March 24th, 2020

संकटमा अमेरिकी अर्थतन्त्र, लाखौंको रोजगारी गुम्ने अबस्था !

बैंकिङ खबर । विगत पाँच दशकमा विश्व अर्थतन्त्रले थुप्रै जोखिमपूर्ण अवस्थाको सामना गरेको छ । अहिले कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र प्रभावित बनेको छ । विश्वका १९५ वटा देशमा यो रोग फैलिएको छ । विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको यस भाइरसका कारण ससाना अर्थतन्त्र भएका मुलुकहरु त प्रभावित भएका छन् नै, साथमा विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकाको अर्थतन्त्र पनि खस्किँदो अवस्थामा पुगेको छ ।

कोरोनालाई महामारी घोषणा गरिएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकट घोषणा गरेका थिए । जसपश्चात्, अमेरिकामा आर्थिक क्रियाकलाप ठप्प जस्तै छ । उद्योगहरु बन्द छन्, व्यापार व्यवसाय पनि बन्द छन् । लगानीकर्ताहरु त्रासको अवस्थामा छन् । हालसम्म अमेरिकामा करिव ५० हजारलाई कोरोनाको संक्रमण देखिएको छ । संक्रमण फैलने त्रासका कारण आर्थिक गतिवधि नै बन्द गर्नुपरेका कारण अमेरिकाको अर्थतन्त्र प्रभावित बन्न पुगेको छ ।

अहिले कोरोना संक्रमण बढ्न नदिने र संक्रमण भइसकेकाहरुको उपचार गरि महामारी रोक्नेतर्फ संसारको ध्यान केन्द्रित छ । महामारीको अन्त्य नभएसम्म आर्थिक गतिवधिले सामान्य अवस्था लिन सक्दैन । महामारी अन्त्य भएपछिपनि अमेरिकाको अर्थतन्त्र सामान्य हुन छ महिनासम्म लाग्ने विश्लेषकहरु बताउँछन् । कोरोनाका कारण आर्थिक वृद्धिदर रोकिएको र सेप्टेम्बरको अन्त्यसम्ममा आर्थिक मन्दीकोे अवस्थाआइपर्ने सम्भावना रहेको बताइएको छ ।

युसीएलएएन्डर्सन स्कुल अफ मेनेजमेन्टका अर्थशास्त्रीहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अमेरिकाको आर्थिक वृद्धिदर ०.४ प्रतिशतमा झर्ने प्रक्षेपण गरेका छन् । त्यस्तै, दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर ६.५ प्रतिशत पुग्ने र तेस्रो त्रैमासमा १.९ प्रतिशतमा झर्ने उनीहरुको अनुमान छ । आउँदो ग्रीष्ममा यस महामारीको अन्त्य हुने र त्यसपछि विस्तारै आर्थिक गतिविधि सुचारु हुने अर्थशास्त्रीहरुको अनुमान छ । जसकारण चौथो त्रैमासमा आर्थिक वृद्धिदर ४ प्रतिशत कायम हुने उनीहरुको प्रक्षेपण छ ।

अमेरिकाको क्यालिफोर्निया सहर कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित भएको छ । पर्यटन र यातायात सम्बन्धित व्यवसाय धेरै भएका कारण क्यालिफोर्नियाको अर्थतन्त्रमा सबैभन्दा धेरै प्रभाव देखिने बताइएको छ । यस सहरमा पर्यटन, यातायातलगायतका क्षेत्रसँग सम्बन्धित दुई लाख ८० हजारको जागिर गुम्ने सम्भावना छ, जसअनुसा यस क्षेत्रको कुल रोजगारीको एक तिहाई हुन आउँछ । यसले देशको वेरोजगारी दर ६.३ प्रतिशत पुर्याउने अनुमान गरिएको छ । यस वर्ष मात्रै नभएर यसको असर अरु केहीवर्ष समेत देखिने अनुमान गरिएको छ ।

हवाई, जल र स्थलयातायात, होटलल गायतका क्षेत्रको व्यवसायमा कोरोनाको असर फैलिसकेको छ । मानिसहरुले स्यानिटाइजर, ट्वाइलेट पेपर लगायतका सरसफाईका सामानमा खर्च गरिरहेका छन् । केही सहरहरुमा पेय पद्धार्थको विक्रीबढेको पाइएको छ । यसबाहेकका उत्पादनहरुको विक्रीमा ठूलो असर देखिएको छ । देशको अर्थतन्त्रको मूख्यपाटो नै उपभोक्ताको खर्च हो । संकटको अवस्थामा मानिसहरुले सामान खरिद गर्न छोड्नु नै सबैभन्दा ठूलो असर रहेको छ ।

त्यस्तै, पछिल्लो महिनामा पुँजीबजारले पनि ठूलो घाटा व्यहोरेको छ । विहीबार बजारमा ३० वर्षयताकै खराब समय देखियो । तर, फेरि शेयर बजारमा सुधारिँदै गएको देखिएको छ । सरकारले महामारी रोक्न चालेका कदमहरुका कारण शेयर लगानीकर्ताहरु प्रोत्साहित हुन थालेको देखिएको छ । यद्यपि, व्यापार व्यवसायमै मन्दी देखिएका कारण शेयर बजार यसबाट प्रभावित नरहने अवस्था देखिँदैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]