२०७६ चैत्र २३ गते

“एक बैंकर्सको दैनिकी भित्रकोे खुसी”

-सागर अर्याल
म हरेक दिन विहान ८ बजे नै अफिस पुग्छु । यो मेरो अपवाद वाहेकको दैनिकी हो । सरकारी र अन्य अधिकांश अफिसमा कामगर्ने कर्मचारी ९ बजे वा सो भन्दा पछि मात्रै कार्यालय जान्छन् तर म विहानै कार्यालय पुग्दा कहिल्यै पनि मनमा खिन्नता आएन, बरु गर्व महशुस गर्छु, जागीर त अरुले पनि खाएका छन् तर उनीहरु भन्दा मैले थप केही दिन सकेको छु, जो अरुले दिएका छैनन् । वास्तवमा विहान छिटो अफिस जानुको अर्थ म बेलुका छिटो घर आउनु मेरो दैनिकीमा पर्दैन । म भन्दा ढिलो अफिस जानेहरु भन्दा म घर ढिलो पुग्छु । मैले मेरो समयलाई कत्ति पनि बर्वाद गर्दीन । आफ्नो कर्तव्यमा अधिकतम उपयोग गर्दछु । त्यसैले होला सायद, ममा कत्तिपनि पछुतो छैन, असन्तुष्टी छैन, हरेक दिन नयाँ उर्जा मिल्छ, आज अझै केही राम्रो गर्छु, अझै कसैको सहयोगी बन्छु ।

एक दिनको कुरा हो, म आफ्नै कार्यकक्षमा थिए । एक जना करिव ३०, ३१ वर्षका युवा म कहाँ आउनु भयो । उहाँ विगत ३ वर्ष देखि खाडी मुलुकमा काम गर्दै हुनुहुँदो रहेछ, हालै ३० दिनको विदामा घरमा आउनु भएको रहेछ । उहाँले भन्नु भयो, सर, “म विदेश जाँदा व्यक्तिबाट लिएको ऋण अझै बाँकी छ, त्यो ऋण मिलाएर जान पाए हुन्थ्यो भनेर आएको” । म निशब्द भँए, विदेशिनुको पिडा, त्यहाँ भोग्नु पर्ने दुःख, आफ्ना भविष्यका सपना, अनि हात लाग्ने कमाई, र गाउँको साहुको बाँकी ऋण र व्याज । बैदेशिक रोजगारमा जानु भएका लाखौं नेपालीहरुको एक प्रतिनिधि पात्र उहाँ हुनुहुन्थ्यो । उहाँको समस्यामा म उपचार बन्न चाहेको थिए । उहाँलाई यही स्वरोजगारको संभावनाका बाटाहरु देखाउँदै थिए ।
मेरो कार्यालयको दैनिकी अलि फरक छ । कुर्सीमा बसेर लेख्ने, यताको कागजात उता गर्ने र अह्राउने भन्दा, नागरिकका दुःख र खुसीमा घुलमिल हुन, आत्म साथ गर्न, सकेको साथ दिन र उहाँहरुको स–साना प्रगति मा पनि रमाउन र थप उर्जा दिन पाउँदा आफू पनि रमाउँछु । मेरो दिन चर्यामा गाउँ, गरिव परिवार, उद्यमी, समस्यामा परेका, उद्यम गरौं भन्ने सोचका युवा, विदेशबाट फर्केका, विदेश जान खोज्दा हण्डर ठक्कर खाई निरास भएका युवाहरु, समाजले अपहेलना गरेका र पछाडि पारिएकावर्ग र समुदायहरु संगको भेट, भलाकुसारी, संभावनाहरुको खोजी र संस्थागत मध्यस्थकर्ताको भूमिकामा वित्दछ । मेरो कर्मले मलाई आत्म सन्तुष्टी दिन्छ । हाम्रो विगतको प्रयासबाट उहाँहरुले गर्नु भएको प्रगतिका कार्यहरु, उहाँहरुको बदलिएको दिनचर्या उहाँहरुमा बढेको आत्मविश्वास, सकारात्मकता र भविष्यको सुनौलो योजनाले मेरा थकानहरु सबै दुर हुन्छन् । थप उर्जा र हौसला मिल्दछ र म एक नागरिक हुनुको नाताले होस वा एक संस्थाको कर्मचारीको धर्मले “कसैको लागि केही त गर्न सक्यौं” । यो हाम्रो प्रयास, वास्तवमा हरेक व्यक्ति–व्यक्ति बाट समुदाय र समुदाय–समुदायबाट क्षेत्र र सिंगो राष्ट्रनै परिवर्तन गर्न सक्दछौं । ती सेवाग्राहीहरुको मुहारमा आएको खुशीले, उहाँहरुलाई भन्दा बढी खुसी र सन्तुष्टी हामीलाई मिल्दछ ।

