७६ चैत्र २५ गते

नेपाली अर्थतन्त्रमा कोरोना प्रभाव र यसले सिकाएको पाठ

 सुरज घिमिरे- 

चीनको वुहान सहरदेखि गत डिसेम्बरबाट सुरु भएको कोरोना (कोभिड १९) भाइरसको प्रभाव अहिले २०५ देशहरुमा फैलिसकेको छ । पछिल्लो तत्थ्यांक (चैत्र २५ गते दिउंसोको १२ बजे) अनुसार यस रोगबाट करिब १३ लाख ४७ हजार मानिस संक्रमित छन् भने करिब ७४ हजार ७ सय मानिसले यही रोगका कारण आफ्नो ज्यान गुमाउनु परेको छ । यद्धपि २ लाख ८६ हजार मानिसहरु निको पनि भएका छन् । एकातिर संक्रमित र मृत्यु हुनेहरुको आंकडा दिनप्रतिदिन बढ्दै गएको छ भने अर्काेतिर प्रायजसो देशहरु लकडाउनमा गएकाले मानिसको जनजीवन कष्टकर बन्दै गएको छ । अमेरिका, इटली, फ्रान्स, जर्मन, चाइना लगायतका देशहरुमा यसको ठूलो असर देखिएको छ भने यसको प्रभाव सबैजसो मुलुकमा देखिन थालेको छ । कोरोना महामारीलाई विश्व स्वास्थ्य संगठनले ग्लोबल इमरजेन्सीको रुपमा घोषडा गरिसकेको छ भने अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जियावाले कोरोनाको प्रभाव २००८ को विश्वव्यापी वित्तीय संकटभन्दा पनि ठूलो हुने चेतावनी दिएकी छन् । भर्खरै मात्र संघीय संरचनाहरु अभ्यासरत हुंदै गएको र विकासको एजेन्डालाई प्रमुख रुपमा लिन थालेको नेपाल जस्तो देश पनि विश्व अर्थतन्त्रमा देखापर्ने संकटबाट अछुतो रहन नसक्ने प्रष्ट छ ।

नेपालमा कोरोना प्रभावः
नेपालमा २०२० जनवरी २४ मा पहिलो पल्ट कोरोना भाइरसबाट संक्रमित रोगी फेला परेका हुन् । हाल यो संख्या बढेर ९ पुगिसेको छ । देश २४ मार्चबाट लकडाउनमा गइसेकेपछि यहाँको जनजीवन पनि दिनहुं झनझन कष्टकर र त्रासपूर्ण बन्दै गएको छ । उद्योग, कल कारखाना लगायत होटल व्यवसायजस्ता सेवा क्षेत्र पनि सबै बन्द छन् । यसबाट अर्थतन्त्रका विभिन्न क्षेत्रहरु जस्तै रेमिटेयान्स, राजस्व संकलन, उत्पादन, विकास निर्माण एवम् पर्यटन तथा रोजगारीमा समेत नकरात्मक प्रभाव देखा पर्दै गएको छ ।

१) रेमिट्यान्स आयमा प्रभावः
रेमिट्यान्स आप्रवाहमा पनि कोरोनाको प्रभाव देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा नेपालको रेमिट्यान्स आय रु. ८ खर्ब ७९ अर्ब २७ करोड पुगेकोमा वैदेशिक रोजगारीमा नेपालीहरु गएका प्रायः मुलुकमा कोरोना संक्रमणका कारण ठूलाठूला कम्पनीहरु नै बन्द गर्नुपर्ने अवस्था आएका कारण नेपालीहरुको रोजगारीमा असर पर्न गई आम्दानी बन्द भएपछि रेमिट्यान्स आप्रवाहमा कमी आउने देखिन्छ । नेपाली अर्थतन्त्रको मुख्य आधार बन्दै गएको रेमिट्यान्स आय घट्दै जांदा यसले सेवा क्षेत्रलाई पनि प्रत्यक्ष रुपमा घटाउने हुंदा अर्थतन्त्र शिथिल बनाउन सक्ने देखिन्छ । रेमिटेन्स ओरालो लाग्दा खराब कर्जा बढेर बैंक तथा वित्तीय क्षेत्रमा समेत जोखिम आउन सक्छ भने चालु खाता र शोधनान्तर स्थितिमा पनि चाँप पर्छ । साथै विदेशी मुद्राको सञ्चिति र आम उपभोक्ताको क्रयशक्ति पनि घट्दै जाने देखिन्छ ।

