यती डेभलपमेण्ट बैंकले २ बराबर १ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकको बुधवार बसेको सञ्चालक समिति बैठकले हकप्रद सेयरको अनुपात तय गरेको बैंकले जारी प्रेस विज्ञप्तिमा छ ।
बैंकले केन्द्रिय बैंकले तोकेको २ अर्ब ५० करोड रुपैयाँको चुक्ता पुँजी हकप्रदमार्फत पुर्याउन लागेको हो । हकप्रद शेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी २ अर्ब ७ करोड रुपैयाँ पुग्नेछ । अपुग रकम आगामी वर्षको बोनस सेयर वितरण गरेर पुरा गर्ने योजना बैंकको छ । बैंकले चुक्ता पुँजी वृद्धिसँगै मर्जरको विकल्प पनि खुला रहेको विज्ञप्तिमार्फत जनाएको छ ।
देशभर २५ वटा शाखाबाट कारोवार गर्ने बैंकले १० अर्ब रुपैयाँ निक्षेप परीचालन गरेको छ भने आठ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले बचतमा ६ प्रतिशत ब्याज र ९.९९ प्रतिशत सम्ममा कर्जा दिंदै आएको छ ।


