बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि प्रशासनिक क्षेत्र, पूर्व डेपुटी गभर्नर र हालका डेपुटी गभर्नर गरी ३ जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेहरुमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पुर्व डेपुटी गभर्नर, महाप्रसाद अधिकारी र पुर्व सचिव राजन खनाल छन् । अब बस्ने मन्त्रीपरिषद्को बैठकले गभर्नर नियुक्त गर्ने बताइएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व सचिव कृष्णहरि बाँस्कोटा सम्मिलित समितिले यी नाम मन्त्रीपरिषदलाई सिफारीस गरेको हो । ३ सदस्यबाट मन्त्रीपरिषदको बैठकले एकजनालाई गभर्नर पदमा नियुक्त गर्ने छ । डा. चिरंजीवि नेपालको कार्यअवधि सकिएपछि नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त रहँदै आएको छ ।
चिन्तामणि शिवाकोटी : गभर्नरका लागि सिफारिस भएकाहरुमध्ये शिवाकोटी गत चैत ५ गतेदेखि कामु गभर्नरको जिम्मेवारीमा रहँदै आएका छन् । उनी चिरंजीवि नेपाल गभर्नर हुँदाबाटै बरिष्ठ डेपुटी गभर्नरको कार्य संहाल्नुका साथै कायम मुकायम गभर्नरको रुपमा हाल कार्यरत छन् । बैंकिङ क्षेत्रमा विज्ञका रुपमा समेत परिचित शिवाकोटि गभर्नरका लागि योग्य व्यक्ति हुन् । उनी प्रधानमन्त्री निकट मानिन्छन् ।
महाप्रसाद अधिकारी : महाप्रसाद अधिकारी पूर्व डेपुटी गभर्नर हुन् । उनलाई यसअघि पनि गभर्नरमा सिफारिस गरिएको थियो । तत्कालिन गभर्नर डा. युवराज खतिवडाको पालामा उनी खतिवडालाई सहयोग गर्ने र निकट रहेका व्यक्ति मानिन्छन् । उनी अर्थमन्त्रीका नजिक छन् । उनी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।
राजन खनाल : राजन खनाल गत फागुनमा अवकाश पाएका पूर्व सचिव हुन् । अर्थमन्त्रालयको सचिव पद संहालेका उनी प्रशाशनिक क्षेत्रमा कुशल मानिन्छन् । सचिव हुँदा उनी पदेन सदस्यका रुपमा राष्ट्र बैंकमा सञ्चालक समितिका सदस्य थिए । खनाल अर्थमन्त्री र प्रधानमन्त्री निकट मानिन्छन् ।
