March 24th, 2020

बैंकिङ सेवा कुन कुन शाखाबाट संचालन हुन्छ ? फोनबाटै सहयोग लिन सकिन्छ

बैंकिङ खबर । लकडाउनको अबस्थामा पनि बैंकहरुले विभिन्न तरीकाले सेवा सुचारु गरेका छन् । यसमध्ये लकडाउनको समयमा डिजिटल सेवा सहज हुन सक्छ । बैंकहरुले एटीएम कार्डमा समस्या आए वा कुनै जानकारी आबश्यक परे टेलिफोनबाटै सहजीकरण गर्ने भएका छन् । त्यसका लागि तपाईले आफ्नो खाता भएको बैंकलाई टेलिफोन गरेर समस्या राख्न र समाधान खोज्न सक्नुहुन्छ ।

डिजिटल कारोबारमा फोकस

नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीबाट काम गर्न अनुरोध गरेको छ । त्यसका लागि राष्ट्र बैंकले कोरोना संक्रमणबाट जोजिनका लागि डिजिटल भुक्तानीलाई सहज गराएको छ । राष्ट्र बैंकले डिजिटल भुक्तानीको सीमा बढाउनुका साथै परिपत्र मार्फत मोबाइल वालेटको माध्यमबाट गरिने बैंकिङ कारोबारको सीमा बढाएको छ । जसअनुसार मोवाइल बैंकिङबाट दैनिक १ लाख र प्रतिमहिना १० लाख रुपैयाँ कारोबार गर्न मिल्ने बनाइएको छ । यसअघि दैनिक २५ हजार र प्रतिमहिना २ लाखको सिमा तोकिएको थियो । राष्ट्र बैंकले मोवाइल वालेट अन्तरगत एक वालेटबाट अर्को वालेटमा रकम ट्रान्सफरको सीमा पनि बढाएको छ । यसअघिको प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजारको सिमा बढाएर प्रतिदिन ५० हजार र प्रतिमहिना ५ लाख सम्म कारोबार गर्न सकिने बनाइएको छ ।

डिजिटल बैंकिङ सिक्ने अबसर

अहिले डिजिटल बैंकिङको प्रयोग बढाउनुपर्ने र सिक्ने बेला पनि हो । जसका लागि एटीएम कार्ड, मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ र मोवाइल वालेट प्रभावकारी हुन सक्छन् । बैंकले सिमित शाखा मात्रै संचालन गर्दछन् । त्यसमाथि लकडाउनका बेला बैंकको खुलेको शाखासम्म जान कम्ति दुख छैन । बैंकले अति सिमित शाखा खोल्नेछन् । केही शाखा खुल्ला गरेपनि फिजिकल खोर्कआउट सहज हुने छैन । यस कारण पनि डिजिटल बैंकिङको प्रयोग अहिले अति उत्तम देखिएको छ । लकडाउनको समस्यासँगै कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिम बढेपछि बैंक तथा वित्तीय संस्थाहरुले पहिले नै ग्राहकलाई विद्युतीय कारोबार गर्न प्रोत्साहन गरेका छन् । इन्टरनेट तथा मोबाइल लगायत विभिन्न विद्युतीय माध्यमवाट गरिने कारोबार निशुल्क उपलब्ध छन् । यसैगरी कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपालभित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाकोे एटिएममा प्रयोग गर्दा कुनै शुल्क नलाग्ने ब्यबस्था गरिएको छ । साथै नेपाल क्लियरिङ्ग हाउसले प्रदान गर्ने कनेक्ट आईपीएस सेवा निशुल्क भएको छ ।

डिजिटल बैंकिङका फाइदैफाइदा

बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार ग्रामीण तहसम्म विस्तार गर्नका लागि मोबाइल अर्थात ट्याबलेट बाट नै बैँकिङ कारोबार गर्न सकिने गरि विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउने गरेका छन्, जसलाई मोबाइल बैँकिङ भनिन्छ । आजको युगमा मोबाइल फोन नबोक्ने व्यक्तिहरु कमै भेटिन्छन् । त्यसैले, मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैँकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरु समेत बैँकिङ सेवाबाट वञ्चित हुनु नपर्ने वातावरण मोबाइल बैँकिङले निर्माण गरेको पाइन्छ । मोबाइल बैँकिङ चौबिसै घण्टा उपलब्ध हुने हुँदा सर्वसाधारणहरुलाई बैँकिङ सेवा प्राप्त गर्न सहज हुने गर्दछ । समयको बचत समेत हुने हुँदा आजको व्यस्त समाजमा मोबाइल बैँकिङ निकै नै फाइदाजनक रहेको सरोकारवालाहरु बताउँछन् । यद्यपि, कतिपय बैँकहरुले मोबाइलबाट गर्ने वित्तिय कारोबारमा निश्चित दायरा बनाएका हुन्छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]