April 3rd, 2020

लकडाउन खुकुलो बनाइँदै : शर्त पुरा गरे उद्योग खोल्न पाइने, विकास आयोजना पनि नरोकिने

बैंकिङ खबर । सरकारले लकडाउनलाई केही खुकुलो गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाखरेल नेतृत्वमा गठित कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले स्वास्थ्य मापदण्ड पुरा गरेमा उद्योगहरु चलाउन दिने निर्णय गरेको छ ।

मुलुकभित्र खाद्य र अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगलाई स्वास्थ्यका मापदण्ड पूरा गरेर सञ्चालन गर्न दिने निर्णय भएको अर्थमन्त्री एवम् सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । आफ्नै आवासीय मजदूर परिचालन गरेर सञ्चालन गर्न सक्ने अन्य उद्योगलाई पनि सञ्चालन गर्न दिइने भएको छ ।

सुरक्षाको मापदण्ड अपनाएर विकास निर्माणका आयोजनालाई समेत चल्न दिने निर्णय भएको छ । तामाकोशी जलविद्युत् आयोजना, मेलम्ची खानेपानीलगायत आयोजनामा भित्रकै कामदारलाई परिचालन गरी सञ्चालन गर्न दिने सरकारको निर्णय छ । त्यस्तै, स्थानीय प्रशासनले सहजीकरण गर्ने गरी अन्य आयोजनालाई पनि आफ्नै क्षेत्रभित्रका मजदूर परिचालन गरेर सञ्चालन गर्न अनुमति दिइने भएको छ ।

कृषिको काममा समेत रोकावट नहुँने समितिले जनाएको छ । जसअनुसार, बाहिरी श्रमिक नल्याइ स्थानीय र पारिवारिकरुपमा बाली लगाउन र उठाउनका लागि अवरोध हुने छैन । आवश्यक वस्तु औषधि, खाद्य सामग्री र इन्धनको आपूर्ति सहज बनाउनका लागि ढुवानीका साधनलाई अझै सहज गर्ने निर्णय बैठकले गरेको छ । साथमा नियमितरुपमा आयात भएका दैनिक आवश्यकीय वस्तु र मुलुकभित्र उत्पादन भएका वस्तुको लेखाजोखा पनि राखिने भएको छ ।

समितिले नेपालमा भएका विदेशी श्रमिकलाई सरकारले आवश्यक सुरक्षा दिने निर्णय गरेको छ भने विदेशमा भएका नेपालीलाई पनि सुरक्षितरुपमा राखेकामा ती मुलुकलाई धन्यवाद दिने निर्णय गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]