२) राजस्व संकलनमा प्रभावः
आर्थिक वर्ष २०७६/७७ को लक्षित राजस्व संकलन ११ खर्ब २२ अर्ब रहेकोमा चैत्र १७ गतेसम्म ५ खर्ब ६६ अर्ब ६९ करोड राजस्व उठेको छ । साढे आठ महिना महिनामा उठेको यो राजस्व रकम कुल राजस्व लक्ष्यको ५०.९६ प्रतिशत हो । तर, पछिल्लो समय कोरोना प्रभावले गर्दा उद्योग, कल कारखाना सबै बन्द छन् । आयात निर्यातमा पनि उस्तै प्रभाव परेको छ, जसको प्रत्यक्ष असर राजस्व संकलनमा पनि पर्ने देखिन्छ । यसबाट देशलाई चालु खर्च धान्न पनि मुस्किल परी देश वित्तीय संकटबाट गुज्रने ठुलो चुनौति देखिएको छ ।

३) आर्थिक वृद्धिमा प्रभावः
आर्थिक वर्ष २०७६/७७ को बजेटले देशको आर्थिक वृद्धिदर ८.५ प्रतिशत रहने लक्ष्य राखे पनि ७.१ प्रतिशतमा रहेने कुरा अर्थ मन्त्रालयले कार्तिकमा सार्वजनिक गरेको थियो । तर, एसियन डेभलपमेन्ट बैंक (एडिबि)का अनुसार पछिल्लो समय कोरोनाको प्रभावले गर्दा नेपालको कुल ग्राहस्थ्य उत्पादन (जिडिपि) घटेर ५.३ प्रतिशतमा खुम्चने जनाएको छ । केही अर्थविदहरुले त आर्थिक वृद्धि ४ प्रतिशतको हाराहारीमा सीमित हुने बताइरहेका छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल गार्हस्थ उत्पादनमा प्राथमिक क्षेत्रको २८ प्रतिशत, द्धितीय क्षेत्रको १४ र सेवा क्षेत्रको ५८ प्रतिशत योगदान छ । कोरोनाले कृषि क्षेत्रमा असर नपारे पनि उत्पादनमूलक क्षेत्र र सेवा क्षेत्र धेरै प्रभावित हुने भएकाले यसले जीडीपीमा पनि असर पार्ने देखिन्छ ।

४) विकास निर्माणमा प्रभावः
नेपालको अर्थतन्त्रमा क्रमशः ७.८ प्रतिशत तथा ५.६ प्रतिशत योगदान पु¥याउने निर्माण तथा औद्योगिक उत्पादन क्षेत्रमा समेत कोरोना संक्रमणले गम्भीर असर पर्ने देखिन्छ । लामो समयपछि देशमा स्थायी सरकार बनेको र लगानीको वातावरण निर्माण हुंदै गएको समयमा कोरोनाको प्रभावका कारण जलविद्युत, सडक र विमानस्थलजस्ता महत्वपूर्ण आयोजनाहरु निर्माण कार्य ठप्प भएका छन् । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, पोखराको क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना र तामाकोशी जलविद्युत् आयोजना र अरु थुप्रै आयोजना प्रभावित भएका छन् । यसरी विकास निर्माणका कार्यहरु प्रभावित हुँदा औद्योगिक उत्पादनमा करिब ३२ प्रतिशत योगदान दिने सिमेन्ट, फलाम, स्टिल रड, पाइप तथा कंक्रिट जस्ता उत्पादनहरुमा मात्रै कमी आउँदा पनि औद्योगिक उत्पादनमा धेरै खुम्चने देखिन्छ ।

५) पर्यटन र रोजगारीमा प्रभावः
नेपालले विश्व पर्यटनको ०.१ र दक्षिण एसियाको ५.७ प्रतिशत पर्यटक भित्राउने विभिन्न अन्तर्रा्ष्ट्रिय प्रतिवेदनहरुमा उल्लेख छ । आर्थिक वर्ष ०७५/७६ मा झन्डै ७३ अर्ब आम्दानी भएको थियो ,जुन नेपालको जिडिपिको ३ प्रतिशत हुन आउँछ । कोभिड १९ भाइरसका कारण संक्रमित र मृत्यु हुनेहरुको संख्या बढ्दै गएकाले अहिले नेपालसहित अधिकांश देशहरु लकडाउनको अवस्थामा छन्, जसले गर्दा अन्तराष्ट्रिय हवाइ उडानहरु बन्द प्राय छन् । यसको असर पर्यटन व्यवसायमा प्रत्यक्ष प्रभाव परिरहेको छ । यस क्षेत्रमा करिब १० लाख मानिसहरु रोजगार छन् । उनीहरुको रोजगारी पनि संकटमा पर्ने देखिन्छ ।
कोरोनाको संक्रमण विश्वभरि फैलिंदै गएकाले विश्वमा उत्पादन, राजेगारी र आम्दानीको चक्र नै खल्बलिन सक्छ जसले गर्दा बैदेशिक रोजगारीमा गएका नेपालीहरुको रोजगारी गुम्न गई उनीहरु नेपाल फर्कनुपर्ने बाध्यता सिर्जना भएमा देशमा बेरोजगारीको भयावह स्थिति उत्पन्न हुन जाने ठुलो जोखिम देखिन्छ । कोरोना संक्रमण लम्बिदै गएमा यसबाट अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरु सबैभन्दा बढी मर्कामा पर्ने देखिन्छन् । पछिल्लो श्रमशक्ति सर्वेक्षणले पनि नेपालको कुल रोजगार प्राप्त श्रमशक्तिमा ६२ प्रतिशत अनौपचारिक क्षेत्रमा कार्यरत रोजगारहरु छन् भन्ने बताउँछ, जसमध्ये मध्ये आधाभन्दा बढी गैरकृषि क्षेत्रमा काम गर्दछन् । कोारेनाका महामारीका कारण उनीहरुको रोजगारी पनि उच्च जोखिममा पर्ने देखिएको छ ।

