२०७६ चैत्र ८ गते

डिजिटल बैंकिङ सेवा निशुल्क छ : ( यो डिजिटल कारोबारको बानी बसाल्ने अबसर हो )

बैंकिङ खबर । अहिले डिजिटल बैंकिङको प्रयोग बढाउनुपर्ने बेला हो । जसका लागि एटीएम कार्ड, मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ र मोवाइल वालेट प्रभावकारी हुन सक्छन् । पहिलो कुरा त सिक्ने अबसर पनि हुने छ । दोस्रो कुरा कोरोनाबाट बच्ने उपायका रुपमा पनि लिन सकिन्छ । र तेस्रो कुरा अहिले हरेक डिजिटल सेवामा शुलक लाग्दैन । यस कारण पनि डिजिटल बैंकिङको प्रयोग अहिले अति उत्तम देखिएको छ । कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिम बढेपछि बैंक तथा वित्तीय संस्थाहरुले पनि ग्राहकलाई विद्युतीय कारोबार गर्न प्रोत्साहन गरेका छन् । भिडभाडमा कोरोनाको जोखिम हुने भएपछि बैंक तथा वित्तीय संस्थाहरुले बैंकमा भिडभाड नगरी अनलाइन मार्फत कारोबार गर्न आग्रह गरेका हुन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्तीय संस्था संघले बैंकका शाखाहरुमा भिडभाड कम गर्न र विद्युतीय कारोबार गर्न भन्दै संयुक्त आवहान गरेका छन् । उनीहरुले इन्टरनेट तथा मोबाइल लगायत विभिन्न विद्युतीय माध्यमवाट गरिने कारोबार निशुल्क उपलब्ध गराउने उल्लेख गरेअनुसार शुल्क नलाग्ने भएको छ । यसैगरी कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपालभित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाकोे एटिएममा प्रयोग गर्दा कुनै शुल्क नलाग्ने ब्यबस्था गरिएको छ । साथै नेपाल क्लियरिङ्ग हाउसले प्रदान गर्ने कनेक्ट आईपीएस सेवा निशुल्क भएको छ । कोरोनाको जोखिम बढेको र कोरोना सङ्क्रमण बढ्न सक्ने एक माध्यम बैंक नोटहरु पनि हुन सक्ने देखिएकोले सम्भब भएसम्म नोटको कारोबार नगर्न बैंकहरुले आग्रह गरेका छन् । यसले सबैभन्दा ठुलो कुरा त डिजिटल बैंकिङको प्रयोग सिक्ने र जान्ने अबसर पनि दिएको छ ।

डिजिटल बैंकिङका फाइदैफाइदा

बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार ग्रामीण तहसम्म विस्तार गर्नका लागि मोबाइल अर्थात ट्याबलेट बाट नै बैँकिङ कारोबार गर्न सकिने गरि विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउने गरेका छन्, जसलाई मोबाइल बैँकिङ भनिन्छ । आजको युगमा मोबाइल फोन नबोक्ने व्यक्तिहरु कमै भेटिन्छन् । त्यसैले, मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैँकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरु समेत बैँकिङ सेवाबाट वञ्चित हुनु नपर्ने वातावरण मोबाइल बैँकिङले निर्माण गरेको पाइन्छ । मोबाइल बैँकिङ चौबिसै घण्टा उपलब्ध हुने हुँदा सर्वसाधारणहरुलाई बैँकिङ सेवा प्राप्त गर्न सहज हुने गर्दछ । समयको बचत समेत हुने हुँदा आजको व्यस्त समाजमा मोबाइल बैँकिङ निकै नै फाइदाजनक रहेको सरोकारवालाहरु बताउँछन् । यद्यपि, कतिपय बैँकहरुले मोबाइलबाट गर्ने वित्तिय कारोबारमा निश्चित दायरा बनाएका हुन्छन् । 

मोबाइल बैँकिङले प्रदान गर्ने सेवा तथा सुविधाहरु

  • एकाउन्ट र कारोबारका बारेमा जानकारी
  • आफ्नो एकाउन्टबाट जुनसुकै अरु एकाउन्टमा तुरुन्तै पैसा ट्रान्सफर गर्न सक्ने सुविधा
  • रजिस्टर भएका जुनसुकै कम्पनिको विल तिर्नुका साथै मोबाइल रिचार्ज समेत गर्न सकिने
  • आफ्नो बैँकिङ कारोबारबारे एसएमएसमार्फत जानकारी प्राप्त गर्न सकिने
  • विनिमय दर, ब्यालेन्स लगायतका कुराहरुका बारेमा सोधपुछ गर्न सकिने

नलेज कम हुनु नै प्रयोगकर्ताका समस्या

डिजिटल पेमेन्ट सेवा दिने कम्पनीको संख्या बढेपनि प्रयोगकर्ता बढ्न सकेका छैनन् । बैंकमा खाता खोल्नकै लागि पनि सरकारले अभियान नै चलाउनुपरेको अवस्थामा डिजिटल सिस्टमको प्रयोगकर्ता बढाउनु चुनौतिपुर्ण रहेको छ । निकै कम संख्यामा मानिसहरुले मोबाइल वालेट चलाउँछन् । चलाएपनि रिचार्ज गर्ने जस्ता सीमित कारोबारका लागि चलाउँछन् । पढेलेखेकै मानिसहरु पनि प्रविधिको प्रयोगमा झन्झट मान्छन् । डिजिटल माध्यमबाट रिचार्ज गराउनुको सट्टा पसलमा गएर कार्ड किन्न रुचाउँछन् । घरमै बसेर विजुलीको बिल तिर्नुको सट्टा प्राधिकरणमा गएर लाइन बस्न रुचाउँछन् । बैंकहरुले प्रदान गरिरहेको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायतका सेवा प्रयोगमा समेत दयनीय अवस्था रहेको छ । मोबाइल बैंकिङ प्रयोगकर्ता ७० लाखमाथि र इन्टरनेट बैंकिङ प्रयोगकर्ता संख्या झन्डै नौ लाख रहेको राष्ट्र बैंकको तथ्यांक छ । 

वित्तीय चेतनाको अभाव
नेपालमा वित्तीय चेतना भएका मानिसहरु कम छन् । बैंकमा खाता खोलेर बचत गर्ने, कर्जा लिएर उद्यम गर्ने, लगानी गर्ने लगायतका विषयमा जानकारी नभएका मानिस थुप्रै छन् । यस्ता मानिसहरुलाई डिजिटल पेमेन्ट सिस्टमको बारेमा बुझाउनु सजिलो छैन । वित्तीय साक्षरताको विस्तारसँगै यससम्बन्धी जानकारी पनि बढ्दै जाने अपेक्षा गर्न सकिन्छ ।