April 2nd, 2020

कोरोना संक्रमणपछि धमाधम व्याजदर घटाउँदै बैंकहरु : कुन देशमा कति ?

बैंकिङ खबर । कोरोना संक्रमणका कारण आर्थिक गतिविधिहरु बन्द भएपछि विश्वभर बैंकको व्याजदर घटाउने क्रम चलिरहेको छ । संकटको समयमा पनि अर्थतन्त्र एवम् बैंकिङ प्रणाली चलायमान बनाइराख्न सम्बन्धित देशका केन्द्रीय बैंकहरुले नै व्याजदर घटाउने घोषणा गरेका छन् ।

कोरोना महामारीको अवस्थाबाट सिर्जित समस्याबाट अर्थतन्त्रलाई पुनर्जिवीत गर्र्न छिमेकी मुलुक चिनले बैंक व्याजदरमा पाँच वर्षयताकै ठूलो कटौती गरेको छ । पीपुल्स बैंक अफ चाइना (पीबीओसी) ले ५० अर्ब युआन बराबरको रिभर्स रिपो जारी गर्न लागेको छ । सात दिने अवधिको यस रिपोको रेट २.४० प्रतिशतबाट २.२० प्रतिशतमा झारिएको छ । कम दरमा बैंकहरुलाई रकम प्रदान गरि वित्तीय प्रणाली सुचारु राख्न र बजारमा नगद प्रवाहको कमी हुन नदिन यस्तो उपाय अपनाइएको हो ।

अर्को छिमेकी भारतले पनि व्याजदर घटाउने योजना अघि सारेको छ । बैंकहरुलाई तरलता प्रदान गरी बजारमा नगदको प्रवाह कम हुन नदिन रिजर्भ बैंक अफ इण्डियाले रिपो रेट ५.१५ प्रतिशतबाट ४.४ प्रतिशतमा झारेको छ । त्यस्तै, साना व्यवसायीहरुलाई राहत होस भनेर आरबीआईले सबै बैंकहरुलाई तीन महिनाको किस्ताबन्दी नलिन पनि निर्देशन दिएको छ । यसले साना तथा मझौला व्यवसायी निरुत्साहित नहुने र अर्थतन्त्र चलायमान बनाइराख्ने अपेक्षा गरिएको छ ।

कोरोनाको प्रभावबाट अर्थतन्त्रलाई बचाउन अमेरिकाले बैंक दर झन्डै शून्यमा झारेको छ । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ७०० विलियन डलरको बिड प्रोग्राम घोषणा गरेको छ, जसमा व्याजदर ० देखि ०.२५ प्रतिशत कायम गरिएको छ । यसबाट अर्थतन्त्रमा नगद प्रवाह भइरहने र अर्थतन्ध चलायमान भइरहने अपेक्षा गरिएको छ ।

युरोपको सेन्ट्रल बैंकले भने व्याजदर रेट घटाउनुको सट्टा साना र मझौला व्यवसायमा लगानी गर्न बैंकहरुलाई प्रोत्साहन गर्ने नीति लिएको छ । ट्राभलमा लगाईको रोक र क्षेत्रीय लकडाउनका कारण साना व्यवसायहरु मर्कामा परेको भन्दै बैंकले कमर्सियल बैंकहरुलाई त्यस्ता व्यवसायमा लगानी वृद्धि गर्न प्रोत्साहन गर्ने जनाएको छ । बजारको व्याजदर घटाउनका लागि बण्ड खरिद कार्यक्रम बढाउने युरोपियन सेन्ट्रल बैंकको योजना रहेको छ ।

हालै युरोपेली संघबाट औपचारिक रुपमा बाहिरिएको बेलायतले पनि व्याजदर कटौती गरी हालसम्मकै न्यून कायम गरेको छ । बैंक अफ इङ्गल्याण्डले बैंक दर ०.२५ बाट ०.१ प्रतिशतमा झारेको छ, जुन बैंकको ३२५ वर्षको इतिहासमा सबैभन्दा न्यून हो । त्यस्तै, बैंक्ले सरकार एवम् कर्पोरेट क्षेत्रमा रहेको आफ्नो स्वामित्व २०० विलियन बढाई कस्ट अफ बरोईङ घटाउने घोषणा पनि गरेको छ ।

नेपालले भने तीन महिनाको लागि विभिन्न सहुलियत घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकले बैंकदर पाँच प्रतिशत कायम गरेको छ भने बैंक्हरुमा तीन प्रतिशत नगद मौज्दात राख्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, व्याजदर करिडोर, पुनर्कर्जा कोषको सीमा लगायत अन्य कर्जाको व्याजदरमा पनि सहुलियतको नीति अपनाइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]