६) वित्तीय क्षेत्रमा प्रभावः
रेमिट्यान्सको टेकोमा अडिएको नेपाली अर्थतन्त्र आयातमा आधारित छ । कोरोना भाइरसका कारण बैदेशिक रोजगारी गुमाउने नेपालीहरुको संख्यामा वृद्धि हुंदै जांदा रेमिट्यान्स आय घट्ने र त्यसैको परिणमस्वरुप आयात घट्ने देखिन्छ । यसले गर्दा बैंको एलसी, बैंक ग्यारेन्टी लगायतका गैर व्याज आम्दानी घट्ने देखिन्छ । कतिपय बैंकहरु बैदेशिक आम्दानीलाई आधार बनाएर कन्जुमर लोन प्रवाह गरेका छन् । यसले गर्दा बैंकको किस्ता रोकिने र व्यवसाय खुम्चिन गई एसएमई कर्जाको किस्ता तथा व्याजसमेत नउठ्ने भई बैंकहरुको खराब कर्जा र प्रोभिजनमा समेत बृद्धि हुने ठुलो डर देखिएको छ । खास गरी पर्यटनको क्षेत्र कोरोनाबाट बढि प्रभावित भएका कारण बैंकको यो क्षेत्रको लगानी उच्च जोखिममा रहने देखिन्छ ।
अर्कातिर ग्राहकहरुको घरदैलोमै पुगी सेवा दिने, समुह बनाई उनीहरुको नियमित मिटिङ गराउने लघुवित्त वित्तीय संस्थाहरु कोरोनाका कारण झन संकटमा पर्ने देखिन्छन् । दैनिक बचतबाट चल्ने र केही सिमित टाठाबाठाहरुको पहुंच रहेका सहकारीहरु कोरोनाको कहरबाट झन सकसमा पर्ने देखिन्छन् । एकातिर सहकारीहरु आफैमा संस्थागत सुसासनमा नरहनु र अर्काेतिर यसको नियामक निकाय बलियो नहुनुले बचत तथा ऋण सहकारीहरु कोरोनाको संक्रमणबाट झन प्रताडित हुने देखिन्छ ।

कोरोनाबाट नेपालले सिक्नुपर्ने पाठ
भर्खरै मात्र संविधान कार्यान्वयनको अवस्थामा रहेको र स्थायी सरकार प्राप्त गरी लगानीको वातावरण बन्दै गएको नेपाल जस्तो विकाशोन्मुख देशमा कोरोनको प्रभावले विपत व्यवस्थापनको तयारी तथा आत्मनिर्भर अर्थतन्त्रतर्फ प्रयासरत हुनु महत्वपुर्ण रहेछ भन्ने मुल पाठ सिकाएको छ । कोरोनाको महामारीले मानिसलाई अनुशासित र सुव्यवस्थित जीवनतर्फ झुकाव पैदा गर्ने तथा प्रकृति र सम्पूर्ण प्राणीको संरक्षणबाट नै आफ्नो अस्तित्व सम्भव हुने कुराको पनि ज्ञान दिएको छ । कोरोना महामारीको अन्त्यसँगै नेपालले निम्न कुराहरुमा ध्यान दिनु जरुरी देखिन्छः

विपत व्यवस्थापनमा देशको ध्यान उत्तिकै रुपमा जानु जरुरी छ । यसको लागि अनुसन्धान, साधन श्रोत व्यवस्थापन तथा नीतिगत व्यवस्थामा पनि ध्यान जानु जरुरी छ ।

देशमा स्वास्थ्य क्षेत्रको खास गरी सरकारी स्वास्थ्य संस्थाहरूको बिकास गर्नु महत्वपूर्ण हुन्छ । यस तर्फ देशको लगानी बढाउनुपर्ने देखिन्छ ।