वास्तवमा फिल्डमा निस्कनु भनेको सहज कार्य होईन । एक स्वउत्पे्ररित व्यक्तिवाहेक अरुले सायदै निरन्तरता दिन सक्दछन् । बैशाख, जेठ वा असारको तराईको टन्टलापुर घाममा खलखली पसिना निकाल्दै १,२ घण्टाको साईकल चलाईरहँदाको क्षण होस् वा पूर्वबाट हावा चली रहँदा पूर्वै तर्फ जान हावा संग कुस्ती खेल्दै साईकल पेल्दाको क्षण होस्, झमझम पानी परी रहेको झरीको बेला घुँडा सम्म आउने हिलोमा हातमा चप्पल, जुत्ता समातेर भासिदै हिड्दाको बेलाहोस्, वा बढ्दै गरेको बाढीमा हेलिएर निथ्रुक्क हुँदाहोस्, आँधिले रोक्न नसक्ने, बाढीले छेक्न नसक्ने, गर्मीले सेक्न नसक्ने, चिसोले कक्र्याउन नसक्ने एक वित्तीय सहजकर्ता भएर हिंड्दै गर्दा एउटा टेम्पु चालकले सर कता ? एउटा तरकारी कृषकले सर काँक्राखाएर जानुस भन्दा, एउटा ठेलाको चटपटे व्यापारीले सर चटपटे खानु हुन्छ कि भन्दा, पशुपालक कृषकले सर दुधखाएर जानुस भन्दा, मेरो उल्लेखित दुःखहरु भन्दा उहाँहरुको खुसीको मुस्कानले सबै भुलाई दिन्छ । मेरो महिना भरीको तलब खातामा आएको क्षण भन्दा बढी हर्ष ग्राहकहरुको प्रगतिको कुरा सुन्दा हुन्छ । वास्तवमा मैले मेरो लागि त गरेकै छु, साथमा अरुको लागि पनि केही खुसी दिलाउन सकेको छु ।
हिंजोको झुप्रो घर भत्काएर, अहिले यस्तो घर बनाए, पसलमा यो थप गरें, अटो रिक्साबाट बचत पनि गरी रहेको छु, अब उन्नत जातको पशुपालन गर्छु, यति वटा खोर र टनेल थपे, अब यो यो गर्ने सोचमा छु भन्ने ग्राहकहरुको वर्तमानको यथार्थ र स्वर्णिम भविष्य सुन्दा म आफूलाई भाग्यमानी ठान्दछु । हे भगवान, मलाई सही ठाउँमा ल्याएर सही कामको जिम्मा लगाए छौ । म वा म जस्तै हामीहरुले हजारौंको ओठमा मुस्कान ल्याउन सहयोगी बनेका छौं । उहाँहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सफल भएका छौं । सायद, हाम्रो मृत्यू पश्चात भगवानले स्वर्गमै हाम्रो स्थान पहिले नै सुरक्षित राखी दिनु भएको छ । पृथ्वीका हरेक प्राणी वा जीव बाँँच्नको लागि त जसरी पनि बाँचेकै हुन्छन् तर अरुको लागि सहयोगी बन्न सक्नु, निस्वार्थ सेवा गर्नु र अरुको खुसीमा रमाउन सक्नु नै वास्तवमा जीवन हो । यो जीवन पश्चाताप र पछुतोको जीवन हुदैन, अत्यन्तै सन्तुष्टी र आत्म सम्मानको जीवन हुन्छ । त्यसैले म भन्छु  “God as truth, has been for me a treasure beyond price. May he be so to every one of us.” सबैलाई यसरी नै सहयोगी बन्न सकौं, सबैलाई सद्भाव दिउँ । स्वर्ग जानको लागी मर्नै पर्छ भन्ने छैन, त्यो स्वर्गीय आनन्द अहिलेबाट नै लिन सकिन्छ । सोच र ईच्छा तपाईको… ।

लेखक मुक्तिनाथ बिकास बैंकमा कार्यरत छन् ।