बैंकिङ खबर । शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लक डाउनको घोषणा गरे । जसअनुसार १० गतेदेखि २१ गतेसम्म अत्यावश्यकबाहेक सबै सेवाहरु बन्द गरिएका छन् । केही अन्तर्राष्ट्रिय सीमानाहरु पनि बन्द गरिएका छन् । यसरी सीमानाहरु बन्द गर्ने नेपाल मात्रै हैन, विश्वभरका प्रायः देशहरुले लक डाउन घोषणा गरिसकेका छन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन अगाडी ट्विटरमार्फत क्यानडासँगको सीमाना बन्द गरेको घोषणा गरेका थिए । त्यस्तै, शनिबारदेखि क्यानडा र मेक्सिकोबीचको सीमाना पनि बन्द गरिएको छ । यसै साता युरोपियन युनियनले पनि आफ्ना २६ सदस्य राष्ट्रहरुबीच ३० दिनका लागि ओहोरदोहोरमा रोक लगाएको छ ।
घानाले मार्च १७ देखि, मोरक्को र केन्याले मार्च १५ देखि लागू हुने गरी आवातजावतमा रोक लगाएको छ । देशभित्रै रहेका मानिसहरुका लागि पनि सुरक्षाको उपाय अपानाइएको छ । नामिबियाले मार्च १४ देखि कतार, इथियोपिया र जर्मनीसँगका हवाई उडानहरु ३० दिनका लागि बन्द गरेको छ । साउथ अफ्रिकाका राष्ट्रपतिले मार्च १५ देखि मध्य फेब्रुअरीदेखि जोखिमपूर्ण देशबाट भित्रिएका सबैलाई परीक्षण गराउन भनेका छन् भने मार्च १६ देखि ५३ मध्ये ३५ देशहरुसँगको स्थल सीमाना र आठमध्ये २ देशहरुसँगको सामुन्द्रिक सीमना बन्द गरिएको छ ।
त्यस्तै, अर्जेन्टिनाले मार्च १५, बोलिभियाले मार्च १२, ब्राजीलले मार्च १४, क्यानडाले मार्च १८, चिलिीले मार्च १८, कोलम्बियाले मार्च १६, कोस्टारिकाले मार्च १८, इक्वेडरले मार्च १६, एलसाल्भाडोरले मार्च ११, क्वाटेमालाले मार्च १६, मेक्सिकोले मार्च २० र पेरुले मार्च १५ देखि अन्तर्राष्ट्रिय सीमानाहरु बन्द गरेका छन् । डोमिनिकन रिपब्लिकले पनि हवाई उडानहरु स्थगित गर्दै बाहिरबाट भित्रिइसकेकाहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय सीमानाहरु र हवाई उडानहरु बन्द भएका कारण विश्व अर्थतन्त्र प्रभावित बनेको छ । विश्वव्यापी रुपमै विशेष गरी वैदेशिक व्यापार, पर्यटन, रेमिट्यान्स लगायतका क्षेत्रमा असर पुगेको छ । व्यापार व्यवसायहरु ठप्प भएका छन् । सरकारी कामकाज ‘समेत बन्द गर्नुपर्ने अवस्था आएको छ ।