बैंकहरूको मर्जर अति आवश्यक देखिन्छ । सुरूवात सरकारी बैंकहरूबाट गर्नुपर्दछ । अब देशमा थोरै तर मजबुत बैंकहरू मात्र आवश्यक छ । बैंकहरुको अनुत्पादक क्षेत्रतिर लगानी हतोत्साहित गरी उत्पादनशील लगानीमा जोड दिनुपर्छ ।

जलबिद्युत उत्पादनमा जोड दिई पेट्रोलियम पद्धार्थको आयात प्रतिस्थापनमा बल गर्नु पर्दछ ।

बिद्युतीय भुक्तानीका सधानहरूको प्रयोगलाई विशेष छुट र सुबिधा दिएर भए पनि प्रोत्साहित गर्नु जरुरी हुन्छ ।

देशको समग्र विकाशका लागि ग्रामीण क्षेत्रमा लगानी बढाउनुपर्दछ । खास गरी कृषि क्षेत्रमा लगानी प्रोत्साहित गर्नु आवश्यक छ ।

वैदेशिक रोजगारीको बिकल्प खोजी देशमै उत्पादनशील रोजगारी बढाउन सीपमुलक तालिम, पुँजी तथा श्रोत जुटाउन सरकारी भुमिका बढाउनु आवश्यक छ ।

बढ्दो चालू खर्च होइन अब न्यून चालू खर्चबाट ब्यवस्थापन गर्न सकिने राज्य ब्यवस्थातिर लाग्नु जरुरी छ ।

भ्रस्टाचारमा सून्य सहनशीलताको सिद्धान्त अबलम्बन गर्नु पर्दछ । पूर्व सरकार संचालक तथा उच्च ओहोदामा बस्ने सरकारी निजी सबैको आम्दानीको स्रोतको छानबिन गर्नु जरूरी छ ।

बर्तमान कर प्रणालीमा आमूल परिवर्तन गरी उत्पादनमुखी कर प्रणाली अबलम्बन गर्नु आवश्यक छ ।

दुर दराजका क्षेत्रमा स्वास्थ्य सम्बन्धी जानकारीको अभाव, सरसफाइ सम्बन्धी चेतनाको कमी, दुषित पानीको संसर्गका साथै सफासंग हात धुने संस्कृतीको कमी, खुला सिमाको सही ब्यवस्थापनको अभावजस्ता कुराहरुले गर्दा नेपालमा कुनै पनि समय कोरोना भाइरसले महामारीको रूप धारण गर्न सक्ने सम्भावनालाई नजरअन्दाज गर्न मिल्दैन ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई उच्च—जनघनत्वको प्रभाव, अव्यवस्थित सहरीकरण एवं वसोवासका साथै स्वास्थ्य सम्बन्धि जनचेतनाको अभावका कारण उच्च जोखिमको रुपमा राखेको हुँदा क्षणिकरूपमा हुन जाने लापरवाहीले ठूलो मानवीय एवम् आर्थिक क्षति व्यहोर्नुपर्ने कुरामा सतर्क हुनु जरुरी छ ।
कोरोना महामारी फैलंदै लकडाउन समय बढ्दै गए देशमा बेरोजगारी बढ्ने, निरपेक्ष गरिबीको प्रतिशतमा बृद्धि हुने, आर्थिक वृद्धि तल झर्ने, उत्पादन न्युन भई बजार माग बढ्नाले र कालोबजारी बढ्न गई मुद्रास्फीति बढ्न सक्ने, पर्यटन, उद्योग, व्यवसाय, विकास निर्माणजस्ता क्षेत्रहरु धरासायी हुने, राजश्व संकलन न्युन भई सरकारलाई स्रोत अभाव हुने देखिएकाले अर्थतन्त्रको बचाउ गर्न राष्ट्र बैंक, सरकार तथा सम्बन्धित निकायहरु सबै सजग र अग्रसर हुनु आवश्यक छ ।
कोरोनाका कारण बेलैमा सचेत बनी संक्रमितहरुको पहिचान, स्वस्थ्योपचार तथा सजगतामा ध्यान पु¥याउनु आवश्यक छ । सरकार तथा नेपाल राष्ट्र बैंकबाट अल्पकालीन राहतका प्याकेजहरु आउनु अति जरुरी छ भने दीर्घकालमा आर्थिक रुपमा देशलाई सबल बनाउन आर्थिक रुपले महत्वका क्षेत्रहरुको कार्यगत प्राथमिकीकरण गरी अगाडि बढ्नु अबको नेपाली अर्थतन्त्रको सही बाटो हुनेछ । यसको लागि सत्ता पक्ष र प्रतिपक्ष दुबैको भुमिका उक्तिकै सक्रिय हुनुपर्ने देखिन्छ ।
(लेखक नेपाल बैंक लिमिटेड, पाल्पा, तानसेन शाखाका शाखा प्रबन्धक हुन्)